घरमा सामग्री झार्ने क्रममा विस्फोट हुँदा एक जना घाइते, सकेट बमको आशंका
स्याङ्जा : घरमा सामग्री झार्ने क्रममा विस्फोट हुँदा स्याङ्जामा एक जना घाइते भएका छन्। चापाकोट नगरपालिका-४ मल्याङकोटस्थित
४५ वर्षीय गोविन्द पुरी घाइते भएका हुन्।
शनिबार साँझ उनको तीन तले घरको माथिल्लो तलाबाट दोस्रो तलामा भाँडाकुँडा सार्ने क्रममा अचानक विस्फोट हुँदा पुरी घाइते भएका वडाध्यक्ष अर्जुन खाँणले बताए। विस्फोटबाट घरमा समेत क्षति पुगेको छ।
घाइते पुरीको शनिबार साँझै उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको र उपचारपछि आइतबार घर ल्याइएको छ। विस्फोटमा परी उनका आँखा,अनुहार, खुट्टा र पेटमा चोट पुगेको थियो।
पुरी नेपाली सेनाबाट २ वर्षअघि अवकाश भएका थिए। घटनाको प्रकृति हेर्दा सकेट बम विस्फोट भएको प्रहरीले अनुमान गरेको छ। अनुसन्धान पूरा भएपछि मात्र जानकारी गराउने वडा प्रहरी कार्यालय चापाकोटले जनाएको छ।
अनुसन्धानका क्रममा आइतबार सोही घरबाट बम बनाउने सामानसहित गोली फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !