चिनियाँ सेनाको कब्जामा रहेको भू–भागमाथि विजय प्राप्त गरेको वा जितेको कारण यस ठाउँको नाम जितपुर रहन गएको हो र पहाडको फेदमा भएकाले यसलाई जितपुरफेदी भनिएको हो।
कुनै बेला गुल्जार मानिएको जितपुरफेदी बजारले असन र इन्द्रचोकलाई समेत बिर्साउँथ्यो । तीसको दशकमा जब यहाँका स्थानीय एकाएक अन्यत्र बसोबास गर्न पुगे, तब गुल्जार रहेको यो स्थान उजाड बन्न पुग्यो । धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको यो स्थान तीसको दशकपछि नै एकाएक उपेक्षित बन्न पुगेको हो ।
जब बीसको दशकमा काठमाडौं त्रिशूली सडकको निर्माण भयो, तब जितपुरफेदी बजारको भाग्य खोसिन पुग्यो । त्यसपछि क्रमश: मरुभूमिमा हराएको यात्री झैं एक्लो बन्न पुग्यो । त्यसपछि केही समययता फेरि यो स्थान आफ्नो प्राचीन विरासत जोगाउन प्रयासरत छ । यहाँ भएका कैयन् सम्पदाले आफ्नो अस्तित्व गुमाइसकेका छन् ।
स्थानीयहरू बसाइँ सरेर अन्यत्र लाग्दा यहाँको सांस्कृतिक चालचलन र जात्रा परम्परा पनि प्रभावित बन्न पुगेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा पाँचमाने भन्ज्याङको पूर्वतिर तारकेश्वर नगरपालिकाको वडा नं ३ मा रहेको जितपुरफेदी बजार अचेल प्राय: सुनसान देखिन्छ । अहिले यो स्थल तारकेश्वर महादेव र पाँचमाने चैत्य घुम्न आउने पर्यटकको स्वागतमा फिका मुस्कान छर्न विवश छ ।
जितपुरफेदीको नामकरण : जितपुरफेदीको नामकरणलाई केलाउँदा नेपाल र भोटबीच भएको युद्धको प्रसंग उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । रणबहादुर शाहको पालामा नेपाली फौजले चिनियाँ फौजलाई काठमाडौं उपत्यका पस्न नदिई चातुर्यतापूर्वक लडाइँ गरी जितेको ठाउँ (पुर)बाटै यसको नाम रहन गएको हो ।
बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रूपरेखा नामक पुस्तकमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाहको पालामा नेपाल र भोटबीच भएको सन्धिलाई भोटले उल्लंघन गरी नेपालतिर आक्रमण गर्यो । त्यसको बदलामा नेपाली सेनाले भोट पुगी त्यहाँबाट सम्पत्ति लुटेर ल्याउनुका साथै केही पदाधिकारीलाई कैदसमेत गरे । त्यसकारण वि.सं. १८४८ (इ.सं. १७९२) मा भोटको रक्षा गर्न भनी हजारौं चिनियाँ सेना भोट आए । त्यसक्रममा उनीहरू बेत्रावती, खरानीटार, थानसिङ, ककनी हुँदै पाँचमानेतिर बढे । नेपाली सेना पनि पाँचमाने वरपर तैनाथ थिए । त्यति नै बेला काठमाडौं उपत्यकाको संरक्षणार्थ सरकारी ढुकुटी, गरगहना र बहुमूल्य पदार्थहरू मकवानपुर पठाइयो ।
वि.सं. १८४८ (इ.सं. १७९२ सेप्टेम्बर १९) को रात चिनियाँ तथा भोटका सेनाबिना अवरोध पाँचमाने आइपुगे । त्यतिबेला नेपाली सेनाले बडो चलाखीपूर्वक जंगलका बुट्टाहरू र तल फेदी वरपरका घरेलु जनावरका सिङमा समेत राँकाहरू बाँधी छोडियो । त्यसपछि चिनियाँ सेनाहरू आफू चारैतिरबाट घेरिएको महसुस गर्दै त्यहाँबाट उत्तरपश्चिमतिर नै फर्किए ।
नेपाली सिपाहीले उनीहरूलाई बेत्रावतीसम्म लखेटे । यसरी चिनियाँ सेनाको कब्जामा रहेको भू–भागमाथि विजय प्राप्त गरेको वा जितेको कारण यस ठाउँको नाम जितपुर रहन गएको हो र पहाडको फेदमा भएकाले यसलाई जितपुरफेदी भनिएको हो ।
जितपुरफेदीको विवादित इतिहास ? : यहाँस्थित सिद्धेश्वर महादेव मन्दिरको शिलालेखमा उल्लेख भएअनुसार नेपाल र तिब्बतबीचको युद्ध बेत्रावती किनारामा भएको तर जितपुरफेदीमा नभएको फरक मत पनि पाइन्छ । कृष्णप्रकाश श्रेष्ठले ‘स्थाननाम कोश’ नामक पुस्तकमा नेपाल–चीन युद्धमा नेपाली फौजले चिनियाँ फौजलाई हराएको स्थानमा पहाडको फेदीमा बसेको सहर हुनाले जितपुरफेदी रहन गएको भनी उल्लेख गरेका छन् ।
बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रूपरेखा पृष्ठ २४३ मा पनि सोही उद्धरण दिइएको छ । तर उक्त युद्ध जितपुरफेदीमा नभई बेत्रावतीमा भएको तथ्य बाबुराम आचार्यको नेपालको संक्षिप्त वृत्तान्त पृ. १००, चित्तरञ्जन नेपालीको श्री ५ रणबहादुर शाह पृ. १०२ र ऐतिहासिक पत्रसंग्रहको पृ. ७१ मा सप्रमाण दिइएको छ । उक्त तथ्यले नेपाल–भोटबीच युद्ध जितपुरफेदीमा नभएको देखिन्छ । यदि उक्त युद्ध जितपुरफेदीमा नभएको भए युद्ध उक्त स्थानको नामकरण कसरी जितपुरफेदी रहन गयो त ? त्यसैले उक्त तथ्यलाई आधार मान्ने हो भने जितपुरफेदी नामकरण असत्य र अपुष्ट ठहरिन्छ । उक्त शिलालेखमा उक्त सन्दर्भ केका लागि उल्लेख गरियो र त्यसरी इतिहासलाई किन विवादित बनाउन उक्त शिलालेख राखिएको हो ? सोको पुष्टि हुन सकेको छैन । उक्त शिलालेखमा उल्लेख गरिएको तथ्यले ऐतिहासिक जितपुरफेदीको नामकरणमा नै विवादको स्थिति सिर्जना गरेको देखिन्छ ।
पुरातात्विक सम्पदा : जितपुरफेदी बजारमा प्राचीन सम्पदा थुप्रै छन् । त्यसमध्ये प्रमुख सम्पदाका रूपमा सिद्धेश्वर महादेवलाई पनि लिन सकिन्छ । जुन जितपुरफेदी बजारको पूर्वपट्टि महादेव खोलाको किनारमा छ । पुरातत्त्व विभागले जीर्णोद्धार गरेको यस मन्दिरको निर्माणपश्चात् यस भेगको महत्त्व झन् बढ्न पुगेको हो । महादेव खोलाको बायाँमा ठूलाठूला ढुंगाको बीचमा रहेको उक्त मन्दिर संरक्षणका लागि पाटी बनाउने क्रममा मन्दिरको प्रांगणमा इँटाको गारो भेटिएको थियो । त्यहाँ रहेको शिवलिंगलाई लिच्छविकालीन मानिन्छ । उक्त मन्दिर १९९७ सालमा निर्माण भएको हो ।
त्यस्तै, सिद्धेश्वर महादेव मन्दिर निर्माण समितिको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाबाट बजेट विनियोजित भई आव २०५८/५९ मा पुरातत्त्व विभागलाई निर्माणको जिम्मा सुम्पिएको देखिन्छ । मन्दिर निर्माणका क्रममा त्यतिबेला दक्षिणपश्चिममा पुरानो जगको इँटामा २१ वटा लिच्छविकालीन मुद्रासमेत फेला परेका थिए ।
जितपुरफेदी बजारको बीचमा एउटा प्राचीन चैत्य छ । जसको निर्माण महामञ्जु श्रीले गरेको भन्ने किंवदन्ती पाइन्छ । उक्त प्राचीन चैत्यनजिकै नेपाल सम्बत् ९४५ उल्लेख शिलालेखसमेत रहेको छ भने त्यसको नजिकै प्राचीन ढुंगेधारा, गणेश मन्दिर, नाट्येश्वर मन्दिर र विद्यालय पनि छन् । यहाँ रहेको महत्त्वपूर्ण मन्दिरमध्येको नाट्येश्वर मन्दिरमा नेवारी समुदायले नयाँकुराको थालनी गर्दा वा नाचगानको शुभारम्भमा नाट्येश्वरको पूजाअर्चना गर्ने प्राचीन चलन विद्यमान छ ।
मल्लकालीन शिलालेखयुक्त ढुंगेधारा : जितपुरफेदी बजार र यसको वरपर प्राचीन ढुंगेधारा पनि छन् । फेदीबजारमा रहेको ढुंगेधारामा पानी आउँदैन भने बजारको अलिकतिमाथि रहेको ढुंगेधाराबाट पानी बगेको देख्न सकिन्छ । जुन ढुंगेधाराको माथिल्लोपट्टि प्राचीन शिलालेख पनि छ । जुन शिलालेखको सम्बत् स्पष्ट नभए पनि यो मल्लकालीन भएको अनुमान लगाउन सकिन्छ ।
पश्चिम नेपालको भ्रमण गर्ने कैयन् यात्रुले यस धाराको पानीले प्यास मेटाएका होलान् । काठमाडौं उपत्यकाको सुन्दर दृश्यपान पनि गर्न सकिने यस मल्लकालीन ढुंगेधारा भएको यस स्थानमा रहेको शिलालेखले जितपुरफेदीको थप रहस्य बोकेको सम्भावना आकलन गर्न सकिन्छ ।
पश्चिमाञ्चल जाने मुख्य नाका : ‘समय निक्कै बलवान् हुँदो रहेछ । परिवर्तनका सामु कसैको केही लाग्दो रहेनछ । २०१५ सालपूर्व जितपुरफेदी बजारको निक्कै आकर्षण थियो’ स्थानीय ९१ वर्षीया सुवर्णलक्ष्मी विगत सम्झँदै भन्नुहुन्छ । ‘यो नुवाकोट, धादिङ, लमजुङ, गोर्खासम्मको व्यापारिक मार्ग पनि हो । त्यतिबेला आवतजावत गर्ने मानिसको घुइँचो लाग्ने यो बजार अहिले सुनसान छ । हिजोको त्यौ रौनक र आजको सुनसान देख्दा सपना हो जस्तो लाग्छ ।
त्यतिबेला नुनदेखि सुनसम्म पाइने जितपुरफेदी बजारको रौनक इन्द्रचोक र असनको भन्दा कम थिएन’ ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटारका प्रा.श्यामकुमार देवकोटा बताउँछन् । उनका अनुसार टाढाटाढाबाट मानिसहरू सामान किनबेच गर्न यहाँ आउँथे । यो मुख्य व्यापारिक केन्द्र नै थियो । कुनै बेला ज्यादै गुलजार जितपुरफेदी बजार अहिले बाटो बिराएको यात्री झैं बन्न पुगेकोमा चिन्ता गर्छन्, सूर्यबहादुर श्रेष्ठ । जितपुरफेदी बजारमा असन र इन्द्रचोकका झैं दुबैतिर घर थिए । विभिन्न प्रकारका पसल, टाढाटाढाबाट किनबेच गर्नेको लर्को लाग्दा र अहिले यो स्थान सुनसान देख्दा समयको
प्रवाह कसैले छेक्न नसक्ने र यो अनौठो पनि हुँदो रहेछ भन्ने कुरा सूर्यबहादुर बताउँछन् ।
विगतमा नेपालको पश्चिमाञ्चलतिर जाने एकमात्र मूलमार्ग रहेको त्यतिबेलाको चर्चित स्थान अहिले सुनसान देखिन्छ । १९२८ सालअघि स्याङ्जादेखि काठमाडौं आउँदा मूलबाटोमा नुवाकोट, पोखरा, सातमुहाने, सिसाघाट, सोतीपसल, कुन्छा, मानेचौका, बाह्रपिर्के, खोपलाङ, जोरकाटे, जरेवर, निमेल दोभान, बोरलाङघाट, हाँसेको पसल, निवेल दोभान, पन्ध्रकोसे, चरङ्गेको फेदी, भर्याङभुरुङ, सामरी, त्रिशूली, बट्टार, रानीपौवा, बस्नेतपौवा, जितपुर, धर्मस्थली, डुक्रनेपानी र बालाजुबाट गुज्रनु पथ्र्यो भनी सरदार भीमबहादुर पाँडेले त्यसबखतको नेपाल पुस्तकमा समेत उल्लेख गरेका छन् । जजसले त्यतिबेला यस स्थलबाट यात्रा गरेका थिए, तिनीहरूका स्मृतिमा जितपुरफेदीको सजीव तस्बिर सजिएको छ । त्यहाँबाट यात्रा गर्ने लेखकले विभिन्न प्रसंगमा यस ठाउँको उल्लेख गरेको छ ।
त्यस्तै, लिच्छवि र मल्लकालमा नेपालको पश्चिमतिर जाने र आउने प्रमुख नाकाका रूपमा जितपुरफेदीको उल्लेख भएको पाइन्छ । शाहकालमा पनि यो स्थल प्रमुख व्यापारिक मार्गकै रूपमा प्रख्यात थियो । पृथ्वीनारायण शाहले उपत्यका विजय गर्नुपूर्व नुवाकोट ककनी हुँदै यही ठाउँबाट उपत्यका प्रवेश गरेका थिए । प्रत्येक वर्ष एकता दिवस तथा पृथ्वी जयन्तीमा हुने एकीकरण पदमार्ग यात्राले पनि यसको महत्त्व झन् बढ्न पुगेको देखिन्छ ।
इतिहासमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाहले प्रमुख व्यापारिक मार्ग भएका कारण सबैभन्दा पहिले नुवाकोट जित्ने प्रयत्न गरेका थिए । ज्ञानमणि नेपालले ‘नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष’ नामक पुस्तकमा खलितापत्र र सरसौगातहरू आउँदा ठूलो उत्सव मनाइने, यहाँका उच्च भारदारहरू पल्टन लिएर जाने बालाजुदेखि नाचगानबजान गर्दै हात्तीमा चढाएर ल्याएर यो खलिता भिœयाउने र तोपको सलामी दिइने कुरा उल्लेख गरेबाट उक्त खलितापत्र र सरसौगात पाँचमाने जितपुरफेदी धर्मस्थली डुक्रनेपानी हुँदै बालाजुसम्म आउने प्रस्ट हुन्छ ।
त्यस्तै, १८४६ सालदेखि चीनमा प्रतिनिधि मण्डल पठाउने उपक्रम भयो । नियमित रूपले पाँच वर्षमा अर्जी सौगात लिई प्रतिनिधिमण्डल बादशाहको दर्शन गर्न पेचिन पुग्ने प्रथा सुरु भयो । यसरी चीन जाने प्रतिनिधिमण्डल फर्केर आउँदा केरुङको बाटो गरी नुवाकोटको चतुराले हुँदै बालाजु आउने चलन थियो । यसरी उक्त मार्गबाट आउँदा जितपुरफेदी धर्मस्थलीकै बाटो भएर आउनु पथ्र्यो । प्रमुख तीर्थस्थल तारकेश्वर महादेवको दर्शन गर्न जाने प्रमुख मार्गका रूपमा पनि जितपुरफेदी बजारलाई नै लिइन्छ ।
त्यसैले, कैयन् स्वदेशी तथा विदेशी लेखकले आफ्नो संंस्मरणमा जितपुरफेदी, पाँचमाने र धर्मस्थलीको महत्त्व, ऐतिहासिक प्रसंग उल्लेख गरेका छ्न् । तत्कालीन राजा महेन्द्र २०१७ सालतिर पश्चिमाञ्चलको भ्रमणका क्रममा यहाँ केही समय वि श्राम गरी पश्चिमतिर लागेका थिए । त्यतिबेला नै चर्चित भएको यस स्थानमा पछि राजा महेन्द्रको सालिक राख्ने कुरा उठेको थियो । विवादका कारण उक्त सालिक त्यहाँ नराखी प्रज्ञा प्रतिष्ठानमा लगेर राखिएको स्थानीय बताउँछन् ।
अन्तर्राष्ट्रिय मार्ग : यो स्थल धार्मिक, सांस्कृतिक, सामरिक दृष्टिले महत्त्वपूर्ण मार्गका रूपमा परिचित छ । एक हजार वर्ष पहिले नालन्दा विश्वविद्यालयका बौद्धभिक्षु अतीस दीपङ्करले भोटयात्राका क्रममा यसै स्थानको पाँचमाने हुँदै तिब्बतसम्मको यात्रा पूरा गरेका थिए । त्यस्तै, भृकुटीको बिदाइ पनि यही मार्ग हुँदै गरिएको र अरनिको पनि यही मार्गबाट तिब्बततिर लागेका हुन् भन्ने कुरा सत्यमोहन जोशीले कलाकार अरनिको पुस्तकमा उल्लेख गरेका छन् ।
जगत्गुरु शंकराचार्य पनि यही बाटो हुँदै तिब्बत प्रस्थान गरेको कुरा इतिहासमा पाइन्छ । कर्नेल कर्कप्याट्रिकले यस स्थलबाट नै नेपाली सेना भोट तिब्बतसँग युद्ध गर्न अगाडि बढेको भन्ने कुरा उल्लेख गरेका छन् । बेल्जियमका अनुसन्धानविद् तथा लेखक ह्युवर्ट डिक्लियरले पनि यस स्थलको भ्रमण गरेका थिए । समग्रमा यो स्थान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले महत्त्वपूर्ण मार्ग रहेको प्रतीत हुन्छ ।
लोपोन्मुख सांस्कृतिक परम्परा : बसाइँसराइँका कारण थुप्रै कुरा प्रभावित हुन्छ भन्ने कुराको पछिल्लो ज्वलन्त उदाहरण नै जितपुरफेदी बजार बनेको छ । जो इतिहासको साक्षी बनेर उभिएको छ । अचेल यहाँका मठमन्दिरमा भक्तजनको त्यति भीड लाग्दैन । यहाँ कुनैबेला धूमधामले मनाइने जात्रा र परम्परालाई अहिले थोरै मानिसले निरन्तरता दिइरहेका छन् । यहाँका जात्रा र अन्य संस्कृति लोप हुँदै जानुमा जनशक्तिको अभाव र बसाइँसराइँ नै मुख्य कारण भएको ठान्छन्, संस्कृतिविद् श्रेष्ठ । उनका अनुसार जितपुरफेदी बजारबाट बसाइँसराइँ गरेका स्थानीयहरू डुक्रनेपानी हुँदै बालाजुतिर बसोबास गरी व्यापारमा तल्लीन भएका कारण पनि यस ठाउँबाट धेरै संस्कृति क्रमश: लोप हुन पुगेका हुन् ।
परम्पराको निरन्तरता : जितपुरफेदी बजारमा मनाइने विभिन्न जात्रा र परम्परा क्रमश: लोप हुँदै जानुको मुख्य कारण नै यहाँ बसोबास गर्ने अधिकांश नेवारी समुदाय अन्यत्र गएर बसोबास गर्नुलाई मुख्य मानिन्छ । श्रेष्ठका अनुसार यहाँ बसोबास गर्ने केही नेवारी समुदायका सदस्यले भने स्थानीय गणेशजात्रा र परम्परालाई निरन्तरता दिइरहेका छन् ।
खासगरी यहाँ बसोबास गर्ने अधिकांश मानिस बालाजु झरेपछि त्यहाँ भएका परम्परा र चालचलन ओझेलमा पर्न पुगेको कुरा जितपुरफेदी बजारबाट बालाजु पुगेका स्थानीय पुष्प मानन्धर स्वीकार्छन् । उनका अनुसार पहिले गाईजात्रा, लाखेजात्रा, कृष्णजात्रालगायत अन्य जात्रा पनि जितपुरफेदी बजारमा भव्यरूपमा मनाइन्थ्यो । अहिले जितपुरफेदी वर्तमानको कठघरामा उभिएर आफ्नो प्राचीन गौरव र पहिचानको तीतो बयान उकेल्न विवश छ ।
बिलुप्त सम्पदा : जितपुरफेदी बजारमा भएका कैयन् सम्पदा बिलुप्त अवस्थामा पुगेका छन् । यस्तै, बिलुप्त सम्पदामा जितपुरफेदीको गुम्बा पनि एक हो । उक्त प्राचीन ऐतिहासिक गुम्बाको अवशेषका रूपमा हाल केही प्राचीन ढुंगा र मूर्तिबाहेक अरू केही पनि देख्न सकिन्न । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारकेश्वर महादेव मन्दिरबाट बग्दै आउने महादेव खोलाको दायाँ किनारामा जितपुरफेदी बजारको पछाडिपट्टि योे गुम्बा थियो ।
कुनै बेला यो गुम्बा जितपुरफेदी बजारको प्रमुख आकर्षण थियो । स्थानीय ९१ वर्षीया सुवर्णलक्ष्मी श्रेष्ठ ५० को दशकसम्म बौद्ध भिक्षुहरू गुम्बामा आएर प्रार्थना गर्ने गरेको बताउँछिन् । २०७२ को महाभूकम्पले उक्त गुम्बा पूर्णरूपमा क्षति भएको थियो । अहिले त्यहाँ गुम्बाको केही अवशेषमात्र देख्न
सकिन्छ । पाँचमानेको फेदमा रहेको जितपुरफेदी बजारमा कुनैबेला लामाहरू देखिन्थे ।
फेदीबजारमा रहेको ढुंगेधारामा पानी आउँदैन भने बजारको अलिकतिमाथि रहेको ढुंगेधाराबाट पानी बगेको देख्न सकिन्छ। जुन ढुंगेधाराको माथिल्लोपट्टि प्राचीन शिलालेख पनि छ। जुन शिलालेखको सम्बत् स्पष्ट नभए पनि यो मल्लकालीन भएको अनुमान लगाउन सकिन्छ।
आज त्यहाँ न गुम्बा छ र न लामाहरू नै । उतिबेला उक्त गुम्बामा लामाहरू बस्ने, मन्त्र पढ्ने र प्रार्थना गर्ने गर्दथे । उक्त गुम्बाको पूर्वपट्टि महादेव खोलामा जाने प्राचीन ढुंगा छापेर बनाइएको सिँढी अहिले पनि देख्न सकिन्छ । खोलाको किनारमा भगवान् विष्णुसहितको ब्रह्मनाल पनि छ । तर स्थानीयवासीले बालुवा झिकेर थुपारेका कारण उक्त महत्त्वपूर्ण मूर्ति पुरिएको अवस्थामा छ ।
सम्पदा संरक्षणका प्रयास : यहाँ भएका सम्पदा संरक्षणमा सम्बन्धित निकायले खासै पहल गरेको देखिँदैन । एक वर्ष अगाडि फरकपत्र द्वैमासिकले यहाँको गुम्बाको बारेमा खोजमूलक सामग्री प्रकाशित गरेपछि स्थानीय वडाले केही रकम विनियोजन गरी गुम्बा भएको जमिनलाई रेखांकन गरी ढुंगाको पर्खाल लगाएर संरक्षण गर्ने प्रयास गरेको देखिन्छ । तर यहाँ रहेका सम्पदा संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नभएको स्थानीय गुनासो गर्छन् । संस्कृतिविद् श्रेष्ठ प्राचीन ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकारले विशेष रूपमा कदम चाल्नुपर्ने कुरामा जोड दिँदै अहिलेको स्थानीय सरकार सम्पदा संरक्षणका लागि उदार हुन नसकेको बताउँछन् । यस्ता सम्पदा हाम्रो पहिचान भएकाले त्यसलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो । त्यसैले स्थानीय पालिकाले विशेषरूपमा सांस्कृतिक सम्पदा जोगाउने वातावरण कायम गर्नुपर्ने कुरामा जोड दिँदै श्रेष्ठ अगाडि थप्छन्, ‘यहाँका सम्पदा संरक्षण नभए ती एकादेशको कथा नहोलान् भन्न सकिन्न ।’
२०७२ को महाभूकम्पका कारण गुम्बा भत्किएपछि हालसम्म त्यसको निर्माण गर्न स्थानीय सरकार, गुम्बा संरक्षण समिति वा कुनै पनि निकायले चासो नदेखाएकोमा स्थानीयको गुनासो बढेको पाइन्छ । पहिला गुम्बामा रहेको बुद्ध भगवान्को मूर्ति जितपुरफेदी बजारको एउटा घरमा अहिले पनि सुरक्षित अवस्थामा राखिएको छ । उक्त ठाउँमा ऐतिहासिक गुम्बा भएको हुँदा तत्कालै उक्त गुम्बा निर्माण गर्न नगरपालिकाले विशेष पहल गर्नुपर्ने देखिन्छ ।
मनको भूमि : जितपुरफेदीलाई इन्द्रायणी मनमैजु देवीको जन्मथलोको रूपमा दिइन्छ । उनका आठ दिदीबहिनी रहेका र मन कुरूप भएकी कारण उनको विवाह हुन सकेको थिएन । एकदिन इन्द्र मनसँग प्रेममा भुल्छन् र रात बिताउँछन् पनि । त्यसको भोलिपल्ट मनले इन्द्रसँग स्वर्ग जान लाग्दा इन्द्रले तिमी मानवकन्या भएकीले यो जुनीमा होइन, अर्को जुनीमा तिमी मेरी इन्द्रायणी बन्नेछ्यौ र स्वर्ग जानेछ्यौ भनेर इन्द्र त्यहाँबाट आफ्नो इन्द्रपुरीतिर गएका थिए ।
उनै जितपुरफेदी गाउँकी मन नाम गरेकी कन्याले विष्णुमती र महादेव खोलाको दोभानमा बसी इन्द्रको तपस्या गरेकी थिइन् । कालान्तरमा मनमैजु अजिमाका रूपमा चिनिएकी उनै देवीको जन्मथलो जितपुरफेदी रहेको हुनाले मनमैंजु र जितपुरफेदीबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको देखिन्छ ।
त्यस्तै, काठमाडौंकी कँडेलचोक भगवतीलाई वर्षको एकदिन उनको माइती नुवाकोट लैजाने मार्ग पनि यही हो । उनकोे माइत जाने र फर्कने मार्ग पाँचमाने जितपुरफेदी हुँदै धर्मस्थली भएको र उपत्यका विजय प्राप्त गर्न पृथ्वीनारायण शाहले उनै देवीलाई आफ्नो साथमा काठमाडौैं ल्याएको कुरा इतिहासमा उल्लेख छ । यसैगरी, नेवारी संस्कृतिमा शिलुतीर्थको विशेष महत्त्व पाइन्छ । उक्त शिलुतीर्थको मार्ग धर्मस्थली हुँदै पाँचमाने भएको र पाँचमानेदेखि धर्मस्थलीका बीचमा जितपुरफेदी बजार पर्ने भएबाट पाँचमानेको प्रवेशद्वारका रूपमा जितपुरफेदी बजारलाई नै लिइन्छ । यसरी हरेक दृष्टिकोणबाट जितपुरफेदी बजारको महत्त्व रहेको प्रष्ट हुन्छ ।
मदनकृष्ण र जितपुरफेदीको सम्बन्ध : जितपुरफेदी बजार चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको जन्मभूमिसमेत हो । जितपुरफेदी बजारको बीचमा रहेकोे प्राचीन बौद्ध चैत्यको अगाडि मदनकृष्णको प्राचीन घर छ । हालसम्म संरक्षित अवस्थामा रहेको मदनकृष्णको उक्त घरलाई जितपुरफेदीको थप आकर्षणका रूपमा लिन सकिन्छ । त्यसैले, उपत्यकाका विभिन्न ठाउँबाट तारकेश्वर भ्रमणमा आउने यात्रुहरू मदनकृष्णको जन्मस्थल जितपुरफेदी बजार घुम्न चाहन्छन् ।
केही दशकअगाडिसम्म पनि जितपुरफेदीको सुन्दर दृश्य थियो, त्यो अहिले बदलिएको छ । शिवपुरी पहाडको फेदीमा रहेको मदनकृष्णको जन्मथलो जितपुरफेदीको सौन्दर्यलाई स्वयं मदनकृष्णले शब्दमा उनेका छन् र स्वर पनि दिएका छन् । अमेरिका पुगेपछि उनले आफ्नो जन्मभूमिको सम्झनामा सिर्जना गरेको उक्त गीतको अंश यहाँ प्रस्तुत गरिन्छ :
पहाडको फेदैमा फेदीबजार,
त्यही गाउँको हावापानी,
खोलानाला, साथीभाइ
सम्झिन्छु दिनको हजार ।
कसैले पनि आफ्नो जन्मभूमिलाई बिर्सन सक्दैन । सिद्धिचरण श्रेष्ठले आफ्नो जन्मस्थलको सम्झनामा ओखलढुंगा कविता लेखेजस्तै मदनकृष्ण श्रेष्ठले पनि आफ्नो जन्मभूमिप्रतिको अगाध मायालाई बिर्सन नसकेको उक्त गीतको अंशबाट प्रतीत हुन्छ ।
कसरी पुग्ने ?
धार्मिक, सांस्कृतिक, ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण जितपुरफेदीको एकपल्ट भ्रमण गर्ने हो भने यसको वास्तविक तथ्य सहजै बुझ्न सकिन्छ । नजिकैबाट जितपुरफेदीलाई अवलोकन गर्ने हो भने आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्दछ । बालाजु बाइपासबाट नुवाकोट रानीपौवा जाने बसमा तीनपिप्लेमा झरेर आधा घण्टा पैदल हिँडेर वा सहिदगेटबाट बालाजु बाइपास हुँदै जाने बस चढेर जितपुरफेदी बजार सहजै पुग्न सकिन्छ ।
जितपुरफेदीको नामकरणलाई केलाउँदा नेपाल र भोटबीच भएको युद्घको प्रसंग उल्लेख गर्नु सान्दर्भिक देखिन्छ। रणबहादुर शाहको पालामा नेपाली फौजले चिनियाँ फौजलाई काठमाडौं उपत्यका पस्न नदिई चातुर्यतापूर्वक लडाइँ गरी जितेको ठाउँ (पुर)बाटै यसको नाम रहन गएको हो।