‘सेबोन अध्यक्ष श्रेष्ठलाई पुँजीबजारको स्वागत’
![‘सेबोन अध्यक्ष श्रेष्ठलाई पुँजीबजारको स्वागत’](https://annapurnapost.prixacdn.net/media/albums/SEBON3_BPUmJ5SgRd_KRzop8FH4Y.jpg)
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएसँगै मंगलबार सेयरबजारमा पनि हरियाली छाएको छ। ११ महिना रिक्त रहेको बोर्डमा नेतृत्वको अभावले निरुत्साहित भएको पुँजीबजारले उनी आएसँगै स्वागत गरेको लगानीकर्ताहरूको भनाइ छ।
धितोपत्र बोर्डको नयाँ नेतृत्व आएसँगै सेयरबजार मंगलबार दोहोरो अंकले बढेर बन्द भयो। सरकारले अध्यक्ष नियुक्ति गरेका दिन अर्थात् अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक १५.८३ अंकले बढेको थियो। अझ भोलिपल्ट मंगलबार नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुग्यो। यसदिन सेन्सेटिभ इन्डेक्स ४.५० अंकले बढेर ४७७.५७ बिन्दुमा अडियो। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढ्यो । सो दिनमात्रै १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर ७ अर्ब ४४ करोड ९ लाख ९ हजार ९ सय ८७ रुपैयाँ खरिदबिक्री भयो।
जबकि अघिल्लो दिन ६ अर्ब ३४ करोड मूल्यबराबरको सेयर कारोबार भएको थियो। यसैगरी उक्त दिन तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। जस्मा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीएल मार्दी आरबी हाइड्रोपावर कुथेली बुखार स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। मिथिला लघुवित्त वित्तीय संस्थाको ९.६२ र अपर हेवाखोला हाइड्रोपावरको सेयर ८.८० प्रतिशतले बढ्यो। अझ नेपाल फाइनान्सले ४५ करोड मूल्यबराबरको सेयर कारोबार गरी शीर्ष स्थानमा रहन सफल भयो। समग्रमा मंगलबार मात्रै कारोबारमा आएका २ सय ११ कम्पनीको मूल्य बढ्दा ३२ वटाको घट्यो। यस्तै एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो भने सबै समूहको उपसूचकमा हरियाली छायो।
लगातार बजार घटेर करेक्सन भइसकेकोले मंगलबार बढेसँगै अब बल्ल सेयरबजार माथि जाने लाइनमा देखिएको अनुमान गर्छन्, सेयर लगानीकर्ता संघ, नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल। यद्यपि यसलाई झन्डै वर्षदिनदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष पदमा श्रेष्ठ नियुक्त भएकोमा पुँजीबजारले उनलाई स्वागत गरेकोको अर्थमा लिन सकिने फुल्लेलको भनाइ छ। सामान्यतयाः सेयरबजार सधैं घटिरहने र सधैं बढिरहने होइन, यसको नेचर भनेकै घटबढ हुने हो।
यसर्थ अहिलेसम्म घटेको बजार अब बल्ल बढ्ने लाइनमा आएको उनको तर्क छ। ‘बजारमा लगानीयोग्य पुँजी (तरलता) प्रशस्त छ। ब्याजदर घट्दो क्रममा छ। सेयरबजार र ब्याजदरबीच विपरीत सम्बन्ध हुन्छ। बजार बढ्न नसक्नुको कारण सेबोनको अध्यक्ष लामो समयदेखि नहुनु पनि हो,’ संघका कार्यवाहक अध्यक्ष फुल्लेलले अन्नपूर्णसँग भने। यसबीच बोर्ड अध्यक्ष नभएका कारण पाइपलाइनमा रहेका थुप्रै कम्पनीको आईपीओ आउन सकेका थिएनन्। प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ)मार्फत लगानीगर्नेहरू लगानीबाट वञ्चित थिए। अध्यक्ष आएसँगै अब थप लगानीकर्ताको सक्रियता बढ्ने उनले बताए। ‘यता राजनीतिक दलहरूले बलियो सरकार बनाएका छन्। मुलुकमा आर्थिक सम्पन्नता ल्याउनेमा उनीहरूको ऐक्यबद्धता देखिन्छ। यसले पनि सहज वातावरण हुने भएकाले पुँजीबजार बढ्न सक्छ,’ उनले थपे। अहिले सरकारदेखि, नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका नेतृत्व बलियो हुने यावत् कारणले गर्दा सेयरबजार बढ्ने संघका कार्यवाहक अध्यक्ष फुल्लेलको आकलन छ।
सेबोनका अध्यक्ष श्रेष्ठद्वारा शपथग्रहण
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथग्रहण गराएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो।
कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुल्ला रूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजीबजारका क्षेत्रमा रहेका यावत् समस्याहरूलाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले पुँजीबजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशील ढंगले काम गर्ने विश्वास व्यक्त गरे।
अर्थमन्त्री पौडेलले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरूलाई चिर्दै पुँजीबजारको विकासमा महŒवपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गरे। यसैक्रममा नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजीबजारमा रहेका समस्याहरूलाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)