वीरगन्जको आदर्शनगरको गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाख बढीको सामान बरामद
वीरगन्ज : आदर्शनगरको एक गोदाममा सशस्त्र प्रहरीले छापा मारेर ५० लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा र हार्डवेयरका सामानहरू नियन्त्रणमा लिएको छ।
भारतबाट भन्सार राजश्व छलेर वीरगन्जमा ल्याई गोदममा भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा र हार्डवेयरका सामानहरू नियन्त्रणमा लिएको हो। सोमबार बिहान ७ बजेतिर प्रतावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले आदर्शनगरको ट्रान्सपोर्ट क्षेत्रमा रहेको एक गोदाममा छापा मारेको थियो।
त्यसक्रममा गोदमभित्र भण्डरण गरी राखिएका ३० पोका कपडा र हार्डवेयरका सामानहरू सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।
नियन्त्रणमा लिइएका ती सबै सामान भन्सार राजश्व छलेर चोरी पैठारी गरेर ल्याइएका सामानहरू रहेको उनले दाबी गरे। बरामद कपडा र हार्यवेयरका सामानको बजार मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ रहेको पनि जानकारी दिँदै उनले ती सबै सामान आवश्यक कारबाहीका लागि सोमबार अपरान्ह वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए।
सोमबार आदर्शनगरबाट सशस्त्र प्रहरीले छापा मारेर सामान बरामद गरेको गोदाम ट्रान्सपोर्ट कारोबारी सन्तोष साहको रहेको स्रोतले जनाएको छ। तर, सशस्त्र प्रहरीले भने गोदाम धनीको नाम भने खुलाएको छैन।
प्रतिक्रिया दिनुहोस !