चाडपर्वमा खानपान

चाडपर्वमा खानपान
सांकेतिक तस्बिर ।

विशेषतः पाका, मुटुरोगी, मधुमेह, कोलेस्टेरोल वा उच्च रत्ताmचाप बढी भएका अधिकांश बिरामी चाडबाडलगत्तौ अस्पताल पुग्ने गर्छन्।

चितवनका धनबहादुर र लमजुङका शमशेरले गत वर्ष दसैंमा मासु खाँदा घाँटीमा हाड अड्किएर ज्यान गुमाउनु पर्‍यो। चाडबाडमा ‘होली डे हार्ट सिन्ड्रोम’ अर्थात् मुटुको धड्कन बेताल हुने, छिटोछिटो चल्ने र हर्ट फेल’ भई अस्पताल पुग्ने अत्यधिक हुन्छन्। यी त केही प्रतिनिधिमूलक घटना हुन्। खानपान र जीवनशैलीमा ध्यान नदिँदा मृत्यु भएका र अस्पतालमैं दसैं मनाएका धेरै छन्।

चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामै पुग्छ। दसैंमा मासुमै जोड दिने चलन परम्परादेखिकै हो। पुर्खाहरू खानेकुरा सजिलै पचाउँथे। दसैंं र मासुको सम्बन्ध भने नङ र मासुको जस्तो छ। दसैंं मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो। त्यसैले के बुढा, के बालक, के महिला, के धनी, के गरिब, के बिरामी ! सबै आआफ्नै किसिमले रमाउँछन्। तथापि आजकल दसैंको माहोलमा एक हप्तादेखि नै नास्ता, खाना, अचार, तरकारी, झोल सबैमा मासु खाने चलन छ। विशेषतः पाका, मुटुरोगी, मधुमेह, कोलेस्टेरोल वा उच्च रक्तचाप बढी भएका अधिकांश बिरामी चाडबाडलगत्तै अस्पताल पुग्ने गर्छन्।

मासुमा सचेतना : संक्रमित बुढा, थारा र रोगी चौपायाको मासु बनाइन्छ। रोग नलागेका र मासु उपभोगका लागि योग्य चौपाया पनि परम्परागत रूपमा वध गरिन्छ। सडकपेटी र नालीमा मासु खुल्ला राखिँदा अस्वस्थकर भई जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेछ। त्यसैमा झन् मासु बिक्रेताले बिक्री नभएका मासु लामो समयसम्म फ्रिजमा राख्नाले समस्या थपिँदो छ। खुला रूपमा एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनाले पनि संक्रमणको जोखिम बढ्छ।

नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्च रक्तचाप, मिर्गौला र मुटुका रोग, आन्द्रा र कलेजो खराब हुन्छ। त्यसमा पनि बढी मासु र बोसो होस् भनेर पशुहरूलाई संगिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की कुखुरालाई खुवाउँदा र पशुहरूमा जथाभावी तथा जबरजस्ती औषधि प्रयोगले मानिसमा एन्टिबायोटिकले काम नगर्ने समस्या ‘सुपरबग’ उत्पन्न हुन सक्छ। मासु अस्वस्थ भइदिनाले १ सय ६० प्रकारका रोगले आक्रमण गर्न सक्छन्।

मासुलाई ५ देखि ६३ डिग्री सेल्सियसमा राख्दा भएको एउटा ब्याक्टेरिया ७ घण्टामा बढेर २० लाख बढी पुग्छ। खाद्य पदार्थलाई भरसक तातोपानी नभए सफा पानीले पर्याप्त पखाल्नु पर्छ। माछा, मासु तथा सागसब्जीलाई भिन्दाभिन्दै प्रेसरकुकरमा पकाउनुपर्छ नभए पनि अन्य भाडामा राम्ररी पकाउनु पर्छ। पकाउनु अघि र पकाएपछि बढीमा दुई घण्टासम्म मात्र भण्डारण गर्नुपर्छ। तयार पार्ने, सफा गर्ने, पकाउने संलग्न सबैले साबुनपानीले हात धुनुपर्छ।

मासुसँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खाँदा फाइबरले कोलेस्टेरोल घटाउँछ, पाचन प्रणाली राम्रो बनाउँछ।
बढी चिल्लो, मसालेदार र सही ढंगले नपकाइएका खानाले कोलेस्टेरोल, ब्लड प्रेसर, युरिक एसिड र सुगर लाग्ने सम्भावना बढाउँछ। रोग लागिसकेकालाई त झनै जटिलता ल्याउने र खतरा हुन्छ। मासुसँगै बोसो, छाला र प्राणी तथा सूर्यमुखी तेल भए ट्राइग्लेसेराइड, खराब कोलेस्टेरोल बढ्ने, मुटु, कलेजो, मिर्गौलालगायतका विभिन्न आपत्कालीन तथा दीर्घकालीन समस्या ल्याउँछ। सेकुवा र पोलिएको मासुले श्वासप्रश्वास र फोक्सोमा एलर्जी, पाचन प्रणालीमा क्यान्सर निम्त्याउँछ।

चिल्लो बढी र पानी कम हँुदा माइग्रेन बल्झन सक्छ। नपाकेको मासु खाँदा नाम्ले जुका, फित्ते जुका, ब्रुसेलोसिस, क्षयरोगजस्ता रोग लाग्न सक्छ। फ्रिजमा राखिएका खाद्यपदार्थहरू नतताई खाँदा टाइफाइड, रुघाखोकी, ब्रोन्काइटिस हुन सक्छ। सादा खाना वा काब्रोहाइड्रेट पच्न तीन घण्टासम्म लाग्छ भने चिल्लो र बोसोलाई दुई गुणा बढी समय लाग्छ।

रातोभन्दा सेतो मासु : राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु स्वास्थ्यमैत्री हुन्छ। कोलेस्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ। माछाका परिकार खानाले शरीरको तौल घट्नुका साथै कोलेस्ट्रोलको मात्रा घटाउँछ।

कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइन्छ। रातो मासु खाने महिलालाई मुटुरोग हुने जोखिम ३० प्रतिशत बढी हुन्छ। अनुसन्धानमा माछा खाँदा २४ प्रतिशत तथा कुखुराको मासु खाँदा १९ प्रतिशत मुटुरोगको खतरा कम हुन्छ। रातो मासु खानेमा घाँटी र पेटका अनेकौं किसिमका क्यान्सरले च्याप्छ। रातो मासुले युरिक एसिड, ट्राइग्लेसिराइड, कोलेस्टेरोल र मुटुको रोग निम्त्याउँछ।

मद्यपान : स्वास्थ्य समस्या नभएकाको मुटु र रक्तनलीलाई फाइदाजनक भनिने ३० ग्राम इथानोल अर्थात् ७ सय मिलिलिटर बियर वा तीन सय मिलिलिटर वाइन वा ६० मिलिलिटर ह्विस्कीले पुरुष तथा आधा मात्राले महिलाको मुटुलाई हानि नगरे पनि पेट खराब गर्ने, दिमाग र ग्रन्थीमा असर गर्ने साथै रोगविरुद्ध लड्ने क्षमतामा कमी ल्याउने हुन्छ। अझै मसलेदार, चिल्लो, पीरो मासुका साथ रक्सी सेवनले पेट, कलेजोमा असर, पेटको अल्सर र क्यान्सर, रक्तअल्पता, दुर्बलता, प्यान्क्रियाज ग्रन्थीमा नकारात्मक असर पर्दछ।

खानपानको असंयम, अनिद्रा, शारीरिक श्रमको कमीले अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स फुल्ने, आऊ, पखाला, रिंगटा, आँखा पोल्ने वा बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या, मिर्गौला र कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्छ।

अन्त्यमा, एक त रातो मासु, त्यसमाथि पकाउँदा तेल, मसला, नुनको बढी मात्राले जोखिम निम्त्याउने हो। मासुसँगै सागसब्जी, सलाद र फलफूल खाँदा रेसाले चिल्लोलाई बेरेर शरीरबाट बाहिर फ्याँक्छ। अचारले चिल्लो काट्छ, रायोले मासु पचाउन सहयोग गर्छ। नियमित खाइरहेका औषधि खान बिर्सिंदा हृदयाघात, पक्षघातलगायतका जटिलता आउन सक्छन्।

दिनहुँ एक घण्टा परिश्रम पर्ने गरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्न हुँदैन। रोग सिर्जना हुने र भएको रोगले च्याप्ने बेला चाडबाड भएकाले स्वास्थ्यमैत्री खानपान, जीवनशैली पालनामा सचेतना पुगोस्– बडादसैंको शुभकामना।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.