एन्फा महिला लिगको उपाधि एपीएफलाई

उपाधिसँगै एपीएफले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।
काठमाडौं : एन्फा महिला लिगको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपिएफले लिगको उपाधि जितेको हो । एपीएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४ औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो ।
त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४ औं मिनेटमा सविताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपीएफको ४–० को जित पक्का गरिन् ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो । उपाधिसँगै एपीएफले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
