हरित सहर : चुनौती कि सम्भावना
पछिल्लो समय विश्वव्यापी रूपमै सहरीकरण द्रुत गतिमा बढिरहेको छ। गाउँमा भन्दा सहरमा शिक्षा, स्वास्थ्य र आर्थिक अवसर बढी हुने हुनाले मानिसको आकर्षण बढ्नु त स्वाभाविक नै हो। यद्यपि स्रोतको सीमित उपलब्धताबीच बढ्दो जनघनत्वका कारण मेक्सिको, अर्जेन्टिना, भारतलगायत कतिपय विकासशील देशका सहरहरूमा सुविधाभन्दा पनि ‘स्लम’ जस्तै अव्यवस्थित बस्तीहरूमा रूपान्तरित हुने खतरा बढिरहेको छ।
नेपालकै सन्दर्भमा पछिल्लो समय सहरी जनसंख्या उल्लेख्य रूपमा बढेको छ। केन्द्रीय तथ्यांक विभागको एक तथ्यांकअनुसार सन् २०११ मा १७ प्रतिशत जनसंख्या सहरवासी रहेकोमा सन् २०१७ मा आइपुग्दा ६६.८ प्रतिशत जनसंख्या सहरको रूपमा वर्गीकृत भूभागमा बसोबास गर्ने गरेको जनाइएको छ। बढ्दो सहरीकरणसँगै जनसंख्या वृद्धि, बढ्दो आवश्यकता पूरा गर्न हुने गरेका मानवीय क्रियाकलापले गर्दा सहरहरूमा प्रदूषण, भू–उपयोगितामा जथाभावी परिवर्तन, सवारीसाधनको चाप, स्रोतको दोहन र पर्यावरणीय क्षति ज्वलन्त रूपमा देखिन थालेको छ। यी र यस्तै सम्भावित समस्याहरूसँग जुध्न र वातावरणीय समस्याहरूलाई समाधान गर्दै सहरहरूलाई दिगो बसोबास योग्य बनाउन हरित सहरको अवधारणालाई सहरी विकासको योजनामा समाहित गर्न थालिएको छ।
हरित सहरको अवधारणा के हो ?: सहरी विकासको अवधारणा वातावरण, उपलब्ध स्रोत र साधन अनि भौगोलिक सुविधाहरूसँग अन्तरसम्बन्धित हुन्छन्। हरित सहरको अवधारणाले प्रकृति र सहरको अन्तरसम्बन्धलाई केन्द्रमा राखेको हुन्छ। हरित सहरको सहरी योजनामा वातावरणको दिगोपन, नवीकरणीय ऊर्जा, हरित पार्क र दिगो यातायातजस्ता कुराहरूलाई केन्द्रमा राखिएको हुन्छ। हरित सहरहरूमा कार्बन उत्सर्जन कम गर्ने संरचना निर्माण, जैविक विविधता प्रवर्द्धन र बासिन्दाहरूको गुणस्तरीय जीवनस्तरलाई टेवा पुग्ने गरी स्वच्छ हावा, पानी र समग्रमा वातावरणलाई सुनिश्चित गरिएको हुन्छ।
हरित सहरमा कार्बन फुटप्रिन्ट (मानव क्रियाकलापहरूले वातावरणमा उत्सर्जन गर्ने ग्रिनहाउस ग्यासहरूको कुल मात्रा) घटाउने कुरा त मध्यनजर गरिन्छ नै, यस्ता सहरका भौतिक पूर्वाधार र संरचना प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूसँग पनि जुध्न सक्ने खालका बनाइएका हुन्छन्। यसले गर्दा वर्तमानमा मात्र होइन, भविष्यसम्मलाई पनि बासिन्दाको गुणस्तरीय जीवनको सुनिश्चित गरिएको हुन्छ। हरित सहरको अवधारणाले प्रकृतिको हरियो रङ र सहरको छेउछाउ या बीचका स–साना पार्क र रुखबिरुवालाई मात्र संकेत गर्दैन। यो त सहरी विकासको समग्र अवधारणा हो। यसले सहरी वातावरणमा प्रकृतिको संरक्षण, पुनस्र्थापना र समायोजनको कुरा गर्छ। हरित पूर्वाधार हरित सहरका मुख्य आधार हुन्। हरित पूर्वाधार भन्नाले पार्क, बगैंचा, हरित छाना, हरित पर्खाल, वर्षा र भल व्यवस्थापन, सहरका बीच र अगलबगलमा प्राकृतिक खाली स्थान आदि बुझिन्छ। यस्ता पूर्वाधारले बासिन्दालाई आराम गर्ने, मनोरन्जन गर्ने र प्रकृतिको नजिक भएको महसुस गर्ने वातावरण प्रदान गर्छन्। हरियाली सहरहरूले स्वच्छ हावा प्रदान गरेर वायु प्रदूषण घटाउँछन्, जसले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। हरियाली क्षेत्रले सहरी ताप प्रभावलाई कम गर्छ र प्राकृतिक विपत्तिहरू जस्तै बाढी तथा गर्मी लहरबाट सुरक्षा प्रदान गर्छ। साथै, हरित सहरहरूले जैविक विविधता संरक्षण गर्दै सहरी जीवनशैलीलाई आरामदायी र सौन्दर्यपूर्ण बनाउँछन्।
हरित सहरको अवधारणामा हरित पूर्वाधारका अतिरिक्त नीति तथा कार्यक्रममा वातावरणमैत्री प्रविधि र निर्माण तथा उपभोग्य सामग्रीको अवलम्बन समेत पर्दछन्। नवीकरणीय ऊर्जा, प्रभावकारी फोहोर मैलाव्यवस्थापन, र दिगो यातायात प्रवद्र्धन पनि हरित सहर योजनाका महत्त्वपूर्ण भाग हुन्।हरित सहरका सिद्धान्तकारहरूले ग्रिन स्पेस, ग्रिन ट्रान्सपोर्ट, ग्रिन बिल्डी, ग्रिन इनर्जी, ग्रिन वाटर र ग्रिन वेस्ट गरी यी ६ वटा हरित अवयवहरूलाई हरित सहरका अभिन्न अंग मानेका छन्। हरित सहरको अवधारणामा उत्पादन र खपतको पनि सम्बन्ध रहन्छ। प्राकृतिक स्रोतको खपत घटाउनु र फोहोरमैला तथा कार्बन उत्सर्जन कम गर्नु पनि हरित सहरका लागि महत्त्वपूर्ण मानिन्छ।
हरित सहर निर्माणका चुनौतीहरू: हरित सहर आजको आवश्यकता हो। यसले सहरी वातावरणलाई दिगो बनाउँछ, सहरी जीवनस्तरलाई गुणस्तरीय र स्वस्थ राख्न मद्दत गर्छ। यद्यपि हरित सहर निर्माणमा केही चुनौती भने अवश्य छन्। हरित सहर निर्माणको योजना तर्जुमादेखि कार्यान्वयनसम्म नै अलि ठूलै लगानीको जरुरी पर्छ। नवीकरणीय ऊर्जा, सार्वजनिक यातायातका पूर्वाधार, हरित संरचना, वातावरण संरक्षणलाई ख्याल नगरी गर्ने परम्परागर विकासभन्दा महँगा र आर्थिक प्रतिफल तुरुन्त नआउने खालका छन्। हाम्रा सहरहरू तत्काललाई यो लगानी गर्न आर्थिक रूपमा तयार नहुन सक्छन्।
सहरमा जग्गाको मूल्य बढी, आवश्यकता बढी र जग्गाको उपलब्धता कम हुन्छ। फलस्वरूप भूपयोगिताका लागि तीव्र प्रतिस्पर्धा हुन्छ। यस्तो अवस्थामा घर, व्यापारिक भवन, बाटो बनाउन छाडेर र आफूले नाफा कमाउन छाडेर मानिसहरू पार्क र बगैंचाजस्ता सार्वजनिक चासोका संरचना जोगाउन र फैलाउन कम चासो राख्न सक्छन्। फलतः हरित सहरको सपना चुनौतीपूर्ण हुन पुग्छ। सहरीकरणको एउटा विश्वव्यापी जटिल समस्या जेन्ट्रिफिकेसन (रैथाने विपन्नहरूको विस्थापन) हो। गरिब बस्तीको नजिक हरित पूर्वाधार पनि कमै मात्रामा हुने गर्छन्। सामाजिक न्यायका दृष्टिले सहरी विकासको योजना तर्जुमा गर्दा यो विचारणीय पक्ष हो। हरित सहर निर्माण तथा विकासको लागि प्रविधि र नयाँनयाँ आविष्कारहरूसँग अध्यावधिक भइरहन पनि चुनौतीपूर्ण हुन्छ। खासगरी पुनर्विकरणीय ऊर्जा, पर्यावरण मैत्री यातायात, सहरमा पानी तथा ढल व्यवस्थापन, वर्षाको भल व्यवस्थापन आदिका प्रविधि, ती प्रविधिसँग जोडिएर आउने आर्थिक भार र तिनलाई आवश्यक पर्ने तथ्यांक व्यवस्थापन पनि सहरी योजनामा थप चुनौतीका विषय हुन्।
यिनका अलावा हरित सहरका लागि जनसहभागिता र सहरबासीको व्यवहार परिवर्तन पनि उत्तिकै जरुरी छ। सुविधाभोगी जमानामा सहरका बासिन्दा, व्यवसायी र उद्योगीहरूलाई व्यक्तिगत सवारी साधनको प्रयोग घटाउन, परम्परागत ऊर्जा छोडेर नवीकरणीय ऊर्जा अवलम्बन गर्न, पानी व्यवस्थापन, दिगो स्रोत व्यवस्थापनका लागि पुनर्प्रयोग, फोहोरमैलाको व्यवस्थापनजस्ता कामहरू झन्झटिला र बोझिला लाग्न सक्छन्। बढ्दो उपभोक्तावादी जमानामा प्रकृति मैत्री र मितव्ययी जीवन कतिपयको छनोटको विषय नहुन पनि सक्छ। अहिले नै आफूले नै सुविधा भोग गर्न प्रतिस्पर्धा गरिरहेका मानिसलाई भावी पुस्तासम्मलाई हुने गरी सोच्ने र जोगाउने कुरा सोच बाहिरको कुरा हुन सक्छ। जनचेतना, जनसमर्थन र जनसहभागिता बिना यी काम सजिला छैनन्। जसको अभावमा हरित सहरको परिकल्पना कार्यरूपमा उतार्न सजिलो छैन।
नेपालमा बढ्दो सहरीकरण र हरित सहरको सम्भावना: नेपाल दक्षिण एसियाको द्रुत गतिमा सहरीकरण भएका देशमध्ये पर्छ। नेपालको सहरीकरण मूलतः दुई किसिमले भएको पाइन्छ। पहिलो गाउँका मानिस अवसरको खोजीमा बजार केन्द्रहरूमा बसाइँ सरेर पछिल्लो समय सहरीकरण व्यापक भएको छ। यो प्राकृतिक तरिकाको सहरीकरण हो। अर्को चाहिँ देश संघीय संरचनामा प्रवेश गरेपछि सरकारले धमाधम नगरपालिका घोषणा गरेका कारण सहरको संख्या बढेका छन्। सन् २०१४ को मे सम्म नेपालमा ५८ नगरपालिका थिए भने सन् २०२२ को अगस्टसम्म आइपुग्दा ७ सय ५३ स्थानीय निकायमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका बनेका छन्। तिनका कतिपय ‘सहर’हरूमा सहरका लागि आवश्यक पूर्वाधार संरचना र सेवाहरूसमेत छैनन्। ती नयाँ ‘सहर’ हरूमा पक्की सडक, बिजुली, खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन, सार्वजनिक यातायात आदि पुग्न सकेका छैनन्। कतिपय ठाउँहरूमा त अव्यवस्थित सहरीकरणका कारणले सुकुम्बासीकरण र ‘स्लम’ जस्तै अस्थायी बस्तीको वृद्धि, आवास, खानेपानी र सरसफाइको अभाव, जथाभावी भूउपयोग र आर्थिक असमानता समेत बढेर व्यवस्थित विकासमा चुनौती थपिएका छन्।
काठमाडौं, पोखरा, भरतपुर, ललितपुर, वीरगन्ज, विराटनगर, धनगढी आदि सहरहरू प्राकृतिक तरिकाले नै घना बस्ती बसिसकेका सहर हुन्। यी सहरहरूमा बढ्दो सहरीकरणसँगै वायु प्रदूषण, ढल तथा फोहोरमैला व्यवस्थापन, खुला प्राकृतिक स्थानहरूको अभाव, सार्वजनिक यातायात पूर्वाधारको कमी आदि चुनौतीका रूपमा बढिरहेका छन्। यी चुनौतीसँग जुध्न र सहरहरूलाई स्वस्थ र बस्न योग्य बनाउन हरित सहरको अवधारणा नीतिगत रूपमै अवलम्बन गर्नु समग्र समाधानको बाटो हुन सक्छ। बुद्धिमतापूर्ण तरिकाले हरित सहरको योजना गर्न सकियो भने यसले सन्तुलित सहरी विकास, दिगो प्राकृतिक वातावरण, जनस्वास्थ र सामाजिक न्यायसमेत ल्याउन सक्छ।
हरित सहरको योजना भनेको सहरलाई प्रकृतीकरणको प्रयास गर्ने हो। प्रकृतिलाई सहरीकरण गर्ने होइन। यो एक किसिमको दीर्घकालीन योजना पनि हो। हरित पार्कहरूको निर्माण, हरित पूर्वाधारको वृद्धि खासगरी जमिनको सम्पूर्ण सतह कंक्रिटको जंगल बनाउनुभन्दा पनि वर्षा र भलपानी सोस्ने गरी निश्चित प्रतिशत ढुंगामाटोले ढाकेको प्राकृतिक सतह छोड्ने, वर्षाको पानी संकलन, साइकल यात्री र पैदल यात्रीमैत्री बाटोघाटो, सुलभ र सकेसम्म नवीकरणीय ऊर्जाको प्रगोग हुने सार्वजनिक यातायात, सौर्य ऊर्जा, जलविद्युत्जस्ता नवीकरणीय ऊर्जामा लगानी र विस्तार, हरित सहरका लागि केही महत्त्वपूर्ण योजना हुन्। नागरिकको चेतना र व्यवहार परिवर्तन पनि हरित सहरका लागि उत्तिकै महत्त्वपूर्ण छन्।
हाम्रा सहरहरूलाई एकाएक डेनमार्कको कोपेनहागेनजस्तो साइकलको सहर बनाउन नसकिएला, स्विडेनको स्टकहोमजस्तो फोहोरमैला व्यवस्थापनमा नमुना बनाउन नसकिएला, सिंगापुरजस्तो सहरी विकास र प्रकृति संरक्षणको कुशल संयोजनबाट बगैंचामा सहर बनाउन नसकिएला, भ्यानकुभर जस्तो धूमधाम पर्यामैत्री बनाउन नसकिएला। तर हामीलाई प्रकृतिले धेरै कुरा दिएको छ। दीर्घकालीन योजना र प्रतिबद्धता साथ प्राप्त साधन र स्रोतको बुद्धिमतापूर्ण प्रयोग गरेर हरित सहरको सपना साकार पर्न सकिन्छ। सिंगापुरकै कुरा गर्ने हो भने पनि सन् १९६० को दशकसम्म अहिलेको जस्तो सफा र हरियाली सहर थिएन।
गतिशील र दूरदर्शी नेतृत्व भयो भने हरित सहर र दिगो विकासको अवधारणा लागू गर्दाा आर्थिक विकास र गुणस्तरीय जीवन उत्कृष्ट बन्न थाल्छ। वातावरण संरक्षण र सहरी विकासलाई एकाकार गरेर लान सकियो भने आधुनिक प्रविधि र विकाससँगै सहरहरूलाई वातावरणमैत्री स्थलको रूपमा विकास गर्न सकिन्छ अनि सुन्दर सहरमा समृद्ध र स्वस्थ जीवन जिउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस !