क्यान्सर काट्ताको कहर
२०७८ सालमा काठमाडौंमा कोभिड–१९ को संक्रमण मत्थर हुँदै थियो। त्यही समयमा कोपिलालाई असजिलो महसुस भयो। सुरुमा त कोभिड–१९ संक्रमण भए झैं लाग्यो। तर, शारीरिक संकेतहरू फरक देखिन थाले। ‘जिन्सको पाइन्ट लगाउँदा दाहिने खुट्टा अलिअलि दुखे जस्तो हुन्थ्यो।
किड्नी (मिर्गौला) मा समस्या पो हो कि ! भन्ने लागेर जँचाउन गएँ,’ कोपिला गौतमले स्मरण गरिन्।
रिपोर्ट सामान्य आयो। बिस्तारै पेट हल्का बढ्न थाल्यो। मोटोपना बढ्न थालेको हो कि ! भन्दै खानपिनमा सजगता अपनाइन्। नियमित कामलाई निरन्तरता दिइरहिन्। समस्या जटिल भइनसकेकाले उनले हलुका ढंगले लिइन्। त्यहीबेला कोभिड–१९ को संक्रमण भयो। त्यसलाई सहजै परास्त गरिन्। तर पेटको आसपासमा हल्का दुख्ने क्रम रोकिएन। उनी निजामती अस्पतालमा जँचाउन गइन्। डाक्टरले भिडियो एक्सरे गर्न सुझाए। भिडियो एक्सरेका लागि पालो पर्खन परेपछि निजी अस्पताल गइन्। ‘यस्तो होला भन्ने तपाईंलाई थाहा भएन ?’ भिडियो एक्सरेपछि डाक्टरले घुमाउरो पाराले प्रश्न गरे। उनले प्रतिप्रश्न गरिन, ‘के भएको छ र, डाक्टर साब ?’ डिम्बाशयमा सिस्ट देखिएको डाक्टरले जानकारी दिए।
उनी निजीक्षेत्रकै चर्चित अस्पताल पुगिन्। उनलाई परीक्षणका लागि अन्कोलोजी (क्यान्सर) विभागमा रेफर गरियो। डाक्टरहरूले प्रस्टरूपमा नबुझाउँदा उनी विचलित भइन्। केही बेरपछि प्रश्न गरिन्, ‘प्रस्ट रूपमा भन्दिनुस् है डा’साब, क्यान्सर हो कि होइन ? मलाई के भएको हो भन्ने कुरा मैले नै थाहा पाउनुपर्छ। क्यान्सर हो भने पनि एसेप्ट (स्वीकार) गर्छु।’
कोपिलाको कन्फिडेन्स देखेपछि बल्ल डाक्टरले मुख खोलेछन्, ‘डिम्बाशय (ओभरी)मा क्यान्सर भएको शंका छ।’ बायोप्सी (मासुको टुक्रा) जाँच गरेपछि प्रस्ट हुने डाक्टरको भनाइ थियो। कोपिला भन्छिन्, ‘बिरामी स्वयंलाई डाक्टरले प्रस्ट सुनाउँदा रहेनछन्। परिवारमा को हुनुहुन्छ ? भनेर सोध्ने बित्तिकै मैले क्यान्सरको शंका गरिसकेकी थिएँ। डाक्टरले प्रस्ट भन्न आनाकानी गरे पछि सोध्नै पर्यो। मनको खुल्दुली मेट्नै पर्यो।’ बिरामीको चिन्ता बढ्न सक्ने हुँदा डाक्टरले कुन स्टेज (चरण) को क्यान्सर हो ? खुलाएनन्।
संघर्ष जति कठिन, सफलता उति सानदार : कलिलैमा क्यान्सर हुँदा घरपरिवारमा सुनाउँदा सबैजना स्तब्ध भए। सरसल्लाह भयो। जतिसक्यो छिटो अप्रेसन गर्ने निर्णय भयो। क्यान्सर भन्ने थापा पाएपछि क्यान्सरकै अस्पताल गएर झन्डै सात घण्टा लामो अप्रेसन भयो। तदारुकताकासाथ फलो नगरेको भए स्थिति झन् जटिल हुने रहेछ। अप्रेसनपछि दुई साता अस्पतालमै बिताउनु पर्यो उनले। जहाँ क्यानुलाबाट ६ वटा केमोथेरापी लिइन्। ‘केमो लिँदा कपाल झर्यो,’ उनी भन्छिन्, ‘केमो उपचारका क्रममा साइड इफेक्ट देखिँदो रहेछ, कमजोर भइँदो रहेछ, आत्तिनु हुँदैन।’ भनिन्छ, संघर्ष जति कठिन हुन्छ, सफलता झन् सानदार हुन्छ। अप्रेसन गरेको एक वर्षपछि नै छमछम नाच्दै तीजको अवसरमा म्युजिक भिडियो निकालिन्। उनी भन्छिन्, ‘झरोस् बरु मादलको खरी नाचौं, गाउँ मनको रहर पुग्ने गरी।’
कोपिलाको आँट र आत्मबल : आमालाई स्तन क्यान्सर भएको उनलाई थाहा थियो। वंशाणुगत रूपमा आफूलाई पनि केही हुने हो कि ? मनमा एक किसिमको डर हुन्थ्यो। ६-६ महिनामा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी थिइन्।
‘स्वास्थ्यप्रति सचेत हुँदाहुँदै ओभरीको क्यान्सर भइहाल्यो।’ उनी थप्छिन्। स्तनको नियमित जाँच गराइरहिन्, तीन वर्षसम्म। हरेक वर्षको परीक्षणमा केही देखिएन। तै पनि उनी ढुक्क हुन सकिनन्। नेपालमा क्यान्सरको वंशाणुगत परीक्षणको सोधखोज गर्न थालिन्। वंशाणुगत परीक्षणका लागि भारतस्थित एक ल्याबमा रगतको नमुना पठाइन्। उनले शंका गरेको झैं उनको क्यान्सर वंशाणुगत भएको रिपोर्ट आयो। त्यसको उपचार हुन्छ कि भनेर उनी भारतको एक निजी अस्पताल पुगिन्। त्यहाँ पुगेर परीक्षण गर्दा बायाँ स्तनमा क्यान्सरको सुरुआत भएको पुष्टि भयो। उनी स्तब्ध भइन्।
‘दोस्रोपटक क्यान्सर हँुदा त बाँचिँदैन कि क्या हो जस्तो पनि भयो,’ उनले थपिन्, ‘डाक्टरहरूले सुरुकै अवस्थाको हो। निको हुन्छ भनेपछि ढाडस आयो।’ डिम्बाशयको क्यान्सरको उपचार क्रममा उनले सुनेकी थिइन्, ‘डिम्बाशय र स्तन क्यान्सरबीच सम्बन्ध हुन्छ। त्यही भएर सजग हुनुपर्छ।’ क्यान्सरको दोस्रो र तेस्रो स्टेज हुँदामात्र अधिकांश व्यक्ति जँचाउन पुग्छन्।
तर, सुरुकै चरणमा परीक्षण र उपचार गर्न जाँदा क्यान्सर रोग विशेषज्ञहरूले कोपिलाको सजगताप्रति प्रशंसा गरेका थिए। अहिले दुवै स्तनको सर्जरी गरेर स्वास्थ्य लाभ लिइरहेकी छन्। यस पटक आठवटा केमो दिइएको छ। कोपिला हाँस्दै भन्छिन्, ‘दोस्रो पटक क्यान्सरसँग लड्न अलि गाह्रै भयो।’
कोपिलाको आँट र आत्मबल देखेर धेरैजना चकित पर्छन्। क्यान्सरलाई पराजित गरेकी उनी तंग्रिन नपाउँदै विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड—२०२४ मा प्रतिस्पर्धी थिइन्। २०८१ असोजमा भएको अन्तिम स्पर्धासम्म पुग्न सफल भइन्। क्यान्सर नभएका महिला सहभागी रहेकोमा कोपिला आँटिली प्रतिस्पर्धी रहिन्, जो दुईपटक क्यान्सर जितेकी थिइन्।
‘क्यान्सरको उपचारपछि पनि कतिपय निराश हुन्छन्। सुतेरै समय बिताउँछन्,’ कोपिलाले भनिन्, ‘केमो सकिएर घरमै बसिरहेकी थिएँ। क्यान्सर हुँदैमा मरिँदैन है भन्ने सन्देश दिनुथियो। त्यहीं भएर मिसेस वल्र्डमा सहभागी भएँ।’ उनलाई प्रतिस्पर्धी बन्न श्रीमान् रमेश तुफानले हौस्याएका थिए। स्कुटरको पछाडि राखेर कोपिलालाई दिनदिनै कार्यक्रमस्थलमा पुर्याउँथे।
युद्धका सारथि श्रीमान् : क्यान्सरविरुद्धको लडाइँकी योद्धा हुन्, कोपिला। लोकगीत तथा लोकदोहोरी गायिका पनि हुन्, कोपिला। उनको परिचय गायिकासँगै क्यान्सर जित्ने योद्धा पनि बनेको छ। भन्छिन्, ईश्वरले पनि जो बलियो छ, उसैलाई क्यान्सरविरुद्धको लडाईंमा पठाइने रहेछ कि जस्तो पनि लाग्छ।’
क्यान्सरविरुद्धको लडाइँमा सारथिको भूमिका देखिए, श्रीमान्। जोसँग उनले २२ वर्षमै लगनगाँठो कसेकी थिइन्। रमेशले आँट र आत्मबल बढाउन भरपूर सहयोग गरे। कोपिला भन्छिन्, ‘जुनसुकै बिरामी भए पनि पहिलो साथ भनेको परिवारकै चाहिन्छ। क्यान्सर रोगविरुद्धको लडाइँ जित्न श्रीमान्सहित परिवारको सहयोग औषधि झैं हुन्छ।’
क्यान्सरविरुद्धको लडाइँमा उनलाई कतिपयले मन कुँढ्याए। सान्त्वना दिन आएको भन्नेहरूले उल्टै आयु तोक्दा मन दु:खी हुन्थ्यो। चित्त दुखाउनेहरू नआए हुन्थ्यो भन्ने महसुस हुन्थ्यो उनलाई। भन्छिन्, ‘बिरामीलाई भेट्न जानु राम्रो संस्कार हो। तर, भेट्न जाने र फर्किने बेला बिरामीलाई पीडा दिनेगरी, आत्मबल घट्ने गरी वचन लगाउनु नराम्रो हो।’ अन्तत: उनले क्यान्सर पराजित गरिन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी पूर्वउपाध्यक्ष कोपिलाको संघर्षमा कलाकारहरूले होस्टेमा हैंसे गरे। विभिन्न सामाजिक संघसंस्था र कलाप्रेमीले गरेको सहयोग सद्भावप्रति उनी नतमस्तक छिन्। अहिले उनको टिकटक, फेसबुक म्यासेन्जरमा क्यान्सरविरुद्ध जुधिरहेका कतिपय दिदीबहिनी झुल्किन्छिन्। सुझाव माग्छन्।
‘उपचारकै क्रममा मरी पो हालिन्छ कि भनेर मन आत्तिन्छ,’ कोपिला अरूलाई सम्झाउँछिन्, ‘जो बलियो छ र लडाइँ जित्न सक्छ, उसैलाई क्यान्सर हुन्छ भन्ने सोच हुनुपर्छ। आत्मबल बलियो बनाउनुपर्छ। आफूभित्र सकारात्मक सोंच र ऊर्जा कायम राख्नुपर्छ।’ अहिले पुनर्जीवन पाएको महसुस गर्दैछिन्, कोपिला। क्यान्सर विजेता एवं लोकप्रिय गायिकाको परिचय बनेको छ। नसानसामा गीत संगीत छ। बुवा देवीप्रसाद गौतम गायक भएको जानकारी दिँदै कोपिला भन्छिन्, ‘क्यान्सर र गीतसंगीत त जेनेटिक्स (वंशाणुगत) नै हो। उपचार गरेर क्यान्सर हट्यो। अब नसानसामा गीत संगीतमात्र छ। मौलिक खालको गीतसंगीतमै लाग्छु।’
प्रतिक्रिया दिनुहोस !