पलेसाको ऐतिहासिक उपलब्धि
पेरिस पारालिम्पिकमा राष्ट्रलाई दिलाइन अहिलेसम्मकै ठूलो पदक, ६५ लाख पुरस्कार पाउने
काठमाडौं :नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनले पेरिस पारालिम्पिकमा राष्ट्रलाई ऐतिहासिक पदक दिलाएकी छन्। फ्रान्सको राजधानी पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन्। पारा तेक्वान्दोको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्। रिपेचेजअघि पहिलो चरणमा पलेसाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वार्टरफाइनलमा अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन्। सिल्भानले पनि कांस्य नै जितिन्। पराजित भए पनि पलेसाले रिपेचज खेल्ने अवसर पाएकी थिइन्। क्वार्टरफाइनलदेखि पराजित हुनेलाई मात्र रिपेचेज खेल्ने अवसर दिइएको थियो। पहिलो चरणमै हार बेहोर्नेले भने अवसर पाएनन्।
लगातार दोस्रो पारालिम्पिक खेलेकी पलेसाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमा पनि मरिजालाई नै हराउँदै कांस्य पदक भिडन्त पक्का गरेकी थिइन्। कांस्य पदकका लागि भएको भिडन्तमा भने उनी चीनकी लि युजीसँग १२–९ ले चुकेकी थिइन्। उनै लिले स्वर्ण जित्दै पेरिस यात्रालाई सुखद बनाइन्। लिले फाइनलमा टर्कीकी गाम्जे गुर्डेललाई ११–० ले पाखा लगाएकी थिइन्।
पलेसाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो। कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन्। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको हो। गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य पदक जितेको इतिहास छ। सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धी हासिल गरेका थिए। प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना भएन।
जावलाखेलस्थित डीएभी स्कुलमा अध्ययनरत रहँदा १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन्। सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। त्यो प्रतियोगितामा उनले पाँचौं स्थान हासिल गरेकी थिइन्। २१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन्। त्यसमा तीन स्वर्ण र तीन कांस्य छ। पलेसाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स र चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोटमा स्वर्ण जितेकी थिइन्। ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेसाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेसा एक्लो नेपाली खेलाडी हुन्। टोकियो पारालिम्पिकमा भने उनी वाइल्ड कार्डमार्फत सहभागी भएकी थिइन्।
यसैगरी सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा कांस्य जितेकी थिइन्। एसियाली पारा खेलकुदमा पलेसाले जितेको कांस्य नेपालले पाएको अहिलेसम्मकै एक मात्र पदक हो। पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ।
पलेसाले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट पारा एथलिट अवार्ड पनि जितिसकेकी छन्। काठमाडौं महानगरपालिका–२८, बागबजारकी पलेसा नेपाल सरकारबाट जनसेवाश्री पञ्चम श्रेणीबाट पनि विभूषित भइसकेकी छन्। पेरिस पारालिम्पिकका लागि नेपाली तेक्वान्दो टोलीले एक महिना बेलायतको म्यानचेस्टरमा तयारी गरेको थियो। पारालिम्पिकमा सहभागी टोली त्यहीँबाटै अगष्ट २५ मा पेरिस पुगेको थियो।
पलेसाका प्रशिक्षक कविराज नेगी लामाको भने प्रशिक्षकका रूपमा यो ११औं अन्तर्राष्ट्रिय पदक हो। अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपाली खेलाडीले अहिलेसम्म ३ स्वर्ण, दुई रजत र ६ कांस्य जितेका छन्। लामा नेपाली पारा तेक्वान्दोका सफल प्रशिक्षक पनि हुन्।
पलेसाले मेहनतको फल प्राप्त भएको र आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्रका लागि भएको बताइन्। ‘मेहनतको फल पाएको अनुभूति भइरहेको छ। यो पदक मेरो मात्र होइन। सिंगो नेपाल र सम्पूर्ण नेपालीहरूको हो’, पलेसाले भनिन्, ‘अब हामी गर्वका साथ भन्न सक्छौं। ओलम्पिकमा हाम्रो पनि पदक छ भनेर। सबैको मप्रति भरोसा थियो, पदक जित्छ भनेर। उहाँहरूको भरोसालाई कायम राखेर देशका लागि पदक जित्न पाएकोमा खुसी छु।’ पलेशाले आफ्नो यात्रामा सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पारालिम्पिक कमिटी, नेपाल तेक्वान्दो संघ, परिवार, शुभचिन्तकलगायत सबैलाई धन्यवाद दिँदै अझ राम्रो तयारी गर्न सके योभन्दा ठूलो उपलब्धी हासिल गर्न सकिने बताइन्।
प्रशिक्षक लामाले टोकियो ओलम्पिकमा जित्न नसकेको पदक पेरिसमा आएर जित्न सकेकोमा खुसी व्यक्त गर्दै पलेसाले जितेको पदक सम्पूर्ण देशवासीका लागि उपहार भएको बताए। उनले पलेसा र सम्पूर्ण टिमको मेहनतले सफलता सम्भव भएको बताउँदै पलेसाको सफलताले नेपाल पनि ओलम्पिकमा पदक जित्न सक्षम छ भन्ने सन्देश दिन सफल भएको बताए।
नेपाल पारालिम्पिक कमिटी एवं नेपाल तेक्वान्दो संघका सदस्यसमेत रहेका टोलीका व्यवस्थापक रामचन्द्र श्रेष्ठले लामो समयदेखि राष्ट्रले चाहेको पदक जित्न सफल भएकोमा पलेसालाई बधाइ र धन्यवाद दिँदै अझ लगानी गर्ने हो भने स्वर्ण पदक पनि टाढा नभएको बताए। उनले अनुकूल वातावरण पाए नेपाली खेलाडी कुनै पनि देशको खेलाडीभन्दा कम छैनन् भन्ने गतिलो उदाहरण पलेसा भएको बताए।
तेक्वान्दोसहित नेपाली पारालिम्पिक टोली सेप्टेम्बर ४ मा नेपाल आइपुग्ने छ। पेरिस पारालिम्पिकमा नेपालबाट पौडीका भीमबहादुर कुमालले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। उनले सेप्टेम्बर २ मा एस–९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। पेरिस पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन्। तेक्वान्दोका भरतसिंह महता अगष्ट २९ तारिखमै जापानका मित्सुया तानाकासंग पहिलो चरणमै १९–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
पलेसाले ६५ लाख पुरस्कार पाउने
पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेसा गोवद्र्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएकी छन्। राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कारसम्बन्धी व्यवस्थाअनुसार पलेसाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन्।
सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाएकी थिइन्।यस्तै प्रशिक्षकले पाँच लाख ८५ हजार, व्यवस्थापकले दुई लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।