प्रशिक्षण उडानमा जहाजसँग ठोक्किएको थियो अमेरिकी सेनाको हेलिकप्टर

वासिङटन डिसी : वासिङटन डिसीमा यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको थाहा हुन आएको छ। बीबीसीमा उल्लेख भएअनुसार उक्त हेलिकप्टर अमेरिकी सेनाको रहेको र प्रशिक्षण उडानका क्रममा विमानसँग ठोक्किएको हो।
उक्त हेलिकप्टर भर्जिनियाको फोर्ट बेल्भोइरस्थित १२औं एभिएसन ब्याटालियनको बी कम्पनी अन्तर्गत थियो। यद्यपि हेलिकोप्टरमा कतिजना थिए भन्ने हालसम्म खुलेको छैन।
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको थियो। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको थियो।
उक्त विमानमा ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सले जनाएको छ। वासिङ्टन अग्नि नियन्त्रण विभागका अनुसार बुधबार राति रोनाल्ड रेगन विमानस्थल नजिकै दुर्घटना भएको हो।
दुर्घटनास्थलबाट हालसम्म १८ जनाको शव निकालिएको छ। थप हराएकाहरुको खोजीकार्य जारी रहेको जनाइएको छ।
खोजी टोलीले अहिलेसम्म घटनास्थलबाट कोही पनि जीवित फेला पार्न सकेको छैन।
दुर्घटना अमेरिकन एयरलाइन्सको सीआरजे७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (H-60) हेलिकप्टर ठोक्किएर भएको थियो। एयरलाइन्सका अनुसार सीआरजे७००० जेटमा ६५ सिट छन्। एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको बीबीसीमा उल्लेख छ।
हाल विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ।
प्रतिक्रिया दिनुहोस !
