जब खाडीका श्रमिकले बीपी र मदन देखे...
यूएई : संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई सहरनजिकै रहेको श्रमिकहरूको बासस्थान (सोनापुर क्याम्प) मा बस्ने सर्लाहीका सुमन यादव आइतबार बिहान ११ बजे स्वर्गीय बीपी कोईरालालाई देखेर हाँसेको हाँस्यै भए । उनीसँगै बसेका झापाका प्रेमराज त झन स्वर्गीय मदन भण्डारी आएको देखेर पेट मिचिमिचि हाँसे ।
‘ठ्याक्कै बीपी आए झैं लाग्यो’, यादवले भने । उनीहरूलाई हँसाउने अरु कोही नभएर हाँस्य कलाकार मनोज गजुरेल र चक्र दवाडी थिए । ५० डिग्रीको तातोमा काम गर्ने देशको अर्थतन्त्रका खम्बाहरू हाँस्दा आफ्नो मन प्रफुल्ल हुने गरेको गजुरेल बताउँछन् । यूएईका विभिन्न शहरहरूमा सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ कार्यक्रम गरेर श्रमिकहरूलाई हँसाइरहेको छ ।
नेपाली दूतावास आबुधाबीको सहयोग तथा गैरआवासीय नेपाली संघ (एनआरएनए, एनए) को आयोजनामा जनवरी १० देखि १२ सम्म सिस्नोपानीले यूएईमा कार्यरत श्रमिकहरू बस्ने क्याम्पहरूमै गएर हाँस्यब्यंग्यसहितको जनचेतना कार्यक्रम गरेको हो । जनवरी १० शुक्रबारको पहिलो कार्यक्रम यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा हाँस्य कलाकार मनोज गजुरेलसहितको टिमले आबुधाबीस्थित मुसफ्फा क्याम्पमा गरेको थियो । जनवरी ११ शनिबार शारजाहको क्लिन्को क्याम्प सज्जा र दुबईको बलेदिया भलिबल ग्राउन्ड अलकुजमा कार्यक्रम भयो । आइतबार बिहान १० बजे इभर सेन्डाई क्याम्प सोनापुर र बेलुकी ५ बजे इन्डियन सोसल सेन्टर अजमानमा पनि कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सिस्नुपानी नेपालका चर्चित कवि तथा कलाकारहरू मनोज गजुरेल, टंक आचार्य, चक्र दवाडी, धिरेन्द्र प्रेमर्षि र सरोज घिमिरेलगायतको प्रस्तुति रहेको आयोजकले बताएको छ । एनआरएनए मध्यपूर्व उपसंयोजक तथा पूर्वअध्यक्ष रमेश श्रेष्ठले सन् २०१७ मा आफ्नो कार्यकालमा शुरुवात गरेको यो कार्यक्रमको निरन्तरता पाएकोमा खुसी व्यक्त गरे । यूएईमा सिस्नोपानीको यो तेश्रो श्रृंखला हो ।
कलाकार मनोज गजुरेलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा दिने श्रमिकहरूको अनुहारमा खुसी हेर्न र खुसी छर्न आफूहरूले कार्यक्रम गरेको बताए । सिस्नोपानीका टंक आचार्यले श्रमिकहरूको क्याम्पमै गएर मजदुरहरूसँग भलाकुसारी गर्न पाउँदा खुसी लागेको बताए ।