एकीकृत समाजवादीले विवाहपूर्व र वैवाहिक बाहिरको सम्बन्धलाई अनैतिक मान्ने, यस्तो छ १३ बुँदे आचार संहिता

एकीकृत समाजवादीले विवाहपूर्व र वैवाहिक बाहिरको सम्बन्धलाई अनैतिक मान्ने, यस्तो छ १३ बुँदे आचार संहिता

काठमाडौं : नेकपा एकीकृत समाजवादीले १३ बुँदे आचार संहिता जारी गरेका छन्। पार्टीको विधान २०८१ को धारा १३७ ले दिएको अधिकार प्रयोग गरी एकीकृत समाजवादीले आचार संहिता बनाएर जारी गरेको हो।

कम्युनिस्ट नेता-कार्यकर्ताहरूले व्यवहारमा नैतिकता प्रदर्शन गर्नुपर्ने आचार संहितामा उल्लेख छ। उसले परपुरुष र परस्त्रीबीच हुने सम्बन्धलाई अनैतिक हुने बताएको छ। 'परपुरुष-परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ। कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन। महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ,' आचार संहितामा भनिएको छ।

त्यस्तै पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्ने आचार संहितामा उल्लेख छ। 

त्यस्तै अश्लील र अपशब्द बोल्ने, जातीय तथा वर्गीय भेदभाव गर्ने र अनैतिक क्रियाकलापलाई पनि आचार संहितामा समेटिएको छ। 'कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्छ। बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन। कुनै वर्ग, जाति, समुदाय, लिंग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्नु हुँदैन। उनीहरू वर्गीय तथा जातीय भेदभाव नगर्ने र छुवाछतजन्य व्यवहार नगर्ने हुनुपर्छ। उनीहरूको आर्थिक जीवन र व्यवहार पारदर्शी हुनुपर्छ। उनीहरूले अनैतिक क्रियाकलाप गरी कुनै आर्जन गर्नु हुँदैन। उनीहरूको आर्थिक आचरण भ्रष्ट हुनु हुँदैन। उनीहरू भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनुपर्छ,' आचार संहितामा भनिएको छ । 

यस्ता छन् १३ बुँदे आचार संहिता
१. उद्देश्य : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रन्तिकारी सिद्धान्त अनुरुप बनाउन आचार संहितामार्फत निर्देश गर्नु उपयुक्त हुने भएकाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को विधान २०८१ को धारा १३७ ले दिएको अधिकार प्रयोग गरी यो आचार संहिता बनाएर जारी गरेको छ ।

२. प्रारम्भ : यो आचार संहिता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले पारित गरेको दिनदेखि प्रारम्भ हुनेछ ।

३. पालनकर्ता : यस आचार संहिताका पालनकर्ता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सबै नेता तथा कार्यकर्ताहरु हुन् ।

४. मार्गदर्शक सिद्धान्त : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । मार्क्सवाद-लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण हो । यसले सबै किसिमका शोषण, दमन र उत्पीडन तथा विभेद र असमानताको विरोध गर्छ । श्रमजीवी वर्गको पक्षपोषण गर्छ, सार्वभौमसत्ता जनतामा रहन्छ भन्ने मान्दछ र सिद्धान्त अनुसार व्यवहार गर्नु पर्नेमा जोड दिन्छ ।

५. मूल्य मान्यता : कम्युनिष्ट पार्टीका मूलभूत मूल्य मान्यता हुन् : श्रमको सम्मान गर्ने, श्रम शोषण नगर्ने, आफै पनि श्रम गर्ने, सबै किसिमका शोषण, दमन र अन्याय अत्यचारको विरोध गर्ने, सबै किसिमका विभेद र असमानताको विरोध गर्दै समानताको पक्षपोषण गर्ने र समाजको आर्थिक- सामाजि-सांस्कृतिक रुपान्तरण अर्थात् आमूल परिवर्तन गर्न निरन्तर लागिपर्ने । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सबै नेता तथा कार्यकर्ताले यिनै मूल्य मान्यतालाई अँगालेर व्यवहारमा उतार्न पहल गर्नु पर्दछ ।

६. आचारण : हामीले पार्टीको विधानमा नै उल्लेख गरेका छौं कि पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्दछ र उनीहरुको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्दछ। यो नै हाम्रो आचरणको मूल पक्ष हो । यसैलाई हामीले व्यवहारमा उतार्नु पर्दछ, उतार्न प्रतिबद्ध छौं ।

७. नैतिकता : कम्युनिष्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामुहिकतावाद स्थापित गर्नु हो । यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामुहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु हो ।
हामीले व्यवहारमा यही कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष-परस्त्री शारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारिरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।

८. व्यवहार : कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु पर्दछ, र उनीहरुको जीवनशैली सादा हुनु पर्दछ भन्ने आम मान्यता रहेको छ । सादा जीवन उच्च विचार भन्ने सूत्र नै छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनु पर्दछ । बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन । कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्नु हुँदैन । उनीहरु वर्गीय तथा जातीय भेदभाव नगर्ने, र छुवाछतजन्य व्यवहार नगर्ने हुनु पर्दछ । उनीहरुको आर्थिक जीवन र व्यवहार पारदर्शी हुनु पर्दछ । उनीहरुले अनैतिक कृयाकलाप गरी कुनै आर्जन गर्नु हुँदैन । उनीहरुको आर्थिक आचरण भ्रष्ट हुनु हुँदैन। उनीहरु भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनु पर्दछ ।

९. जिम्मेवारी बहन : जिम्मेवारी बहन गर्नु पार्टी जीवनको एउटा महत्वपूर्ण पक्ष हो । पार्टीले आफूलाई दिएको जिम्मेवारी बहन गर्नु पार्टीका हरेक सदस्यको परम कर्तव्य हो । आफुलाई प्राप्त जिम्मेवारी पूरा गर्न पार्टीका हरेक नेता तथा कार्यकर्ता दत्तचित्त भएर लाग्नु पर्दछ । जिम्मेवारु बहन नगरेका खण्डमा कारबाही विषय बन्ने छ ।

१०. जवाफदेहीता : जवाफदेहीता पार्टी जीवनको अर्को महत्वपूर्ण पक्ष हो । पार्टीका प्रत्येक नेता तथा कार्यकर्ता आफुले गरेको हरेक कामप्रति जवाफदेही वा उत्तरदायी हुनु पर्दछ । हरेकले आफुले गरेको कामको जिम्मेवारी लिनु पर्दछ । गैर जिम्मेवार हुनु हुँदैन, त्यसो गर्न मिल्दैन ।

११. अध्ययनशीलता : अध्ययाशीलता कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको विशेष पहिचान हो । उनीहरु अध्ययनशील हुन्छन् र हुनु पर्दछ । कुनै पनि विषयमा राम्रो अध्ययन गरेर मात्र निर्णयमा पुग्ने गर्नु पर्दछ । अध्ययन नगरी वा राम्रोसँग नबुझी गरिएको निर्णय अपरिपक्व हुन सक्दछ । हामीले अध्ययन गर्नै पर्छ र कुरा राम्ररी बुझ्नै पर्छ । अध्ययन गर्न अल्छी गरेर राम्ररी नबुझी निर्णय गर्ने काम कदापि गर्नु हुदैन ।

१२. अनुशासनको पालना : पार्टी विधानको धारा ११९ मा उल्लेख भए बमोजिम अनुशासनको पालना गर्नु र अनुशासन उलङ्घन भएको मानिने भनेर धारा १२० मा उल्लेख गरिएका काम नगर्नु पार्टीका हरेक नेता तथा कार्यकर्ताको कर्तव्य हो । एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा जनवाद र अनुशासनको सन्तुलन हुन्छ, हुन पर्दछ । त्यसैलाई हामी जनवादी केन्द्रीयता पनि भन्दछौँ । हेरक कुराको सीमा हुन्छ । जनवाद र अनुशासनको पनि सीमा हुन्छ । पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अभज्ञा गर्न पाइदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ। अरुका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।

१३. आचार संहिताको पालना : आचार संहिताको पालना गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ताको कर्तव्य हो । पार्टी विधानको धारा ११७ (२) मा आचार संहिताको पालना गर्नु पार्टीका सम्पूर्ण सदस्यको कर्तव्य हुनेछ भनी निर्देश गरिएकाले अचार संहिताको पालना भएन भने विधानको पनि पालना नभएको ठहर्नेछ र त्यो कारबाहीको विषय बन्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.