दसैंको कतै उत्साह, कतै निरासा
गुल्मी : निलो आकाशमा कहिले बादल त कहिले चर्को घाम। स्रोह्र श्राद्ध सुरु भएसँगै रेडियो र टेलिभिजनमा रोयो गामबेशी गीत घन्किन थाल्छ। जब रोयो गामबेशी नामक गीत बज्न थाल्छ तब नेपालीको महान् पर्व बडादसैँ घर आँगनमा भित्रिएको आभास दिलाउँछ।
नेपाली चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको सुमधुर स्वरमा 'फेरि आयो दसैं र तिहार तिमी कहिले आउँछौं पियारा' गीत देश तथा विदेशमा रहने नेपालीको कानमा गुन्जिन्छ। उक्त गीतले परिवारको खुसी र आर्थिक समृद्धिको सपना बोकेर परदेश पुगेका परदेशी र गाउँघरमा रहेका आफन्तको मन रुवाउँछ। घरदेशीलाई परदेशीको माया र परदेशीलाई घरदेशीको यादसहित गाउँघरको रमाइलोले झल्को दिलाउँछ।
दसैं मुखमै आइसकेको छ। खेतमा धान झुल्न थालेका छन्। आँगनीमा ढकमक्क फूल फूलेका छन्। कैयौं बाआमा र श्रीमती परदेशीएको छोराछोरी र श्रीमानको पर्खाइमा छन्। बसाइसँराईले रित्तिएका गाउँघर चाडपर्व र मान्छेको बाक्लो चहलपहलले भरिभराउ देखिएका छन्। गाउँघरका शक्तिपिठमा घटस्थापनाका दिनदेखि पूजाआराधाना चलिरहेको छ। वर्षदिनको दसैंमा घर उज्यालो पार्न लिपपोत र रङ्गरोगन गर्न भ्याइनभ्याइ छ। पारिवारिक बाध्यता र आर्थिक समस्यासँग जुध्न नसकेर कैयौं युवा परदेशीएका छन्। परिवारको खुसी लगेजमा बोकेर परदेश पुगेकाहरू घरमा फर्किँदै छन् त कति जाँदैछन्। आफ्नो भविष्य खोज्दै केही युवाहरू दसैंको मुखमै परदेशीएका तस्बिरले फेसबुकका भित्ता रंगिएका छन् भने कति घर फर्किएका दृश्यले।
परिवारको खुसी र सन्तानको भविष्य खोज्दै २ वर्षअघि परदेश पुगेका गुल्मी मालिका गाउँपालिका-७ घमिरका खिमबहादुर खड्का यसपालीको दसैं मान्न घर फर्किएका छन्। उनको परिवार र आफन्तजन उनी घर आएको खबरले खुसी छाएको छ। उनले परदेशबाट लिएका विदेशी मिठाइको स्वाद सहितको दसैं मान्न परिवारका सदस्यमा हर्ष उल्लास छाएको छ। खड्का परिवारको माया र अनुहारमा खुसी बोकेर घरदेश आइपुगेका छन्। बुबाआमा र अग्रजको हातबाट टीका जमरा थाप्ने तयारीमा छन् उनी।
घरमा बुबाको आगमनले श्रीमती र छोरामा खुसीको सीमा छैन। बाबाको प्रखाईमा निलो आकाश हेर्दै आखाँमा आँशु झार्ने छोरा र उनका आफन्त उनको आगमनले औधी खुसी छन्। उनी लगायतका केही परदेशीको आगमनले सिंगो समाज नै दसैंमय बनेको छ। पसिनासँग पैसा साट्न परदेश पुगेका परदेशी घर आउने क्रम जारी छ भने कैयौं आफन्त परदेशीको पखाईमा छन्।
त्यस्तै भविष्यमा आर्थिक समृद्धिको सपनासहित अध्ययनका लागि केही वर्ष पहिले परदेश पुगेका गुल्मीको मालिका-७ घमिरका सन्देश लम्साल क्षेत्रीलाई यस वर्षको दसैंमा बिदा मिलेन। उनले मनमा पीडा र विगतमा परिवारसँग मनाएको दसैं रण गर्दै परिवारलाई पैसा पठाएका छन्। उनकी आमा विदेशबाट पठाएको केही पैसाले घरपरिवारलाई लत्ताकपडा र केही पैसाले घरखर्च चलाउने तयारीमा छिन्। आमा उमी क्षेत्री आखाँमा आँशु निकाल्दै भन्छिन्, 'आफ्नो पढाई र पैसा कमाएर परिवारलाई खुसी दिलाउन छोरा परदेश पसेको हो। तर, यो दसैंमा नआए पनि अर्को दसैंमा अवश्य आउने छ।'
बडादसैंलाई हिन्दू धर्मालम्वीहरूले विशेष र खुसीको पर्वका रूपमा लिने गर्छन्। सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो। यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो। त्यसमा पनि विजयादशमी मुख्य दिन हो। विजया दशमी तथा टीकाको दिन आफूभन्दा अग्रजवाट टीका जमरा ग्रहण, आशिर्वाद लिने चलन छ। विश्वव्यापीरूपमा फैलिएको कारोना भाइरसले केही वर्षका दसैं नाममा मात्रै सीमित रहे। कारोनापछिको यो बडादसैं निकै रमाइलो र स्मरणीय बन्ने देखिन्छ। तर, पहिले पहिले गाउँघरमा देखिने लुठेपिङ, काठेपिङलागयतका महत्वपूर्ण रमाइलो गर्ने साधान नै हराएका छ।
आजभोलि मौलिक संस्कृतिको जर्गेना गर्नेमा कसैको चासो देखिँदैन। पछिल्लो समय हामी र हाम्रो समाज देखासिकीमा चलिरको छ। हुनेखानेको लागि यो पर्व दसैं हो भने गरिबका लागि महान पर्व दशा बन्ने देखिन्छ।
पुरानो संस्कृति हराउँदै, विकृति मौलाउँदै
आजकल नेपालीका महान पर्वमा हुने पुराना संस्कृति समाजबाट नै लोभ हुन थालेका छन्। पहिले बडादसैंमा गाउँघरमा खेलिने वाइवो लुठेपिङ्ग, काठको राँइची लगायतका मनोरञ्जन लिने खेल हराउँदै गएका छन्। आजकल हाम्रो नेपाली समाज आधुनिक प्रविधि र देखासिकीमा चल्न थालेको छ। पहिलेको चालचलन र रीतिरिवाज एकादेशका कथाजस्तै बन्न थालेका छन्। पछिल्लो बुढापाका घरयासी काम धन्दामा व्यस्त छन् त युवाजमात रक्सी, मासु र जुवातासमा केन्द्रित छन्। गाउँघरमा मौलिकताभन्दा शहरी तथा विदेशी चाल चलन र रीतिरिवाजले पुराना संस्कृति र मौलिकतालाई धरासय बनाउँदै आएको पाइन्छ। दिनप्रतिदिनको सामाजिक विकृति र विसंगतिलाई वेवास्था गर्दै र पुराना संस्कृति र परम्परालाई भुल्दै जाने हो भने नेपाली कला संस्कृति र पर्वहरू कुनै बेला थिए र भन्नेबाहेक अरु विकल्प छैन।