उमागौरी सहकारीका अध्यक्षलाई थुनामा पठाउन आदेश
विराटनगर : जिल्ला अदालत मोरङले सहकारीको रकम हिनामिनाको आरोप लागेका शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आइतबार आदेश दिएको छ।
रौनियार मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष हुन्। न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार आदेशलगत्तै रौनियारलाई कारागार चलान गरिएको छ।
तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी रौनियारलाई कारागार चलानको आदेश भएको बुढाथोकीले बताए। बचतकर्ताले जम्मा गरेको रकम अपचलनमा मुछिएपछि सहकारीको कार्यालय बन्द गरेर फरार भए उनी यही माघ १४ गते अदालतमा हाजिर भएका थिए। अदालतमा उनको बयान लिन नै ३ दिन समय लागेको थियो। बीचमा शनिबारसहित ३ दिन बिदा पर्यो। रौनियारको बयान गत शुक्रबार सकिएको हो। अदालत हाजिर भएयता उनी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए।
रौनियारविरुद्ध दर्ता भएको मुद्दामा आइतबार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस सकिसँगै थुनामा पठाउन आदेश भएको सूचना अधिकारी बुढाथोकीको भनाइ छ।
रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता भएको थियो। मुद्दामा सहकारीका अध्यक्ष रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन्।
रौनियारकै अगुवाइमा सर्वसाधारणले जम्मा गरेको रकम हिनामिना गरिएपछि बचतकर्ताको बिल्लीबाठ भएको छ। हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो।
मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए। उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। आदेशलगत्तै उनलाई कारागार चलान गरियो। गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रुपैयाँ बुझाएर छुटेकी थिइन्। वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए।
प्रतिक्रिया दिनुहोस !