हराए चंगा, देखिनै छोडे पिङ

हराए चंगा, देखिनै छोडे पिङ

पिङ, चङ्गा, निधारभरि टीका लगाएर गाउँ डुल्नु, कट्कटिएका नयाँ नोट खल्तीमा हुनु दसैंका विशेष चित्र हुन् ।

काठमाडौं : रातोमाटो र सेतो कमेरोले लिपपोत गरेर टिलिक्क टल्काएको घरआँगन । आँगनको डिलमा फुलेका सयपत्री र मखमली फूलका रौनक । बारीको कान्लामा फुलेका अनेकथरी फूलहरूको मादकता बेग्लै छ ।

घरमाथिको करेसाको डिलमा उभिएर चंगा उडाइरहेका बालबच्चा । लट्टाईको धागो र चंगाको बेगमा दौडिरहेका अभिभावकको हतारो । घरको मूलबाटोमै खम्बा गाडेर बनाइएको पिङमा भुलिरहेका युवायुवती । दसैं सम्झनासाथ यी र यस्तै दृश्य याद हुन्छन् । घरघरमा दसैं भित्त्याउने हतारोले काममा दौडिएका युवायुवती सुस्ताउने ठाउँ हो, पिङ । पिङका लठ्ठामा बालबच्चा झ्याम्मिने र रमाउँदै खेलेको देख्दा हेर्नेलाई समेत आनन्द लाग्छ । दसैं भन्नासाथ झ्याप्प मानसपटलमा दृश्य हुन् यी । पिङ, चङ्गा, निधारभरि टीका लगाएर गाउँ डुल्नु, कट्कटिएका नयाँ नोट दसैंका विशेष चित्र हुन् । 

पछिल्लो समय सहर होस् या गाउँ पिङविहीन हुन थालेका छन् । चंगा त देख्न पाइनै छाड्यो । चंगा उडाउने बालबच्चा इन्टरनेटको लतमा परेका छन् । पिङमा भेला हुने युवायुवती र केटाकेटी मोबाइलमा घण्टौं बस्न थालेका छन् । गाउँगाउँमा पुगेको विकास, प्रविधिको पहँुच र इन्टरनेटको विस्तारले गाउँको अग्र्यानिक दृश्य देखिन छाडेको छ । 

चंगा र धागोजस्तै गहिरो सम्बन्ध
दसैंं परम्परासँग जोडिएका चंगा, पिङ मनोरञ्जनका माध्यम हुन् । यसको महिमा मनोरञ्जनमा मात्र सीमित छैन । चंगा र पिङले उमंगको संकेत गर्छ । वर्षा सकिएको र जाडो सुरु हुनेबेलाको दसैंको मौसम आफैंमा मनमोहक हुन्छ । बाबियोले बनाएको लिंगेपिङको डोरीमा टहलिँदै हावाको वेगमा अल्मलिनुको स्वाद बेग्लै हो । 

हाम्रा धार्मिक परम्परासँग जोडिएका कुराहरू आफैंमा वैज्ञानिक छन् । पिङ र चंगासँग पनि विज्ञान जोडिएको छ । जस्तो चंगाले मौसमी अवस्थाबारे पनि जानकारी दिन्छ । चंगा उडाउनु भनेको खुला र मोहक मौसमको सूचक हो । उचाइ र विजयको प्रतीकजस्तै लाग्ने चंगाको बहाव साँच्चिकै शानदार हुन्छ । चंगा र धागोको सम्बन्धलाई हरकोहीले निकै नजिकको र अन्योन्या िश्रत सम्बन्धको रूपमा व्याख्या विवेचना गर्ने गर्छन् । यसले सम्बन्धको निकटता र विशेष महिमा झल्काउँछ । नजिकका प्रिय आफन्तलाई चिनाउन होस् या प्रेमिल जोडीलाई उपमा दिनुहोस् धागो र चंगाजस्तै बनौं भन्ने गरिन्छ । 

चंगा उडाउन मन्द हावाको बहाव चाहिन्छ । शरद ऋतुमा लहलह झुल्ने धानका बालाहरू छुँदै बहेको हावाको झोक्कामा उमंग भेटिन्छ ।  विजय र वर्चस्वको बोझ लिएर उड्ने चंगा एक रोमाञ्चक खेलमात्र होइन, जीवन दर्शन पनि हो । यो उमंगको प्रतीक हो, स्वच्छन्दको प्रतीक हो, उचाइको प्रतीक हो । भनिन्छ, चंगा उडाउँदा हामी दुःख, पिर भुल्छौं । दम्भ, रिस, राग भुल्छौं । मनमा उमंग छाइरहेको हुन्छ । यसले हामीमा महत्त्वाकांक्षा जगाउँछ । धर्तीकै साथमा भए पनि कहिलेकाहीँ आकाश छुनुपर्छ भन्ने सन्देश दिन्छ । आकाश र धर्तीलाई जोड्ने चंगाको धागो सम्बन्धको मापन हो । 

धागोले बाँधिएर लट्टाईबाट नियन्त्रण गरिने चंगा अनेक मान्यता, अन्धविश्वास र अनौठो प्रयोगको आधार पनि रहेको छ । मानिसको महत्त्वाकांक्षालाई आकाशको उचाइसम्म लिएर जाने चंगा उडाउनु आफैंमा कलात्मक सीप हो । 

खुसी र उमंग खोज्न पिङ 

दसैंका बेला खेलिने लिंगेपिङ होस् पनि चर्के पिङ यो खेल बडो रमाइलो हुन्छ । दसैंको एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरानो मान्यता पनि छ । यसैले पनि सो दिन बच्चा हुन् या युवा वा बुढापाका नै किन नहुन पिङमा झुलिरहेको देखिन्छ । पिङ खासमा मनोरञ्जनकै लागि खेलिन्छ । दसैंंमा रमाउने बहानामध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो । पिङ खेल्दा हाम्रो शारीरिक कसरत पनि हुने गर्छ । यसले गर्दा शरीरलाई स्वस्थ्य राख्न सहयोग पुग्छ । 

दसैं मनाउन गाउँघर पुगेका केटाकेटी पिङमा मच्चिएको देख्दा हरकोही खुसीले रमाउछ । गाउँको सिरान होस् या चौतारी वा खुल्ला चौर नै किन नहोस् समाजका सबैजना मिलेर पिङ हाल्ने परम्परा हो हाम्रो । पिङलाई स्वतन्त्रताको प्रतीकको रूपमा पनि लिने गरिन्छ । 

दसैंं परम्परासँग जोडिएका चंगा, पिङलगायतका मनोरञ्जनका माध्यम अहिले लोप हुने लाइनमा छन् । दसैं आउनुअघि आकाशभरि देखिने चंगा अहिले सम्झनामा मात्रै बाँकी छ । अनेकन महत्त्व रहेका हाम्रा पुराना संस्कृति जोगाउन नयाँ पुस्ताले चासो दिन सकेनन् । संस्कृति संरक्षणमा राज्यको योगदान हुन सकेन । संस्कृति जोगाउन युवावर्ग नै लाग्नुपर्छ

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार नेपाली समाजमा दसैंको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व छ । देवी माताहरू दुर्गा भवानी, लक्ष्मी र सरस्वतीको पूजा हुने भएकाले पनि यसको बेग्लै धार्मिक महत्त्व छ । दसैंको टीकासँगै लगाइने जमरा, ठूलालाई सम्मान गर्ने र आशीर्वाद लिने तथा एकअर्कामा सम्बन्ध सुधार गर्ने चाड भएकाले पनि यसको सामाजिक महत्त्व छ । सामाजिकीकरणको लागि पनि दसैंले मुख्य भूमिका खेलेको हुन्छ । मनोरञ्जनको चाड पनि हो । पिङ र चंगा दसैंका मुख्य आकर्षक हुन् । 

दसैंको अवसरमा सरकारी कर्मचारीदेखि स्कुल कलेजका विद्यार्थीको पनि लामो बिदा हुन्छ । यो समय सदुपयोग गर्न चंगा खेल्नु निकै उपयुक्त हुन्छ । पछिल्लो समय स्कुलमा दिने लामा र बोझिला गृहकार्य, दसैं परियोजनालगायत मोबाइल र टीभीले गर्दा केटाकेटीहरू प्रायः घरभित्रै थुनिएको देखिन्छ । युवाहरू त गाउँमा छँदै छैनन् । सक्ने युरोप गए, कोही खाडी देशतिर छन्, । कोही सहरबजारमा छन् । गाउँ युवाविहीन भइसक्यो ।

खाली चौरमा सामूहिक खेल खेल्ने, प्राक्टिस गर्ने तथा शारीरिक खेल खेल्ने चलन समाजमा हराउँदै गएको संस्कृतिविद् टण्डनको बुझाइ छ । उनी भन्छन्, दसैंको सांस्कृतिक र सामाजिक महत्त्व सिकाउन अहिलेका अभिभावक नै चुकिरहेका छन् । सामाजिक संघसंस्था तथा गुठीहरूले सामाजिक काम गर्न नै छाडे । राज्य तथा सामाजिक स्तरबाट उनीहरूमा सांस्कृतिक चेतना सिकाउन छाडियो । पहिले गुठी तथा टोल विकास सघंसंस्थाले गाउँको बीचमा पिङ हाल्ने गर्थे । अहिले गुठीहरू लोप भइसके । 

संस्कृतिमा आक्रमण भयो 

अर्का संस्कृतिविद् तथा दाङ विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीका अनुसार हाम्रो सस्कृतिको मूल आधार प्राचीन वैदिक बाङ्मय हो । प्राचीन वैदिक परम्परामा शक्ति आराधनाको मुद चिन्तन यहीबाट सुरु भएको हो । हरेक संस्कृतिका मूल जरो त्यही हुनुपर्छ । संस्कृतिमा आक्रमण हुने, विकृति फैलने, अतिक्रमण हँुदै जाने व्यक्तिको संस्कारमा आएको विचलनका कारणले हुन्छ । फाइदा र बेफाइदा हेर्ने बहानामा हाम्रा चालचलन र संस्कार बदलिए । पिङमा रमाउने परम्परा, मान्यजनकहाँ गएर टीका आशीर्वाद लिने परम्परा, चंगा उठाउने चलन लोप प्रायः भए । 

सुवेदीका अनुसार दसैं संस्कृति हिन्दुहरूको मात्रै नभएर सम्पूर्ण नेपालीहरूको चाड हो । यसलाई पुनर्बोध गर्नुपर्छ । आफ्नो अस्तित्व र नेपालीपन जोगाउन सबैले संस्कृति संरक्षण गर्नेपर्छ । हाम्रा पुर्खाहरूको परम्परालाई जोगाउन पर्छ नै । 

चंगा र पिङ खेल्ने परम्परा हराएको बताउँदै संस्कृतिविद् सुवेदीले हाम्रो संस्कृतिमाथि विदेशी संस्कृतिको अतिक्रमण भएको बताए । उनका अनुसार, हाम्रा चालचलन, संस्कार र परम्परामा विभेद छ । राम्रा छैनन् भन्दै आरोप लगाउने र विदेशी संस्कार मनाउने परम्परा बढेको छ । प्रविधिको विकाससँगै बालबच्चा, युवायुवती मोबाइलमा व्यस्त हुन थाले । उनीहरूसँग सामाजिक कामको लागि समय भएन । अभिभावकले सही गाइड गर्न सकेनन् । आफ्नो परिवार, समाज र परिवेश नै नचाहने जमातको विकास भइरहेको छ । पारिवारिक संस्कृतिको मूल चिन्तन नै भत्कन थालेको छ । 

दसैं भनेको खाने र रमाउने भन्नेमै सीमित भयो 

पछिल्लो समय दसैंको मान्यता नै बदलिएकोमा संस्कृतविद् टण्डनको चिन्ता छ । उनी भन्छन्, अहिले दसैं भन्नासाथ किनमेल गर्ने र खानेपिउने भन्ने मात्रै सम्झिन थालिएको छ । मासु धेरै खाने, मीठा र चिल्ला परिकार खाने चाडको रूपमा दसैं चिनिँदैछ । जुन गलत हो ।

विकासको गति गाउँगाउँमा फैलिएजस्तै दसैं तथा अन्य चाडपर्वको स्वरूप पनि बदलिए । चाडपर्वहरू सधंै उही रूपमा रहँदैनन् । पहिले र अहिलेकोमा धेरै भिन्नता भएजस्तै अहिले र भोलिमा पनि फरकपन देखिन्छ । राम्रा कुरालाई आत्मसाथ गर्दै, नराम्रो चलन हटाउँदै परिस्कृत रूपमा दसैं मनाउन जरुरी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.