साहसीको प्रतिफल
नेपालको इतिहासमा एउटा सानो राज्य गोरखाले २० वर्षीय साहसी युवाराजा पायो। जसको अदम्य साहस र दृढविश्वासले विशाल नेपाल निर्माण हुनसक्यो। तिनै राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शनिबार मनाउँदैछौं। ई.पु. ३५६ तिर पनि सानो मुलुक मेसोडोनियाले साहसी अलेक्जेन्डर महान् पाएकै कारण विशाल आकार निर्माण गर्ने अवसर पाएको थियो। युद्धमा हार्न नजानेका अलेक्जेन्डरलाई माता ओलम्पियाले ईश्वरपुत्र मान्थिन्।
यता ‘घूस लिन्या र घूस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता भनाइका धनी पृथ्वीनारायण शाहमा पनि साहसका अनेकौं उपमा छन्। बाइसी, चौबिसीलगायत सेनवंशीय राज्यहरू बाहेकै उपत्यकाभित्र तीन शक्तिशाली राज्यहरू थिए। बरु, उनको गोरखा चाहिँ सानो र कमजोर हो, तापनि उनको एकीकरण अभियान थालनीको अठोट र अदम्य साहसका अगाडि सानो हुन पाएन। उनले चाहेको भए विजित देशको नाम नेपाल नराखेर मल्लकालीन राजा यक्ष मल्लले भैंm भाइ–छोराहरूमा बाँडचुँड गरी आनन्दसँग रहनसक्थे। तर, उनको स्वभाव र आचरणमा स्वार्थ कहिल्यै कतै देखिएन। विद्वान् ज्योतिषी कुलानन्द जैसी (ढकाल) युद्धसाइत दिने महान् ज्योतिषी मात्र थिएनन्, हौसला र आत्मबल जगाउने विश्वासिला पुरुषार्थी व्यक्ति पनि थिए।
गोरखाली जनताको राजाप्रतिको विश्वास, श्रद्धा र निस्वार्थ सहयोगकै कारण विदेश (वनारस)बाट योजनाबद्ध र गोपनीयतापूर्वक हातहतियार ल्याई, सबै बन्दोबस्त सकेर उपत्यका वरिपरिका नुवाकोट, मकवानपुर, कीर्तिपुरलगायतका मुलुकहरूसँगै उपत्यका विजय गर्न सके। १४८५–१५३८ सालसम्मको आफ्नो ५३ वर्षको शासनकालमा ‘नरपतिजयचर्या टीका’ नामको ग्रन्थमा उल्लेख भएअनुसार यक्ष मल्लले मिथिला, मगध र गया विजय गरेको र कर्कपेट्रिकका अनुसार उत्तरमा सिकारजोङसम्म राज्य पैmलाएका थिए भनिएको छ। नेपालको दक्षिण–पूर्वी भेगमा नान्यदेवले खडा गरेको सिम्रौनगढ राज्यमा वर्तमान भारतका केही भाग पर्दथे।
त्यस्तै, पश्चिमी भेगमा नागराजले खडागरेको शक्तिशाली सिञ्जा राज्यमा पनि कुनै बेला वर्तमान चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर प्रदेश र वर्तमान भारतको उत्तराञ्चल राज्यअन्तर्गतका कुमाउ–गढवाललाई आफ्नो सरहदभित्र पारेका थिए। तर, कालान्तरमा यी राज्य क्रमश: टुक्रिँदै गए। विक्रम संवत्को १८औं शताब्दीमा आइपुग्दा यस भेगमा ५२ भन्दा धेरै स–साना राज्यहरू भए। जसअन्तर्गत बाइसे–चौबिसे, कान्तिपुर, भक्तपुर, पाटन, मकवानपुर, चौदण्डी, विजयपुर (सेनराज्य) आदि पर्दथे। जसलाई पृथ्वीनारायण शाहले विशाल स्वरूप दिए। नेपालको इतिहासका शीर्षस्थ पुरुष पृथ्वीनारायण शाहले १८३१ सालको माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे।
त्यसपछि पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाहलगायतले अगाडि बढाइरहे। अंग्रेजहरूको साम्राज्यवादी नीतिबाट जोगिन नवाव मीरकासिमले उत्तर सुरक्षित स्थल मानेर भगौडा मकवानपुरे राजा दिग्बन्धन सेनको अनुरोधअनुसार २० जनवरी १७६३ मा गुरगिन खाँको नेतृत्वमा तीन हजारको फौज पठायो। साँझपख उकालो चढ्दै गर्दा फत्रक्क गलेको अवस्थामा अचानक गोरखाली फौजको चारैतिरबाट भएको ढुंगामुढाको आक्रमणले मुसलमानी फौजको भागाभाग भयो। १७ सय जति मारिए। दुईवटा तोप, पाँच सय बन्दुक र सानाठूला हतियारले गोरखालीको एकीकरण अभियानलाई सहयोग पुर्यायो।
गोरखालीले वरिपरि गरेको विजयबाट तर्सिएर कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेजसँग गरेको सहयोग याचनाअनुसार टिप्राको लडाइँका विजयी वीरयोद्धा कप्तान किनलकको नेतृत्वमा २४ सय हिन्दुस्तानी र अंग्रेज अफिसरसहितको फौज पठायो। फौज सिन्धुलीगढीमा आइपुगेको खबर पाएपछि पृथ्वीनारायण शाहले वीरभद्र उपाध्याय र सिकारी वंशु गुरुङको नेतृत्वमा पाँच सय जतिको गोर्खाली फौज सिन्धुलीतर्फ पठाए। बाटोमा गोर्खाली सेना नदेखेर हामीसँग भिड्न गोरखाली डराए भन्दै अंग्रेज फौज सिन्धुलीगढीको पौवागढीमा पसिना पुछ्दै उकालो चढ्दै थिए। गोर्खालीको सिस्नो र अरिंगालो गोलोको अप्रत्याशित आक्रमणबाट अत्तालिएर भाग्दा १६ सय जति अंग्रेज फौज मरे, अरू भागे। जसमा गोरखाली फौजले तीन सय बन्दुक हात पारे। यो विजयले गोरखालीहरूको मनोबल अझ बढ्यो।
त्यसपछि मध्यरातमा आनन्दसँग इन्द्रजात्रा पर्व मनाइरहेका कान्तिपुरेलाई गोर्खाली फौजले तीनतिरबाट आक्रमण गर्यो। नरदेवीतर्पmको फौजको नेतृत्व पृथ्वीनारायण शाह आफैंले गरेका थिए। युद्धमा जयप्रकाश मल्ललाई भाग्ने मौका दिन दक्षिणतर्पmको ढोकामा फौज राखिएन। सामान्य झडपमै तीन सय जति नगरकोटे फौज लिएर जयप्रकाश मल्ल त्यहीबाट भागेर पाटन पुगे। यसरी १८२५ कात्तिक १३ गते आइतबार इन्द्रजात्राको रात दरबार घेरेको चार घण्टामै पृथ्वीनारायण शाह हनुमान ढोकाको न्हुछे दरबार अगाडिको डबलीमा राखिएको कान्तिपुरको राजसिंहासनमा बसेर इन्द्रजात्रासहित मानिआएका सबै रीतिथिति चाडपर्व सञ्चालनमा निरन्तरता दिएका कारण कान्तिपुरवासी सन्तुष्ट भई भरपूर सहयोग गरे। यता पाटनको राजनीति अत्यन्त दूषित भएकाले असुरक्षित हुन सकिने खतरालाई मनन् गरी दुवै राजा त्यहाँबाट भक्तपुरको शरणमा पुग्दा बिना रक्तपात ११ दिनपछि वा असोज २४ गते पाटनको दरबार पनि पृथ्वीनारायण शाहको कब्जामा आयो।
भक्तपुरे राजा रणजित मल्ल पृथ्वीनारायण शाहका मीतबुवा भएकाले दुवै राजालाई फिर्ता पठाइदिन केही समय अनुरोध गर्दैरहे। उनीहरू युद्ध तयारीमा जुटेको बुझेपछि पाटन विजयको झन्डै एक वर्षपछि शूरप्रताप शाह, वंशराज पाँडे र केहरसिंह बस्नेतको नेतृत्वमा १५ सय गोर्खाली फौजले भक्तपुर आक्रमण गर्यो। तीन दिनकै युद्धमा, घरको छानामा चढेर चलाएको गोली, दरबारको चौकोट भवनतिर उक्लिँदै गरेका जयप्रकाश मल्लको दाहिने खुट्टाको गोलीगाँठामा लाग्नाले भर्याङबाट झर्न पुगे। तत्काल रणजित मल्ल र तेजनरसिंह मल्लले तानेर यिनलाई चोटामा पुर्याए। त्यतिखेरसम्म भक्तपुरका अनेकौं घरहरू जलेर धेरै क्षति भइसकेको र युद्ध जित्ने सम्भावना नरहेकाले आहत भएका रणजित मल्लले दरबारको झ्यालबाट आफ्नो पगरी देखाएर आत्मसमर्पण प्रष्ट्याए।
यसरी कान्तिपुर, ललितपुर र भक्तपुरसहित तीनै राज्यको विजयले उपत्यका एकसूत्रमा बाँधियो। एक देशबाट अर्काे देशमा जान नपाएका नियन्त्रित र बन्धनमा रहेका जनता खुल्लमखुल्ला सबैतिर आवतजावत गर्न पाउँदा खुसीयालीको सीमा रहेन भने शाहकालको एकीकरण अभियानमा नेपालको पहिलो र महŒवपूर्ण विजय सम्पन्न भयोे। मुलुकको विकास र निर्माणमा एकैजनाको अग्रता र सत्प्रयासले व्यापक परिवर्तन आउन सक्छ। जर्ज वासिङ्टनको प्रयासले अमेरिका निर्माण भयो। नेपोलियन बोनापार्टको अदम्य साहसले फ्रान्स, नेल्सन मण्डेलाको अथक प्रयासले दक्षिण अफ्रिका विश्वव्यापारको गन्तव्य बन्यो। विस्मार्कले जर्मनलाई, गैरीवाल्डीले इटली र लिक्वानयुको २० वर्षकै प्रयासले सिंगापुर सम्पन्न भयो। महान् दृष्टि भएका व्यक्तिले मुलुक बनाउँछन् तर स्वार्थी मनोवृत्तिकाहरूलाई जति पटक निर्वाचन जिताए पनि जनता रुवाइरहन्छन्।
जागिर, लोकसेवा पास गरेर खाने हो। राजनीति जागिर होइन, सेवा हो। यसैले अब बलिया, छट्टु र धूर्तलाई होइन, स्नातकोत्तर गरेका, समाजसेवामा तल्लीनहरूमध्येबाट राजनीति सञ्चालन गराउनु पर्छ। नेपालका विद्यमान सबै दलले आन्तरिक संगठन निर्माण र चुनाव लड्ने टिकट वितरणका मापदण्ड अनिवार्य रूपमा तयार गर्नुपर्छ। स्नातकोत्तर तह उत्तीर्ण गरेकाले मात्र सांसद हुन पाउने बाध्यकारी व्यवस्था अवलम्बन गर्नुपर्छ। आआफ्नो दलको विधानमा उक्त व्यवस्था राख्नुपर्छ। यो नै नेपाल एकीकरणका श्रद्धेय व्यक्तित्व, राष्ट्रिय एकताका प्रतीक, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पुस २७ गतेको जन्मजयन्तीका अवसरमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण हुनेछ।