सभापति देउवाले मन्त्रीहरूलाई भने- प्रधानमन्त्रीसँग मिलेर काम गर्नुस्, अहिलेको गठबन्धनको विकल्प छैन
काठमाडौं : नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ।
बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दल र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर काम गर्न निर्देशन दिए। उनले एमालेसँगको गठबन्धनको विकल्प नरहेको भन्दै पूर्वसहमति बमोजिम अघि बढ्न मन्त्रीहरूलाई निर्देशन दिए।
बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस-एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम गर्नुपर्ने बताए। सबै मन्त्रीले आ-आफ्नो मन्त्रालयमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए। उनीहरूले एमालेसँग भएको समझदारीअनुसार अघि बढिरहेको धारणा राखेको गृहमन्त्री रमेश लेखकले बताए।
बैठकले सांसद दीलेन्द्र बडुको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ। संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक-एक जना संयोजक तोक्ने व्यवस्था अनुसार केही सांसदहरूलाई नियुक्त गर्ने निर्णय गरेको छ। अदालतमा बहस गरेर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको निन्दा गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए।
बैठकले सातामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्ने, नागरिकको सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको घिमिरेले बताए। त्यस्तै बैठकले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटो पारित गर्न र संविधान कार्यान्वयनका लागि नयाँ विधेयकहरू ल्याउनका लागि सरकारको ध्यानाकर्षण गरेको छ।