पुल मर्मत भएन, धादिङ र गोरखाका स्थानीयलाई सास्ती
![पुल मर्मत भएन, धादिङ र गोरखाका स्थानीयलाई सास्ती](https://annapurnapost.prixacdn.net/media/albums/dhawadi-ghat-pul-gorakha_MVEKmzO1hk_wSPaYeP8Lm.jpg)
गोरखा : गत असोज ११ गते त्रिशूलीको बाढीले क्षति पुर्याएको गण्डकी गाउँपालिका ७ धवादीघाटको पुल एक महिनासम्म पनि मर्मत नहुँदा त्यस आसपासका बासिन्दालाई राजमार्ग आउजाउ गर्न कठिन भएको छ। मुख्य चाडबाड दसैं, तिहारका बेला धेरै आउजाउ गर्नुपर्ने बेला पुल नहुँदा असाध्यै समस्यामा परेको स्थानीय भूमि रेग्मी बताउँछन्।
अहिले पुलको कतिपय डेकहरू झरेका छन् भने लठ्ठा बटारिएर हिँड्नै नमिल्ने भएको छ। पुल जीर्ण हुँदा गोरखाको गण्डकी गाउँपालिका ७ धवादीघाट आसपासका ४७ सय घरधुरीलाई दैनिक आवतजावत गर्न समस्या भएको छ। दसैंको मुखैमा पुल क्षतिग्रस्त भएकाले चाडपर्व मनाउने क्रममा वारिपारि गर्न नपाएका स्थानीय रेग्मीको भनाइ छ।
समयमै पुल मर्मत नहुँदा दैनिक नियमित काममा आवतजावत गर्न मात्रै नभएर यहाँका कृषकले उत्पादन गरेका कृषिउपजहरू बजार पठाउन समेत
क्षति भएपछि घरायसी काम तथा स्थास्थ्य उपचार गर्न राजमार्ग जानुपर्नेलाई कठिनाइ भैरहेको स्थानीयवासीको गुनासो छ। यहाँ मोटरेबल पुल बनाउन ठेक्कासमेत भइसकेको छ तर अहिलेसम्म काम अघि नबढेको स्थानीयको भनाइ छ। संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले पुल बनाउन गम्भीरता नदेखाएकाले समस्या परेको यहाँका बासिन्दा बताउँछन्।
गोरखाको धवादी क्षेत्रका स्थानीयको दैनिक उपभोग्य वस्तुहरू किन्न राजमार्ग आवत जावत गर्न यही पुलको प्रयोग गर्छन्। धवादी क्षेत्रमा उत्पादन भएको तरकारी बिक्री गर्न पनि धादिङको चरौदी बजार ल्याउनुपर्ने भएकाले थप समस्या भएको स्थानीय विजय रुपाखेतीको भनाइ छ। आवतजावतमा सकस भएपछि यथाशीघ्र पहल गरिदिन प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईँ, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनालगायतका जनप्रतिनिधिसँग आग्रह गरेका छन्।
अहिले केही दिनदेखि पुल मर्मत गर्न सुरु गरेको स्थानीय भूमि रेग्मीको भनाइ छ। ‘अहिले झोलुङ्गे पुल बिभागले केही दिनदेखि मर्मत गर्न सुरु त गरेको छ’, उनी भन्छन्, ‘लठ्ठा, डेकहरू पुरानै प्रयोग गर्ने भनेका छन्। फेर्नुपर्ने जति फेर्ने नपर्ने जति त्यही प्रयोग गर्ने गरेर बल्ल मर्मतको काम सुरु गरेका छन्। अझै दुईदेखि तीन महिना लाग्छ भनेको छ। जनतालाई धेरै दुःख भएको छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)