कप्तान पूजा महतो ५१ हजारसहित सम्मानित
महोत्तरी : नेपालकी यु–१९ महिला टोलीकी कप्तान पूजा महतोलाई ५१ हजार नगदसहित गृहजिल्ला महोत्तरीको गौशालामा सम्मान गरिएको छ।
नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति महोत्तरीले उक्त सम्मान क्रिकेट खेलाडी पूजालाई घरमै पुगेर प्रदान गरिएको हो। पूजाको घर गौशाला नगरपालिका वडा नम्बर ९ डुमरवनामा पर्छ।
‘आईसीसी यु-२० विश्वकम छनौट प्रतियोगितामा नेपाली टिमको कप्तान भई आफू आफ्नो समुदाय र राष्ट्रको नाम विश्वसामु चिनाउन सफल हुनुभएकोमा हामी गौरवान्वित भएका छौं’ समाजमा जिल्ला अध्यक्ष विजय महतोले हस्ताक्षर गरेको सम्मानपत्रमा उल्लेख छ।
संयुक्त अरब इमिरेट्समा आयोजना भएको एसियाली छनोट प्रतियोगिता जित्दै नेपाल सन् २०२५ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा प्रवेश पाएको थियो। आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्सलाई स्तब्ध पारेको थियो। प्रतियोगिताभर उनले कप्तानी इनिङ खेलेकी थिइन्। जसमा दुई सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन्।