देश चिनाउँदै संजित

देश चिनाउँदै संजित

काठमाडौं : खेलकुद यस्तो माध्यम हो, जसले मानिसलाई स्वस्थ राख्ने काम मात्रै गर्दैन, देशलाई संसारभर चिनाउने काम पनि गर्दछ। त्यसैले त भनिन्छ, करोडौं खर्चेर पनि नपाइने प्रचार एउटा खेलाडीले गरिरहेको हुन्छ। अन्तर्राष्ट्रिय एरिनामा देशको झन्डा फहराउने र राष्ट्रको शिर जति उँचो बनाउनेमध्येका एक हुन्, संजित राई। संजितले कहिले खेलाडी, कहिले व्यवस्थापक र कहिले निर्णायकका रुपमा विभिन्न मुलुकमा पुगेर राष्ट्र र राष्ट्रवासीलाई गौरवान्वित बनाउने काम गर्दै आएका छन्। काठमाडौंको बुढानीलकण्ठ माविमा ९ कक्षामा पढ्दादेखि संजित खेलकुदमा होमिएका हुन्। उनका बुबा कृष्णबहादुर ३० को दशकका खेलाडी थिए। बुवाकै पाइला पछ्याउँदै संजित पनि खेलकुदमा होमिए। अरु खेलाडीले भोगेजस्तो परिवारबाट सहयोग नपाउने पीडा उनले भोग्नु परेन। परिवारको साथ र सहयोगबाटै उनले खेलकुदमा अगाडि बढ्ने अवसर पाए। संजितलाई मार्सल आर्ट्स खुवै मन पथ्र्यो। उनी मार्सल आर्ट्समा आफ्नो भविष्य देख्थे। यही खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाउन सकिन्छ भन्ने सोच उनमा थियो। त्यसैले उनले मार्सल आर्ट्सलाई रोजे। 

उनको खेलकुदमा सुरुवात तेक्वान्दोबाट भयो। जाडो बिदाको समयमा उनले तेक्वान्दो सिक्न थाले। उनले मार्सल आर्ट्सको प्रारम्भिक शिक्षा तेक्वान्दोबाटै सिके। केही समय तेक्वान्दोमा बिताएपछि संजितले खेल परिवर्तन गर्दै उसु खेल्न सुरु गरे। करिब तीन वर्ष उसु खेलेपछि उनले उमा कुङ्फुलाई रोजे। यही खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका उनी पछिल्लो समय उमा कुङ्फु संघको नेतृत्व सम्हालिरहेका छन्। 

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उपलब्धि

संजितले सन् २०२२ सेप्टेम्बरमा आफ्नो खेल करियरकै ठूलो उपलब्धि हासिल गरे। स्लोभेनियामा भएको वल्र्ड मार्सल आर्ट्स गेम्स (डब्ल्यूएमएसी) को चाइनिज क्रिएटिभ विधामा उनले स्वर्ण पदक जित्दै नयाँ इतिहास बनाएका थिए। ३५ वर्षमाथिको चाइनिज क्रिएटिभ विधामा अस्ट्रियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका उनले ट्रेडिसनल मार्सल आर्ट्स विधामा कांस्य पदक जितेका थिए। यस्तै सन् २०२४ जनवरी २८ मा अमेरिकामा आयोजना भएको ब्याटल अफ ड्रागन वल्र्ड च्याम्पियनसिपमा चाइनिज क्रियटिभ मार्सल आर्ट्समा स्वर्ण पदक जितेका थिए। पदक जितेपछि किरात राई सोसाइटी अफ अमेरिकाले उनलाई सम्मान पनि गरेको थियो। 

यसैगरी सन् २०२४ नोभेम्बरमा बेलायतको वेल्स सहरमा आयोजना भएको वेल्स ओपन च्याम्पियनसिपमा पनि संजितले एक स्वर्ण र एक रजत पदक जितेका थिए। उनको योगदानको कदर गर्दै एनआरएनए बेलायत र किरात राई यायोख्या बेलायत शाखाले विशेष सम्मान गरेको थियो। उनले अन्तर्राष्ट्रिय प्रतियोगिता मात्रै होइन, राष्ट्रिय प्रतियोगितमा पनि आफूलाई अब्बल सावित गरेका छन्। सन् २०१५ मा भएको राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिपलगायत थुप्रै प्रतियोगितामा उनले विभिन्न पदक जितेका छन्। 

व्यवस्थापनमा पनि सक्रिय

संजित खेलाडी, प्रशिक्षक र निर्णायकसँगै व्यवस्थापनमा पनि उत्तिकै सफल र सक्रिय छन्। नेपाल उमा कङ्फु संघ उपाध्यक्ष भएर लामो समय काम गरेका उनले उमा कङ्फुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह पनि गर्दै आएका छन्। उनको यही योगदानको कदर गर्दै गत कात्तिकमा भएको संघको पाँचौं साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका छन्। ‘खेलाडीका दुःखका बारेमा जानकार छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुँदा खेलाडीले कति दुःख र कष्ट बेहोर्नुपर्छ भन्ने मलाई पनि थाहा छ’, उनी भन्छन्, ‘आफू पनि खेलाडी भएकाले खेलाडीकै हकहितका लागि काम गर्छु।’

विभिन्न देशमा निर्णायक 

संजितले विश्वका विभिन्न देशमा पुगेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्नुका साथै निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएका छन्। उनले स्लोभेनिया, जर्मनी, अमेरिका, अस्ट्रिया, क्रोएसिया, बेलायत, भारत, स्विट्जरल्यान्डलगायतका देशमा पुगेर राष्ट्रको झण्डा फहराउनुका साथै निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन्। उमा कुङ्फु खेल स्वदेशसँगै विदेशमा पनि उत्तिकै लोकप्रिय रहेको संजित बताउँछन्। ‘नेपाललाई युरोपेली राष्ट्र र अमेरिकाले राम्रो सद्भाव देखाएका छन्। नेपाललाई सम्मान गरेका छन्। हालै मात्र मलाई भारतीय कुङ्फु महासंघले प्राविधिक मानार्थ सदस्य प्रदान गरेको छ। उनीहरूले नेपाल उमा कुङ्फुलाई स्थापित गर्न सहयोग गरिरहेका छन्। यो भनेको नेपाल उमा कुङ्फुमा लाग्ने खेलकर्मीका लागि निकै गर्वको विषय हो’, उनी भन्छन्, ‘नेपालका भेट्रान खेलाडीका लागि यो एक प्रेरणादायक क्षण पनि हो।’ 

संजितले पु¥याएको योगदानको कदर गर्दै विभिन्न राष्ट्रले महत्वपूर्ण जिम्मेवारी पनि दिएको छ। अस्ट्रियामा हेड क्वार्टर रहेको वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लूएमएसी) को नेपाल च्याप्टरका उनी महासचिव हुन्। यस्तै टोआ कुङ्फु डेनमार्कको पनि नेपाल च्याप्टरको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। 

संजितले प्रमुख निर्णायक भएर स्वदेश तथा विदेशका विभिन्न प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। खुला उमा कुङ्फु प्रतियोगिता २०१८, पाँचौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता २०२०, छैटौं उमा कुङ्फु, राष्ट्रिय नेपाल केम्पो खुकुरी मार्सल आटर््स २०२१, दोस्रो राष्ट्रिय नेपाल केम्पो खुकुरी मार्सल आर्टस २०२२ र भारतको लखनउमा सन् २०२२ मा भएको १४औं राष्ट्रिय कुङ्फु च्याम्पियनसिपलाई सफलतापूर्वक सम्पन्न गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.