सम्भव छ एआईमैत्री कांग्रेस ?
नेपालको पुरानो र परम्परागत नेपाली कांग्रेस पार्टीभित्र अहिले १५औं महाधिवेशनको चर्चा सुरु भएको छ। २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसको एकता भएपछि चौथो अधिवेशनबाट पार्टीको नाम नेपाली कांग्रेस राखिएको थियो। ७६ वर्ष पुरानो हुनै लाग्दा नेपाली कांग्रेसले आफूलाई शताब्दी सुहाउँदो प्रविधि र युवापुस्ता मैत्री बनाउन सकेको छैन।
जननायक बीपी कोइरालाले स्थापित गरेको मूलभूत सिद्धान्तबाहेक पार्टीलाई आधुनिकीकरण गर्ने र २१औं शताब्दी अर्थात् एआई (आर्टिफिसियल इन्टेलिजेन्ट)को युग सुहाउँदो युवाहरूको जोसिलो पार्टी बनाउनेतिर पार्टीमा बहससमेत सुरु भएको छैन। नेपाली कांग्रेस पार्टी र देशकै लागि आशा र भरोसाका केन्द्रमा रहेका महामन्त्री गगन थापाले थोरै भए पनि पार्टी सदस्यता वितरणलाई आधुनिकीकरण गर्ने बहस चलाएका छन्।
थापाले पार्टीमा सदस्य नियन्त्रित तथा पार्टीका भद्दा खालका आन्तरिक समितिहरूलाई व्यवस्थित गर्न पार्टीको क्रियाशील वितरण प्रक्रियालाई पारदर्शी र सर्वसाधारणको समेत पार्टी सदस्यमा पहुँच पुग्नेगरी बहस सुरु गरेका छन्। तर, अहिलेको एआईको युगलाई उनले अघि सारेको सदस्यता वितरण प्रक्रियाको पारदर्शिताको नाराले मात्र पुग्दैन, यसलाई प्रविधिसँग समेत जोड्नुपर्छ। एआईको बेगमा चल्न सक्ने नेपाली कांग्रेस बनाउनुको एक मात्र विकल्प प्रविधिमैत्री पार्टी बनाउनु नै हो।
पार्टीभित्र दक्ष जनशक्तिको प्रयोग गरेर प्रविधि भिœयाउन सकेमात्र पार्टीलाई अन्य ठूला लोकतान्त्रिक पार्टीहरूले प्रयोग गर्दै आएको पार्टी सदस्यता वितरण प्रणालीमा लैजान सकिन्छ। कांग्रेसका मतदाताहरूलाई पार्टीसँग प्रत्यक्ष जोड्न प्रविधिको प्रयोग गर्न सकिन्छ, जसले साधारण मतदातादेखि माथिल्लो तहका नेताहरूको व्यक्तिगत विवरण (तथ्यांक) सुरक्षित हुनुपर्छ। देशमा कांग्रेस सदस्यहरू कति छन् भन्ने कुनै वैज्ञानिक तथ्यांक पार्टीसँग छैन। विभिन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको मत र महाधिवेशनका बेला वितरण हुने क्रियाशील सदस्यहरूको संख्यालाई आधार बनाएर पार्टीको वजन तौलिने चलन छ।
यो अब निकै पुरानो र ‘डेट एक्पायर’ प्रचलन हो। पार्टीलाई आधुनिकीकरणतिर लैजाने हो भने एक एक साधारण सदस्यहरूको डिजिटल अभिलेख पार्टीमा हुनुपर्छ। १५औं महाधिवेशनका लागि वितरण हुन लागेको क्रियाशील सदस्यता वितरणलाई डिजिटल फारम र एपमार्फत वितरण गर्दा पार्टीले पहिलो चरणमा आफ्ना क्रियाशील सदस्यहरूको तथ्यांक प्राप्त गर्नेछ। यसका पार्टीले लागि थोरै खर्चमा स्मार्ट कांग्रेसको नाममा एप निर्माण गर्न सक्छ।
निर्वाचन आयोगका अनुसार, वडाध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत ल्याएको देखिन्छ। त्यस्तै, नगरपालिका प्रमुखमा कांग्रेसले २२ लाख ७९ हजार ३ सय ६३ भोट ल्याएको छ भने गाउँपालिका अध्यक्षमा कांग्रेस १४ लाख ६७ हजार ३ सय ८८ मत प्राप्त गरेको छ। तर ती भोटहरूलाई प्रविधिको प्रयोग गरेर मतदानका लागि धन्यवाद भनेर पार्टी सभापतिको हस्ताक्षरमा पत्र पठाउन सक्थ्यो। त्यसका लागि ठूलो लगानी होइन, इच्छाशक्ति र सानो प्रविधि भए पुग्थ्यो।
अहिले प्रायः सबै नेपालीका हातहातमा भोट फोनको पहुँच भएको अवस्थामा पार्टीले च्याटबक्स र ह्वाट्सएप सेवाहरू प्रयोगमा ल्याउन सक्छ। एआई आधारित च्याट बक्सहरूले पार्टीका सदस्यहरू र समर्थकहरूसँग प्रत्यक्ष र छिटो संवाद गर्न मद्दत पुर्याउँछ। च्याट बक्सहरूले मतदाता, सदस्य र समर्थकहरूको प्रश्नहरूको जवाफ दिनसक्छ र प्रचार सामग्री पठाउन सक्छ। अमेरिका, बेलायतलगायतका ठूला देशका पार्टीका सदस्यहरूलाई जन्मदिनको शुभकामना पठाए जस्तै सन्देश पार्टी सदस्यहरूलाई पठाउन सक्छ। नेपालमा प्रायः बैंकहरूले आफ्ना ग्राहकहरूलाई त्यस्ता सूचनाहरू प्रवाह गर्ने गरेका छन्।
यो एआई प्रविधि तथ्यांकमा आधारित प्रविधि हो। पुरानो वेभ ब्राउजरमा प्राप्त तथ्यांकलाई विश्लेषण गरेर एआईले सूचना प्रभाव गर्ने हो। त्यसैले कांग्रेसले आफ्नो सदस्यहरूको तथ्यांकलाई जति आधुनिकीकरण गर्न सक्यो, त्यति पार्टीका सही सूचना विश्व समुदाय समक्ष पुग्छ। कांग्रेसजस्तो पुरानो र परम्परावादी राजनीतिक दलमा एआईको प्रयोग गर्दा दलको संगठनात्मक संरचना, कार्यशैली र नीतिगत विकासमा नयाँ अवसरहरू खुल्न सक्छन्। प्रविधिको प्रयोगले नेपाली कांग्रेसलाई समसामयिक राजनीतिक चुनौतीहरूसँग जुध्न, पार्टीको आन्तरिक प्रक्रिया सुधार्न र जनतालाई अझ राम्रो सेवा पुर्याउन मद्दत गर्न सक्छ।
नेपालमा चुनावहरू प्रायः जनतासम्म पहुँच र उनीहरूको विचार बुझ्नमा निर्भर गर्छ। एआईको प्रयोग गरेर नेपाली कांग्रेसले चुनावी रणनीतिहरूलाई थप प्रभावकारी बनाउन सक्छ। एआईले ठूलो मात्रामा ‘भोटर डेटा’ जस्तै, उमेर, लिंग, जात, क्षेत्र विश्लेषण गरेर भावी कार्ययोजना तर्जुमा गर्न सक्छ। कुन क्षेत्रमा कुन मुद्दा वा उम्मेदवारको समर्थन बढी छ। यसले चुनावी रणनीतिको निर्णयमा सहयोग पुर्याउँछ। एआईको मद्दतले सोसल मिडियामा जनता कस्तो धारणा राखिरहेको छ भनेर विश्लेषण गर्न सकिन्छ। यसले पार्टीलाई आफ्नो प्रचार र प्रचार सामग्रीलाई जनताको भावना र चाहनाअनुसार अनुकूलन गर्न मद्दत पुर्याउँछ।
नेपालको चुनावी तथ्यांकअनुसार, काठमाडौं उपत्यका र तराईका क्षेत्रहरूमा युवा र प्रौढ वर्गको भोटिङ व्यवहारमा फरक देखिएको थियो। एआईले यसमा आधारित रणनीतिहरू बनाउन सक्छ, जसले यस वर्गलाई लक्षित गर्दै प्रचार गर्न मद्दत पुर्याउँछ। पार्टीको आन्तरिक प्रशासन र सदस्य व्यवस्थापन पार्टीको आन्तरिक प्रशासनमा सुधार ल्याउन एआईका उपकरणहरूको उपयोग प्रभावकारी हुन सक्छ।
कांग्रेसले सामान्य स्मार्ट कांग्रेस एप निर्माण गरेर सदस्यहरूको दर्ता प्रक्रिया सुरु गर्न सक्छ। एआई प्रणालीले सदस्यहरूको गतिविधि, चासो र मुद्दाहरू ‘ट्र्याक’ गर्न सक्छ। आवश्यक स्थानमा सक्रिय सदस्यहरूको सहभागिता बढाउन मद्दत पुर्याउँछ। एपको माध्यमले पार्टीको निर्णय प्रक्रियालाई सामान्यीकरण गर्न सकिन्छ। उदाहरणका लागि, एआईले पार्टीको नीति, घोषणाहरू र उम्मेदवार चयन प्रक्रिया विश्लेषण गर्न मद्दत पुर्याउँछ, जसले पार्टीलाई छिटो र प्रभावकारी निर्णय लिन सक्षम बनाउँछ। यस्तो एपमार्फत सदस्यहरूले आफूले पार्टीलाई जीवनभर दिएको योगदानलाई आफैंले एउटा एकाउन्ट बनाएर अभिलेख राख्न सक्छन्।
पार्टीले केन्द्रीय तथ्यांक प्रणालीको स्थापना गरेर सदस्यहरूको सम्पूर्ण गतिविधिलाई अनुगमन गर्न सक्छ। त्यसले पार्टी सदस्यहरूलाई निर्वाचनमा टिकट वितरण गर्दा होस् वा पार्टी अनुशासन उल्लंघन, गुण र दोषका आधारमा पार्टीले सदस्यहरूलाई न्याय दिन सक्छ। टिकट लिन केन्द्रीय नेताहरूले सदस्यहरूको अनुहार चिन्नैपर्ने परम्परा हट्छ। एपमार्फत प्राप्त हुने तथ्यांकले आफ्नो टार्गेट समूहमा आधारित सन्देशहरू स्वचालित रूपमा तयार गर्न सक्छ। यसले पार्टीलाई प्रचार गर्न र जनतालाई लक्षित गर्दै सन्देश सम्प्रेषण गर्न मद्दत पुर्याउँछ।
कांग्रेसका नेता र कार्यकर्ता उनीहरूको नेतृत्व क्षमतामा सुधार गर्न एआई आधारित प्रशिक्षण कार्यक्रमहरू बनाउन सक्छन्। उदाहरणका लागि भर्चुअल प्रशिक्षण प्लेटफर्म पार्टीका कार्यकर्ता र सदस्यका लागि एआईका आधारमा अनलाइन प्रशिक्षण प्लेटफर्महरू बनाइएमा उनीहरूले विभिन्न राजनीतिक, सामाजिक र प्राविधिक विषयमा प्रशिक्षण प्राप्त गर्न सक्छन्। कांग्रेस जस्तो परम्परावादी दलमा प्रविधिको प्रयोगले पार्टीको आन्तरिक प्रक्रिया र चुनावी रणनीति सुधार्न मद्दत पुग्ने देखिन्छ। पार्टीको भविष्यको प्राप्तिका लागि रणनीतिक सोच र निर्णयमा पनि क्रान्तिकारी परिवर्तन पनि ल्याउन सक्छ।
पार्टीका नेता र कार्यकर्तालाई नयाँ प्रविधिको उपयोगमा प्रोत्साहन दिन पार्टीले नयाँ नीति लिएर गाउँगाउँसम्म पुर्याउनु पर्छ। पार्टीलाई आधुनिकीकरण गरेपछि नेपालको पुरानो दललाई समसामयिक बनाउने एक महŒवपूर्ण कदम हुनसक्छ। यदि पार्टीले एआईलाई सही रूपमा प्रयोगमा
ल्याउन सक्यो भने यसले पार्टीलाई आधुनिक लोकतान्त्रिक, सक्षम र प्रतिस्पर्धी बनाउँछ।
अनिमात्र, पार्टी महामन्त्री थापाले भनेजस्तै कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको २ लाख, ३ लाख, ४ लाख आम्दानी गर्ने बाटोमा तन्नेरीहरू जोडिनेछन्। यसका लागि पहिलो सर्त कांग्रेस प्रविधिमैत्री बन्नुपर्छ। यो कति सम्भव छ ? सर्वप्रथम आफैंलाई नियाल्ने कि ? पार्टी कार्यकर्ताको हातहातमा ल्यापटपमा बोकेर हिँड्ने वातावरण बन्न सकेमात्र पार्टी सरकारमा जाँदा प्रविधिमैत्री नीति निर्माणमा ध्यान केन्द्रित हुन सक्छ।
(पाण्डे, नेपाल तरुण दलकी केन्द्रीय सदस्य हुन्।)