म खोला हुँ !
तिमीले भने जस्तो
मैले मात्र आफ्नो बाटो खोजेको हुँ
जुन तिमीले वर्षौंदेखि छेकीदिएका थियौ ।
म खोला हुँ !
एकपटक बगेको पानी
म अविरल वगिरहन्छु
म उल्टो फर्किन जान्दिनँ
तिमीले छेक्ने चेष्टा गर्दा
म निरीह देखिउँला
तर म लयमा फर्किनै पर्छ
यो प्रकृतिको नियम हो ।
जसरी ‘खै खोलो ? सुक्यो ।’
यो नियति मैले तिम्रै कारण भोग्नु परेको हो
जब म आफ्नो लयमा फर्किन्छु
आफ्नो आदिम परम्परागत बाटोमा फेरि हिँड््छु
तिमीले खडा गरेका कृत्रिम आधुनिक संरचनाहरू
धराशायी हुन्छन् तिम्रा आँगनहरू
जलमग्न हुन्छन् तिमी मेरो अस्तित्वलाई चुनौती दिँदै
सबै विनाशको दोष मलाई दिँदै
तिमीले कति सजिलै भन्छौ
बाढीले बितण्डा मच्चायो
खोलाले बबण्डर गर्यो ।
खोला कस्तो हुन्छ ?
शायद तिमीले बिर्सी पनि सकेका छौं
खोला एउटा जीवन सभ्यता हो
मानव र प्रकृतिको ।
खोलाकै अस्तित्वमा
जलथलका जीव जिउँछ
खोलाका किनारा हुन्छन्
किनाराका वरिपरि बगर हुन्छन्
बगरमा बालुवा, गग्रयान र ढुंगा हुन्छन्
बगरसँगै स-साना रूखका पोथ्रा हुर्किन्छन्
ती रूखका पोथ्रासँगै ठूला रूखहरूका हूलहरू र समथर फाँटहरू सिर्जित हुन्छन्
जहाँ तिम्रो बस्ती बस्छ र तिम्रा फसल उब्जिन्छन् ।
तर तिमीले खोलालाई कुलो जसरी
खुम्च्याउँदै, खुम्च्याउँदै
कुलेसो बनाउने कुचेष्टा गयौं
खोला बग्ने बाटो
किनारा र बगर नै मिचेर
मानव वस्ती बसायौ
अनि त सुरु हुन्छ
अन्तहीन अन्तरसंघर्ष
मानव संरचना र खोलाको ।
तिम्रो हातमा कलम छ
र, तिमी एकतर्फी लेख्छौ
बाढीले मानव बस्ती बगायो
खोलाले बितण्डा मच्चायो
खोलाले तिम्रा सपना डुबायो ।
ए मानव !
तिमीले नलेखिदिए पनि
भनौं मेरा गुनासाहरू ?
खोला हिँड््ने बाटाहरू छेक्ने तिमी हौ
खोला बग्ने गल्छेडा र किनारा पुर्ने तिमी हौ
खोलाको हक लाग्ने जमिनमा
नक्कली लालपुर्जा बनाएर
तिम्रा सुख सयल
र स्वार्थका महल खडा गर्ने पनि तिमी नै हौ
म त आफ्नो लयमा फर्किएको मात्र हुँ
म खोला हुँ !
- प्रदीप परियार थापा