सिम्रिक एयरलाई बेथानचोक गाउँपालिकाको सम्मान
काभ्रे : डढेलो नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिम्रिक एयरलाई काभ्रपलाञ्चोकको बेथानचोक गाउँपालिकाले सम्मान गरेको छ। सिम्रिक एयरका अध्यक्ष एवं क्याप्टेन रामेश्वर थापालाई गाउँपालिकाले सोमबार सम्मान पत्र प्रदान गरेको हो।
हालै काभ्रेको महाभारत वन क्षेत्रमा लागेको डढेलो सिम्रिक एयरले हेलिकोप्टरबाट निभाएको थियो। डढेलो नियन्त्रणमा योगदान पुर्याएबापत सिम्रिक एयरलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए।
उनले बेथानचोक गाउँपालिकाको बस्ती नजिकको ज्वानोथुम्की, रमितेडाँडा, खानेपानीको मुहान क्षेत्र महाभारत लेकमा लागेको भीषण डढेलो नियन्त्रणका लागि सिम्रिक एयरले हेलिकोप्टर उपलब्ध गराउँदै प्राकृतिक विपत्ति न्यूनीकरणमा विशेष सहयोग पुर्याएको बताए।
'यस क्षेत्रका नागरिकहरूको जीवन सुरक्षित गर्नुका साथै महाभारत क्षेत्रको वन पैदावर, अमूल्य जडिबुटी, दुर्लभ वन्यजन्तुलगायतका प्राकृतिक सम्पत्तिको संरक्षण गर्ने कार्यमा सिम्रिक एयर र क्याप्टेन थापाको सहयोग प्रशंसनीय छ,' अध्यक्ष अधिकारीले भने। सम्मान कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका क्याप्टेन थापाले महाभारत रेन्जको वन सम्पदा मानव सभ्यतासँग जोडिएको बताए। यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उनको भनाइ छ।
क्याप्टेन थापाले विगतमा मुलुकको राजनीतिक स्थायित्वका साथै द्वन्द्व न्यूनीकरणमा आफूले कार्य गरेको स्मरण गर्दै अब मुलुक विकासका चरणमा प्रवेश गरेकाले यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आवश्यक रहेको बताए।
प्रतिक्रिया दिनुहोस !