नेपाल थाइल्यान्डसँग पनि पराजित

काठमाडौं : महिला टी-२०आई शृंखलामा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा पूरा गरेको थियो। थाइल्यान्डका लागि नन्नापट कन्चरोइन्कैले सर्वाधिक ६० रन बनाइन्। त्यस्तै स्वानान खाइआटोले १४ र कप्तान नरुइमोल चाइवाइले १३ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालका लागि मनिसा उपाध्यायले २ र कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले १-१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५-२५ रन बनाए। त्यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। यसअघि नेपाल नेदरल्यान्ड्ससँग पनि पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !
