भूकम्पको पीडा अझै उस्तै, तत्काल पुनर्निर्माणको काम गर्न माग
रुकुमपूर्व : रुकुमपश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा रुकुमपश्चिम र जाजरकोटका स्थानीय तहका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माणको काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउँदै जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्दा प्रभावित ठाउँका जनताहरू संकटमा परेको भन्दै रुकुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, चन्द्रबहादुर विश्वकर्मा र कल्पना मिया, रुकुमपश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य तथा कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा तथा रुकुमपश्चिम र जाजरकोटका स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल पुनर्निर्माणको माग गरेका छन् ।
हालसम्म पनि भूकम्प पुनर्निर्माणसम्बन्धी कार्यविधि जिल्ला विपद् व्यवस्थापन समितिमा नपुग्नु दुःखद् भएको भन्दै कार्यविधि तत्काल उपलब्ध गराइदिन माग गरिएको छ । त्यस्तै पुनर्निर्माण गर्ने निकायलाई तत्काल पुनर्निर्माण क्षेत्रमा कार्यालय स्थापना गरी पुनर्निर्माणको कार्य प्रारम्भ गर्ने सुनिश्चितता गरिदिन पनि माग गरिएको छ ।