
नयाँ मानिससित सम्पर्क गर्न तथा नयाँ ठाउँ घुम्न मन पराउने देवकोटामा यायावरीय प्रवृत्ति थियो।
लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि र नेपाली भाषालाई व्यवस्थित रूपमा सर्वग्राह्य बनाउने व्यक्तित्व हुन्। देवकोटा शिक्षामन्त्री भएको समयमा विद्यालय तहमा अनिवार्य विषयको रूपमा नेपालीलाई लागु गरिएको थियो। त्यसपछि विद्यालय पढ्ने हरेकले नेपाली भाषा बोल्न, पढ्न तथा लेख्न अनिवार्य भएको हो। नेपाली भाषाको विस्तारमा यसलाई विशिष्ट घटनाको रूपमा स्वीकार गरिएको छ।
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवीको सन्तानको रूपमा १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाको दिन राति ९ बजेर ९४ मिनेटमा काठमाडौंको धोबीधारामा उनको जन्म भएको हो। औंसीको घनघोर अँध्यारोमा जन्मेका देवकोटाले समग्र नेपाली साहित्यलाई सात सूर्यले झैं मानवचेतना रहेसम्मका लागि प्रकाश पारे। १० वर्षको उमेरदेखि कविता लेख्न थालेका देवकोटाले विद्यालय तहमा पढ्दा नै ‘कोपिलाउँदो कवि’ को उपाधि आफ्ना गुरुहरूबाट पाएका थिए। साहित्यिक प्रतिभा पैतृक सम्पत्तिको रूपमा पिताबाट प्राप्त गरेका देवकोटाको पहिलो कविता ‘पूर्णिमाको जलधि’ १९९१ मंसिर १५ मा गोरखापत्रमा प्रकाशन भएसँगै साहित्य प्रकाशमा आएका हुन्।
उनको पहिलो कृति ‘मुनामदन’ खण्डकाव्य हो जसको प्रकाशन १९९२ मा भएको हो। देवकोटालाई सर्वाधिक मनपर्ने यो कृति नेपाली साहित्यकै सर्वाधिक चर्चित कृति हो। प्रथम कविता प्रकाशित भएको एक वर्षमै खण्डकाव्य प्रकाशन भएपछि उनलाई साहित्यिक वृत्तमा ‘कविजी’ भनेर बोलाइन थालिएको थियो। देवकोटाको पहिलो महाकाव्य ‘शाकुन्तल’ २००२ सालमा प्रकाशित भएपछि उनलाई नेपाली साहित्यमा नचिन्ने कोही भएनन्।
चुरोट खान र जुवा खेल्न पोख्त देवकोटा मिठाई र मासु असाध्यै मन पराउँथे। नयाँ मानिससित सम्पर्क गर्न तथा नयाँ ठाउँ घुम्न मन पराउने देवकोटामा यायावरीय प्रवृत्ति थियो। हिमाल, पहाड र तराई मधेस डुलेका देवकोटा २००४ मा प्रेमबहादुर कंसाकारसित वाराणसी पुगेका थिए भने सोही वर्ष देवेन्द्रराज उपाध्याय तथा रामहरि जोशीसित कलकत्ता पुगेका थिए। यतिबेलासम्म देवकोटा नेपाल र भारतका साहित्यकारहरूबीच परिचित भइसकेका थिए। २०१३ मा भारतको दिल्लीमा सम्पन्न एसियाली लेखक सम्मेलनमा भीमनिधि तिवारी, माधवप्रसाद घिमिरेसमेतको सहभागिता रहेको टोलीको नेतृत्व देवकोटाले नै गरेका थिए। यसै गरी २०१५ मा तासकन्द, रुसमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा सहभागी भई साहित्य, संस्कृति, राष्ट्रिय स्वतन्त्रता, एकता आदि विषयमा छलफल गरेका थिए।
देवकोटाको कणकण र क्षणक्षणमा साहित्य नै साहित्य थियो। हिमालदेखि तराई मधेससम्म पुग्दा साहित्य देख्थे, साहित्य लेख्थे। साहित्यका लागि नै जन्मेका उनलाई जब फाट्टफुट्ट वा अनौपचारिक रूपमा ‘महाकवि’ भनिन थालिएको थियो, तब उनलाई भेट्ने नवसर्जक तथा युवा साहित्यकारहरूले निकै प्रश्न गर्ने गरेका थिए। देवकोटालाई पनि मानिसको संगत खुब मन पथ्र्यो। भाषा, साहित्य र जीवनदर्शनसम्बन्धी प्रश्नको उत्तर उनी कहिले दार्शनिक रूपमा दिन्थे त कहिले प्रश्नलाई गम्भीरतापूर्वक नलिई जवाफ फर्काउँथे। देशमा प्रजातन्त्र आइसकेपछि वातावरण झन् खुल्ला हुन आएको थियो। यस अवस्थामा देवकोटालाई देशको विभिन्न भागमा बोलाउने र उनको प्रवचन सुन्ने, साक्षात्कार गर्ने र सम्मान गर्ने चलनमा निकै विस्तार भएको थियो। देवकोटाको लेखनको जादु र धारा प्रवाह प्रभावशाली मन्तव्यले श्रोताहरू मन्त्रमुग्ध हुन्थे। देवकोटाको प्रभाव नेपाली समाजमा स्थापित भइसकेको थियो।
२०१० चैत १० मा रौतहट सदरमुकाम गौर बजारमा साहित्यिक–सांस्कृतिक समारोहको आयोजन गरिएको थियो। २००४ मा स्थापित शारदा पुस्ताकलय (२०१४ मा नाम परिवर्तन भएर कलाकुञ्ज पुस्तकालय बनेको)ले आयोजना गरेको साहित्यिक–सांस्कृतिक गोष्ठीमा नेपाली साहित्यमा ख्यातिप्राप्त लक्ष्मीप्रसाद देवकोटा र श्यामप्रसाद शर्माको सहभागिता रहेको थियो। अमलेखगन्जबाट शर्माले देवकोटालाई रौतहट सदरमुकामसम्म पुर्याएका थिए। शर्मा २००४ देखि नै रौतहट आवतजावत गरेकाले उनी रौतहटको बाटोघाटो तथा अन्य पक्षसित सम्बन्धित थिए। शर्मा, रौतहटको महम्मदपुरमा भएको नेपालको पहिलो किसान सम्मेलनमा पनि मकवानपुरको किसान प्रतिनिधिको रूपमा सहभागी भइसकेका थिए।
महाकवि देवकोटाको लेखनको जादु र धारा प्रवाह प्रभावशाली मन्तव्यले स्रोताहरू मन्त्रमुग्ध हुन्थे। विश्वभर नेपाली भाषा र साहित्यको विस्तार भइरहँदा महाकवि देवकोटाको जन्मदिवस साहित्य दिवसकै रूपमा मनाइन थालिएको छ।
मनमोहन अधिकारीका भाइ जनकमोहन अधिकारी नै सम्भवतः गौरमा माल अड्डाको हाकिम भएको बेला हुनुपर्छ साहित्यिक–सांस्कृतिक कार्यक्रम भएको। सम्भवतः कथाकार गुरुप्रसाद मैनालीको सरुवा पनि गौरबाट भइसकेको थिएन। र, कार्यक्रममा भारतका साहित्यिक–सांस्कृतिक टोलीको पनि सहभागिता थियो। भारतीय कवि रामदेव द्विवेदी ‘अलमस्त’को नेतृत्वमा भारतीय टोलीको सहभागिता थियो। सीमावर्ती नेपाली र भारतीय क्षेत्रका स्थानीय साहित्य तथा संस्कृतिमा परिचितहरूको सहभागिता हुने नै भयो। एक दृष्टिकोणले अन्तर्राष्ट्रिय साहित्यिक–सांस्कृतिक कार्यक्रम थियो त्यो।
कार्यक्रम आरम्भ हुनुभन्दा पहिले त्यहाँ भेला भएका केही युवकहरूले देवकोटासित प्रश्न सोध्न चाहन्थे। देवकोटाको ‘परोपकार’ पत्रिकामा प्रकाशित कविताको बारेमा जिज्ञासा राख्न चाहेका थिए युवाहरूले। वास्तवमा देवकोटासित औपचारिक संवाद गर्ने चाहना थियो युवाहरूको। पहिले त युवाहरूले श्यामप्रसाद शर्मासित प्रस्ताव गरे– कविताको अर्थ राम्ररी बुझिएन। शर्माले जबाफ दिए– ‘आज राम्रो मौका छ। कविजीसँग नै सोध्नुहो न।’ अनि देवकोटासित युवाहरूले प्रश्न गरे– ‘कविताको अर्थ राम्ररी स्पष्ट पारिदिनुहुन्थ्यो कि ?’
देवकोटालाई आफ्नो रचना दोहोर्याएर हेर्न फुर्सद पनि हुँदैनथ्यो। एउटा रचनाको साफी गरुञ्जेल अर्को रचना तयार भइसक्थ्यो। कुन भाव र मुडमा कस्तो सिर्जना भयो भन्ने मूल्यांकन गर्ने र परिमार्जन गर्ने फुर्सद देवकोटालाई नहुनु स्वाभाविक हो। उनले प्रश्नकर्तातर्फ नै ‘तपाईंको दृष्टिमा अर्थ के होला ? ’ भनी प्रश्न फर्काइदिए। महाकवि देवकोटाजस्तो विराट व्यक्तित्वहरूको विशाल उपस्थिति रहेको कार्यक्रममा देवकोटाका अगाडि कसैले कस्तो अर्थ राख्ने हिम्मत गरेका होलान्, अनुमान गर्न सकिन्छ। देवकोटाका अगाडि आफूले बुझेको अर्थ बताए। देवकोटा नेपाली, नेवारी, तामाङ, तिब्बती, हिन्दी, अंग्रेजी, बंगाली, जर्मन, फ्रेन्च, चिनियाँ, इटाली र रुसी गरी १३ भाषामा दक्खल थियो। कार्यक्रममा सहभागीहरू नेपाली वा हिन्दीमा बोले पनि देवकोटाले सम्पूर्णतः भाव नबुझ्ने कुरै थिएन।
‘परोपकार’ पत्रिका नेपाली भाषामा प्रकाशित हुन्थ्यो, मासिक रूपमा र सम्पादक थिए श्यामप्रसाद शर्मा। नेपाली भाषामा प्रकाशित कविताबारे युवाहरूले सोधेको प्रश्नको जवाफ युवाहरूबाटै सुनेपछि देवकोटाले प्रतिक्रिया जनाए– ‘यस्तो होला।’ अर्थात् देवकोटाले ‘सम्भावनार्थ सहमति’ जनाए। आफूले जबाफ दिएनन् वा दिन चाहेनन्। कुनै पनि रचनाको बारेमा बुझ्ने स्वतन्त्रता तथा सार्वभौमिकता पाठकमा हुनुपर्छ। पाठकमाथि लेखकको बोध हस्तक्षेप हुनु हुँदैन। स्वतन्त्रताप्रेमी देवकोटाले पाठकको अर्थबोधमा हस्तक्षेप गर्न चाहेनन्। उनी यस प्रकृतिका छँदा पनि थिएनन्। त्यत्ति बेलासम्म पूर्व–पश्चिम राजमार्ग बनिसकेको थिएन। देवकोटालाई शर्माले छिमेकी भारतीय बजार बैरगनियाबाट रेलको बाटो रक्सौलसम्म पुर्याए।
विश्वभर नेपाली भाषा र साहित्यको विस्तार भइरहँदा महाकवि देवकोटाको जन्मदिवस पनि लगभग साहित्य दिवसकै रूपमा मनाइन थालिएको छ। जुन कुनै नेपाली भाषामा पनि देवकोटाको प्रियता उत्तिकै छ। सम्पूर्ण नेपालीका प्रिय महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति युवाहरूको आकर्षण पहिलेदेखि थियो। र अहिले पनि उत्तिकै रहेको छ। सर्वाधिक प्रिय र निर्विवाद व्यक्तित्व महाकवि देवकोटाको सम्मान नवयुवाहरूमा अझ विस्तार भइरहनु सुखद पक्ष हो।
प्रतिक्रिया दिनुहोस !
