विकासको योजना बनाएर उपलब्ध गराउन आग्रह
स्याङ्जा : मुख्यसचिव एकनारायण अर्यालले स्याङ्जा जिल्लाको विकासको योजना बनाएर आफूलाई उपलब्ध गराउन आग्रह गरेका छन्।
सातौं स्याङजा महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै मुख्यसचिव अर्यालले विकास र समृद्धिका योजना पुर्याउने ठाउँमा आफू रहेकाले सो अवसरको सही सदुपयोग गर्न समेत उनले सुझाव दिए।
मुख्यसचिव अर्यालले भने,‘जिल्लाको समग्र विकास निर्माणका लागि बलियो योजना बनाएर जिम्मा दिनुहोस् त्यसका लागि सरकार समक्ष पुर्याउनेछु। सिद्धार्थ राजमार्ग विस्तार, खानेपानी आपूर्ति, फोहरमैला व्यवस्थापन लगायतका आवश्यक योजना निर्माणका लागि सहयोग गर्नेछु।’
उनले भने, ‘स्याङ्जा बन्नुपर्छ। जिल्ला बनाउनुहोस्। तपाईंका हातमा हात र साथमा साथ मिलाएर अघि बढ्नेछु।’ विकासका निम्ति निजी क्षेत्रको योगदान प्रशंसनीय रहेको उनले बताए। निजी क्षेत्रको प्रवर्द्धन एवं सहजीकरणका लागि नेपाल सरकारले सुधार गरेको उनले जनाउँदै उत्पादन, बजारीकरण र निर्यातका लागि सहजीकरण पुग्नेमा समेत उनले दाबी गरे।
प्रशासनिक सहित कलाकारिता क्षेत्रमा आफ्नो नाम गौरवका साथ राख्न स्याङ्जा सफल भएको उनको भनाइ छ। सिद्धार्थ राजमार्ग विस्तार गर्नुपर्नेमा थप जोड दिँदै यस्ता मेला महोत्सवले आर्थिक तथा सामाजिक गतिविधि चलायमान हुनेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !