४० करोड जम्मा गर्न नसक्दा रूख कटानको प्रक्रिया अगाडि बढेन
अछाम : प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरवको सडक सेती राजमार्गको कामले सोचेअनुरूपको गति लिन सकेको छैन। सेती राजमार्गअन्तर्गत दक्षिणी खण्डमा हालसम्म १२६ किलोमिटर ट्र्याक मात्र खोलिएको छ।
दक्षिणी खण्ड २०४ किलोमिटर रहेको छ। ७८ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ। सडकखण्डअन्तर्गत सबैभन्दा धेरै डोटीको ठूलीगाड क्षेत्रमा ट्र्याक खुल्न सकेको छैन। वैशाख १ गते बसेको मन्त्रिपरिषद्को बैठकले डोटीको ठूलीगाड क्षेत्रमा सडक निर्माणका लागि आवश्यक रूख कटान र वनको जग्गा भोगाधिकार गर्ने दिने निर्णय गरेको थियो।
डोटीको ठूलीगाड–सेती–बूढीगंगा दोभानमा ४० किलोमिटर सडक निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गामा रहेको २ हजार ७८५ रूख कटानको आदेश दिएको थियो।
वन ऐन २०७६ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्न वन क्षेत्रको प्रयोग गर्नुको विकल्प नभएमा प्रचलित कानुनबमोजिम वातावरणीय परीक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनिय प्रतिकूल असर नपर्ने गरी वनको कुनै भाग प्रयोग गर्न स्वीकृत दिन सक्ने उल्लेख छ।
आयोजनाले रुख कटान भोगाधिकार पश्चापत वृक्षरोपण (एक काटेबापत १० रूख रोप्नुपर्ने) पाँच वर्षसम्म रूख हुर्काउन सम्भार गर्न लगायतका आवश्यक पर्ने रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने हुन्छ। रूख कटानका लागि वन विकास कोषमा सेतीराजमार्गको कार्यालयले ४० करोड रकम जम्मा गर्नुपर्ने हुन्छ। उक्त रकम जम्मा गर्न नसक्दा रूख कटानको काम अगाडि बढ्न नसकेको सूचना अधिकारी केशवदत्त मिश्रले बताए। उनले भने, ‘रूख कटानका लागि प्रक्रियाहरू धेरै छन्। ४० किलोमिटर भित्र पर्ने रूख कटानपछि वृक्षरोपणलगायत अन्य थुपै्र कार्यका लागि हुन आउन खर्चको स्टेमेट वनले निकालेको छ। कुल रकम ४० करोड छ। नियमअनुसार वन कोषमा कार्यालयले जम्मा गर्नुपर्छ। त्यो रकम हामीले जम्मा गर्न सकेका छैनौं।’
सेती राजगमार्गमा आवश्यक पर्याप्त बजेट नहँुदा उक्त रकम हालसम्म वन विकास कोषमा जम्मा गर्न नसकेको मिश्रले बताए। आयोजनाका लागि सडक पुल निर्माणका लागि बजेट नै न्यून आउने भएकाले वन विकास कोषमा रकम जम्मा गर्न नसक्ने अवस्था रहेको बताए।
वन विकास कोषमा कार्यालयले रकम जम्मा गर्ने अवस्था नभएपछि फेरि मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारबाट सञ्चालित आयोजना निर्माणका लागि वन विकास कोषमा रकम जम्मा गर्नु नपर्ने निर्णय गर्याे। बैठकले वन ऐन २०७६ को दफा ४५ वमोजिम वन विकास कोषमा व्यहोर्नु पर्ने दायित्व सिर्जना भएका बेला अर्थमन्त्रालयले स्रोत व्यवस्थापन गर्ने गरी रूख कटानको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्ले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन हुन नसक्दा पटक–पटक काठमाडौंं धाइरहनु परेको इन्जिनियर राजन खड्काले बताए। उनले भने, ‘पहिलो निर्णय रूख कटान जग्गा भोगाधिकार र दोस्रो निर्णय रकम जम्मा गर्न नपर्ने,परेको खण्डमा अर्थमन्त्रालले स्रोतको व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि भने पनि काम सुचारु हुन सकेको छैन। मन्त्रिपरिषद्ले निर्णय गरेको ९ भन्दा बढी बितिसक्दा पनि काम अगाडि बढ्नै सकेको छैन।’
खड्काका अनुसार मन्त्रिपरिषद्को निर्णय वन मन्त्रालयले नमान्दा समस्या भएको र थप स्रोत सुनिश्चितताका लागि पहल भइरहेको छ। दुई वर्ष पहिले ठेक्का सम्झौता भइसक्दासमेत रूख कटानको आदेश आउन नसकेको उनले बताए। ठेक्काको म्याद सकिन थालेको खड्काले बताए।
अछामबाट केन्द्रस्तरमा राजनीति गर्ने नेताहरूको भाषणमा प्राथमिकता र कामको प्राथमिकतामा सेतीराजमार्ग नपर्ने गरेको दुखेसो खड्काले गरे। उनले भने, ‘नेताहरूमा कसले जस लिने भन्ने हानथाप मात्र छ। सेतीराजमार्गको फोटो खिच्यो फेसबुकमा हाल्यो, आफ्नो पहलमा भइरहेको छ भनेर स्टाटस पोस्ट गर्ने, काम कहाँ रोकियो, किन रोकियो भन्ने चासो कसैलाई छैन।’ अछामबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेतास्तर हुने राजमार्गको कुनै काम हुन नसकेको उनले बताए।
सेतीराजमार्गअन्तर्गत दक्षिणी खण्डको कैलाली क्षेत्रमा ७२ किलोमिटर,अछाममा ८०, डोटी ४० र बाजुरा क्षेत्रमा १२ किलोमिटर सडक पर्छ। हालसम्म कैलालीको २ किलोमिटर ट्र्याक खुल्न बाँकी छ भने डोटीको ४०,अछामको २४ र बाजुराको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको इन्जिनियर युवराज जोशीले जानकारी दिए। यो वर्ष ७ वटा ठेक्का खोलिएको छ। जसअन्तर्गत कैलालीमा ४ र अछाममा ३ रहेको छ। चालु आर्थिक वर्षका लागि सडकतर्फ ५४ करोड र पुल तर्फ ९ करोड ३८ लाख बजेट रहेको छ। हाल सडक स्तर उन्नतिको कामहरू भइरहेको जोशीले बताए। दक्षिणी खण्ड तर्फ १२ वटा निर्माण कम्पनीहरूले काम गरिरहेका छन्।
कैलालीको टीकापुर भारतसँग जोडिएको तिकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ। ३ सय ५९ कुल लम्बाइ रहेको सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ। राजमार्गको दक्षिणी खण्ड अन्तर्गत साँफेबगरमा र उत्तरी खण्डतर्फ बझागको चैनपुरमा कार्यालय रहेको छ। राजमार्ग निर्माणको काम बजेट अभावका, रूख कटानमा अलमलका कारण अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेको हो।
प्रतिक्रिया दिनुहोस !