दलितलाई खै ?
माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको, दारी पालेको यामानको भीमकाय शरीर भएको एउटा मान्छे संन्यासी जस्तो पनि देखिन्छ। उसले जिउभरी फलामे सिक्रीले हातखुट्टा र शरीर बाँधेर प्रदर्शन गरिरहेको छ। एउटा ब्यानरमा लेखिएको हुन्छ, ‘दलितलाई खै ?’
कहिलेकाहीँ ऊ भिडले घेरिन्छ। कहिले एक्लै पनि उभिइ रहेको हुन्छ एउटा प्रश्न बोकेर दलितलाई खै ? ऊ धेरै आक्रोशित पनि बन्दैन जति बन्नुपर्ने हो ? उसले कहिल्यै संविधानभन्दा बाहिरको कुरा गरेको छैन। संविधान मान्दिन र च्यात्छु भनेको पनि छैन। कसैलाई अपशब्द बोलेर ललकारेको पनि छैन तर ऊ निरन्तर बोलिरहेछ दलितलाई खै ? प्रश्नको झटारो हानिरहेको छ। दलितलाई खै ?
प्रायः विद्रोहहरू र विद्रोहीहरूको भाषा अलि खरो र रूखो हुन्छ। दलितको भाषालाई पनि आममान्छेले आवेग र विद्रोहको भाषाको रूपमा विश्लेषण र मूल्यांकन गर्ने गर्छन्। दलित चेतना विश्लेषणको मापदण्डको रूपमा दलितले प्रयोग गर्ने भाषालाई तीतो तीखो, सोझो झर्रा हुन्छ भनेर कलेज र विश्वविद्यालयतिर पढाइन्छ। यसको कारण हो दलित जे बोल्छ जे भन्छ जे लेख्छ त्यो उसको अनुभूतिले गर्छ। निषेध, बञ्चितीकरण पीडा अपमान, अवरोधका बीच बाँच्न अभ्यस्त मान्छेहरूको सामूहिक र सामुदयिक विशेषता हो ठेट भाषामा ठेट प्रस्तुति। तर, खगेन्द्र सुनार त्यस्तो विद्रोही हो जसको भाषामा खरोपनभन्दा भद्रपन बढी छ, आवेगभन्दा विवेकको कुरा ज्यादा छ, निराशाभन्दा आशाका कुरा धेरै छ। खगेन्द्र आजसम्म आँधीको रूपमा देखिएको छैन तर उस भित्रको चेतनाले कतै यो आँधी अगाडिको सन्नाटा हो कि भन्ने भान पनि दिन थालेको छ।
खगेन्द्र दलितको एउटा बिम्ब बनेर उभिएको कुरालाई आम मान्छेले विशेषगरी दलितले र मानवता पक्षधरले चासोपूर्वक देशविदेशबाट हेरिरहेका छन्, जसको पुष्टि पर्खन आजको डिजिटल दुनियाँमा हप्तौं, महिनौं र वर्षौं पर्खिनु पर्दैन। खगेन्द्रको साङ्लो बेरिएको तस्बिरमा देखिने। लाइक, क्रियाप्रतिक्रियाको बाढीले पलभरमा नै प्रतिबिम्बित गरिरहेको छ।
आजको दुनियाँ डाइरेक्ट डेमोक्रेसीमा विश्वास गर्छ त्यो भनेको सामाजिक सञ्जाल र मिडियाहरू हुन्।
सामाजिक सञ्जाल कसैको मुठी र पञ्जाभित्र नभएको कारण त्यहाँ अभिव्यन्जित यथार्थले समाजको ऐना प्रस्तुत गर्दछ। सो ऐनाबाट हेर्दा खगेन्द्रको प्रश्न ‘दलितलाई खै ? ले सामाजिक वैद्यता क्रमशः फराकिलो बनाउँदै गैरहेको छ। गैरदलितहरू पनि दलितमाथिको विगतदेखिको लामो अत्याचार, अन्याय, निषेध र प्रतिशोध अब गर्न नहुने पक्षमा छन्। विगतका भूल र त्रुटि सच्याएर मानवताको प्रबद्र्धनको पक्षमा देखिएका छन्। जसको उदाहरण साउन २५ मा पशुपति परिसरमा भएको कोटीहोममा धार्मिक सत्ताले कृष्ण दमाईको व्यासान र डा. मित्र परियारको २८ गतेको कोटीहोम याग्यशालामा वैचारिक प्रत्याक्रमणलाई सहजै पचाएको दृष्टान्तबाट बुझ्न सकिन्छ।
खगेन्द्र सुनारले लगाएको चार पाँच केजी फलामको साङ्लोको बोझभन्दा धेरै बोझ सरकार र दलित मैत्री नबन्ने पार्टी संस्था र व्यक्तिहरूलाई भएको छ। तथापि आजसम्म सरकार उनको माग र मुद्दाबारे मुखर भएर बोलेको सुनिएको छैन। उनको आन्दोलनलाई लिएर व्यक्ति केन्द्रित र एउटा व्यक्तिको हिरोइज्म भनेर पनि सुनिन आएको छ। खगेन्द्रले बोकेको मुद्दा मानवताको मुद्दा हो कि होइन ? खगेन्द्रले बोकेको मुद्दामा ६० लाख दलितको आत्मसम्मान, पहुँच, प्रतिनिधित्व र राज्यमा सबैको हिस्सेदारीको माग छ कि छैन ? खगेन्द्रले बोकेको मुद्दामा अन्तर्राष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणा पत्र सन् १९४८ आकर्षित हुन्छ कि हुँदैन ? आमदलितको उत्पीडन मुक्ति रक्षा र संरक्षणको भाव छ कि छैन ? यदि छ भने को व्यक्ति र कसको अगुवाइभन्दा पनि विषय, मुद्दा र सरोकार विशेष पक्ष हुन्। खगेन्द्रले चलाएको शान्तिपूर्ण र भद्र आन्दोलन आम न्यायप्रेमी सामाजिक र नैतिक समतामूलक न्यायका हितैषी सबैको सरोकारको मुद्दा हो। सबैभन्दा ठूलो कुरा मानवताको मुद्दा हो। मानवताको मुद्दामा पक्षधरता मात्रै हुन्छ। सानो स्वार्थ नीहित उद्देश्य छुद्र तरिका र विषय मात्र त्याज्य हुन्छन्। अन्य विषयमा आन्दोलनका लागि निमन्त्रणा र विशेष आग्रह आवश्यक हुन्न सार्वजनिक अपिल र जानकारी काफी हुन्छ। उनी आफ्ना लागि होइन, मानव मर्यादाको माग लिएर उभिएका हुन्।
मानव मर्यादा आम मान्छेको विषय हो। दलितको विषय, दलितमा पनि खगेन्द्रको विषय, कुनै एक अमुक समूहको भनेर यसलाई अन्डरस्टिमेट गर्नु कदाचित राम्रो होइन। गैरदलित समुदायका लागि आफ्ना पूर्वजले जानअन्जानमा गरेका अपराध र पापको प्रायश्चित गरेर सच्चिने र गलत प्रथा, संस्कार र परम्परा इरेज गरेर मानवीय मर्यादा र मानवाधिकारको पक्षमा उभिएर उत्पीडक वर्ग हुनुको कलंक पुछ्ने अवसर हो। यसर्थ यो आन्दोलन गैरदलितको झन् धेरै हो।
दलित गैरदलित सबै मिलेर खगेन्द्रले माग गरेको संविधान प्रद्धत अधिकार प्राप्तिको लडाइँलाई साथ दिन कन्जुस्याइँ गरेर षड्यन्त्र गरेर बस्ने छैनन्। मुद्दा व्यक्तिको पार्टीको र प्रायोजित होइन समुदायको हो। दलित समुदायको सम्मान पहुँच, मर्यादा, समता स्वतन्त्रता र अधिकारको पक्षकै माग छन्। राम्रो काम जसले गरे नि हुन्छ। असल कामको अनुशरण जसको गरे पनि हुन्छ। राम्रो वृक्ष जसले रोपे पनि त्यसको फल सबैको लागि हो।
आरनबाट फर्केपछि गाईको गहुँत र सुनपानीले छर्केर चोख्खिने चेतनाले कसरी लेख्छ : आरनको इतिहास, मान्छेको मर्यादा ? कसरी बुझ्छ ः सीपको अर्थ र सामथ्र्यको सीमा ? तपाईको दृष्टिकोणमै खोट छ, महोदय ! कतिपल्ट उधार्नुहुन्छ यो छाती र कति चलाउनुहुन्छ छुरा हाम्रो मुटुमा, हाम्रो संवेदनामा ! डा. नवराज लम्सालका यी हरफमा प्रतिबिम्बित भए जस्तै दलितको संवेदना र मर्ममा छुरा चलाउनेहरूलाई एउटा कालो ब्यानरमा दलितलाई खै ? भन्ने प्रश्नले पत्थरमा घन बजारे झैं भएको छ। यामानको घनले खगेन्द्रले केन्द्रको मुटुमा ठोकिरहेका छन्। शान्तिपूर्ण तरिकाले प्रश्न गर्नु नजायज हो ? कमजोरी हो ?
६० लाख मान्छेको आत्मसम्मान र अधिकार प्रतिस्थापन गर भन्नु खगेन्द्रको अपराध हो ? संविधानले प्रत्याभूत गरेका अधिकार देऊ भन्नु खगेन्द्रको पाप हो ? संविधान रूपी चेक बाउन्स गरेर दलितलाई भुलाउनु छक्याउनु र धोका दिनु राज्य सत्ताको चरित्र भएको छ। त्यसविरुद्ध दलित आन्दोलन फेरि जुर्मुराएको छ। जोसमनी सन्त परम्पराका प्रभावकारी व्यक्ति सन्त शशिधरको समय पृथ्वीनारायणकालीन समयमा विशेष रूपमा उठेको जोसमनी सम्प्रदायको वैचारिक आधार अत्यन्तै प्रगतिशील देखिन्छ।
जातपात, छुवाछूत र मूर्तिपूजा नमान्ने, महिलालाई पनि दीक्षित गरिने, आदि यस सम्प्रदायका विशेषता हुन्। साथै रक्सीमासु खानेलाई निषेध नगर्ने। गुरुङ, मगर, राई, लिम्बु, बाहुन, क्षेत्रीमात्र नभएर कथित तल्लो जातका व्यक्तिसमेत यस सम्प्रदायमा दीक्षित भएका थिए। सोही आन्दोलनको विरासत अनेकन दलित नेताहरूले बोक्दै आए र अनेक राजनैतिक आन्दोलनमा दलित समुदायको सहभागिता रह्यो। दलित समस्या बहुआयामिक छ यसको समस्या समाधानका उपाय एक छैनन् अनेक छन् तसर्थ अनेक कोण र आयामबाट यसको समाधानमा लाग्नु उपयुक्त देखिन्छ।
पछिल्लो चरणको राजनीतिक आन्दोलन २०५२ को जनयुद्ध सुरु भएदेखि २०६२/६३ को परिवर्तनसम्म आइपुग्दा झन्डै १४ सय दलितले जीवन उत्सर्ग गरेर आफ्नो हकको ग्यारेन्टी संविधानमा गराउन सफल भएका हुन्। अहिले हलचल मच्चिने गरी राजनीतिक नेतृत्व गर्न खगेन्द्र तम्सिएका छन्। यद्यपि खगेन्द्र यो संविधानलाई मानेर नै यहीं भित्रबाट सामधान खोज्ने पक्षमा छन्।
प्रतिक्रिया दिनुहोस !