मोरङमा हात्तीको आक्रमणबाट एक महिनामा तीनजनाको मृत्यु

मोरङमा हात्तीको आक्रमणबाट एक महिनामा तीनजनाको मृत्यु
तस्बिर : सुन्दरहरैँचामा देखा परेको हात्ती
सुन्नुहोस्

विराटनगर : मोरङमा पछिल्लो समय मानव–हात्ती द्वन्द्व बढेको छ । जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचामा मात्रै एक महिनाको अवधिमा तीनजनाको मृत्यु भइसकेको छ ।

स्थानीयले बढ्दो हात्ती आतंक नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । हात्तीले जंगल छेउका बस्तीमा प्रवेश गरेर मानिसलाई आक्रमण गर्ने,घरहरू भत्काइदिने र बालीनाली खाने तथा नष्ट गर्ने गरिरहेको प्रहरीले जनाएको छ । हात्तीले जंगलसँग जोडिएका बस्तीमा बढी दुःख दिइरहेको हो । 

सुन्दरहरैँचा नगरपालिका–५, ७ र ८ नम्बर वडामा हात्तीको आक्रमणबाट एक महिनाको अवधिमा तीनजनाले ज्यान गुमाइसकेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार हात्तीले आक्रमण गर्दा शनिबार बिहानको राति सुन्दरहरैँचा– ८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भयो । बच्चा (छावा)सहित आएको हात्तीले आक्रमण गर्दा घिमिरेको घटनास्थलमै मृत्यु भएको जोशीले बताए । 

उनका अनुसार घरनजिक आएर हात्तीले उपद्रो मच्चाउन थालेपछि घिमिरेले भाग्ने प्रयास गरेका थिए । भाग्न खोज्दै गर्दा आक्रमण गरेर हात्तीले उनको ज्यान लिएको डीएसपी जोशीको भनाइ छ । घिमिरेको घर जंगलबाट करिब २० मिटरजति टाढा मात्रै छ ।

हात्तीकै आक्रमणबाट गत पुस १७ गते सुन्दरहरैँचा–५ की चन्द्रकुमारी लिम्बू र पुस ५ गते सुन्दरहरैँचा– ७ की गंगा श्रेष्ठको मृत्यु भयो । जंगलबाट दाउरा लिएर आउँदै गर्दा सुन्दरहरैँचा–५ गुरुङ टोलकी ६१ वर्षीया लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो । सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गंगा श्रेष्ठलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । 

सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं हात्तीले सर्वसाधारणलाई धेरै दुःख दिएको बताउँछन् । ‘हात्तीले हैरान बनायो । राति सुत्न पाइँदैन । रातभरि फोन आउँछ । साइरन बजाउन प्रहरी पुग्छन् । काहिलेकाहीँ दमकल नै पठाउनुपर्छ । हात्तीले आलु पनि उखेलेर खाइदिन्छ,’ उनले भने । 

हात्तीले अन्नबाली र घरहरुमा क्षति गरिरहेको गुरागाईंले बताए । पीडितले उचित क्षतिपूर्ति पनि नपाइरहेको उनको भनाइ छ । ‘एक लाख रुपैयाँ क्षति हुँदा माथिबाट १० हजार मात्रै आउँछ । सरकारले क्षतिपूर्तिलाई वैज्ञानिक बनाउनु पर्छ,’उनी भन्छन् । 

नगर प्रमुख गुरागाईंका अनुसार हात्तीलाई बस्तीमा प्रवेशका लागि रोक्न केन्द्र र प्रदेश सरकारसँग सहयोग माग गरिएको छ । ‘झापामा फेन्सिङ तारजाली गर्दा हात्ती केही रोकिएका छन् । हात्तीलाई रोक्नका लागि केन्द्र सरकारले सहयोग गर्नुपर्छ,’उनले भने । 

सुन्दरहरैँचाको उत्तरतर्फको सामुदायिक वनमा अहिले दैनिकजसो हात्ती देखा पर्छन् । करिब एक दर्जनाको संख्यामा हात्ती रहेको स्थानीयले बताए । सुन्दरहरैँचा–८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने त्रासले सर्वसाधारणले रातभर सुत्नसमेत नपाएको र हात्तीले मानवीय तथा भौतिक क्षति गर्ने क्रम बढेको बताउँछन् । 

‘हात्तीका कारण मानवीय तथा भौतिक क्षति बढ्यो । त्रासका कारण सर्वसाधारण रातभर जाग्राम बस्नुपर्छ,’उनले भने । न्यौपानेका अनुसार हात्तीले मानिसलाई आक्रमण गर्ने,घर भत्काइदिने र अन्नबाली नष्ट गरिदिने गरेको छ । 

पछिल्लो समय झापा, मोरङ र सुनसरीका पूर्व–पश्चिम राजमार्ग उत्तरका वन क्षेत्रमा हात्तीको चहलपहल बढेको छ । हात्तीले उपद्रो मच्चाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको छ । 

पछिल्लो समय मोरङको सुन्दरहरैँचा, बेलबारी, केराबारीलगायतका स्थानमा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीयले बताए । उनीहरु मानव–हात्ती द्वन्द्वको व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताउँछन्।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.