स्याङ्जामा एचपीभी खोप लगाउन सुरु
स्याङ्जा : स्याङ्जामा मंगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन सुरु गरिएको छ। पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले स्वास्थ्यकर्मीलाई खोप बक्स हस्तान्तरण गर्दै खोप अभियान सुरु गरिएको हो।
स्याङ्जाका ११ पालिकाका ९ हजार ३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने छ।
१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप लगाइने भएको छ। यहाँका ५ नगरपालिकासहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्रा र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइने छ।
लक्षित उमेर समूहका सबैलाई खोप लगाउन आग्रह गर्दै पाठेघरको मुखको क्यान्सरबाट हुन सक्ने संक्रमणबाट सुरक्षित रहन नगर प्रमुख रेग्मीले सुझाव दिए।
प्रतिक्रिया दिनुहोस !