सरकार भ्रष्टाचारीको सेवामा तल्लीन छ : दाहाल
मकवानपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संख्याको बलमा एमाले-कांग्रेसले भ्रष्टाचारी बचाउन सरकार बनाएको बताएका छन्।
शनिबार वाइसीएल थाहा नगर, मकवानपुरको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले दलाल भ्रष्टाचारीले एमाले-कांग्रेसको सरकार बनाएकाले उसैको सेवामा सरकार लागेको दाबी गरे। आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम उल्ट्याउने प्रयास भइरहेको उनको भनाइ छ। अहिलेको सरकारलाई उज्यालो मन नपरेको र उज्यालोबाट देशलाई अँध्यारोमा लाने प्रयास भइरहेको दाहालले बताए।
कार्यक्रममा बोल्दै नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटाले सरकार भ्रष्टाचारको दलदलमा फसेको र सरकारको रबैयाले जनतामा चरम निराशा पैदा भएको बताए। माओवादी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका पूर्व मन्त्री कुमारी मोक्तानले माओवादी सरकारले बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको मान्यता दिएको बताइन्।