कोशीमा दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान

कोशीमा दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान सञ्चालनमा ल्याइएको छ। 

अभियानमार्फत सवारी चालकलाई जिम्मेवार बनाएर दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। विराटनगर बसपार्कबाट आइतबार अभियानको उद्घाटन गरिएको हो। नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको अभियानमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सहजीकरण गर्ने छन्। 

कार्यक्रममा चालक लक्षित प्रतिबद्धतामूलक स्टिकरको लोकार्पण समेत गरिएको छ। स्टिकरका कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वाला, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का प्रदेश अध्यक्ष किशोर धमला, नेपाल ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल यातायात व्यवसायी महासंघका सदस्य राजन कँडेललगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्। 

मजदुर संगठनका अध्यक्ष राईले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सुरु गरिएको बताए। उनका अनुसार अभियानले सवारी चालकहरुलाई बढी जिम्मेवार बनाउने छ। सवारी चालकको प्रतिबद्धता रहेको स्टिकर कोशी प्रदेशमा सञ्चालन हुने प्रत्येक सार्वजनिक सवारीसाधनमा टाँस्ने तयारी रहेको उनले बताए। 

लेन अनुशासनको पालना गर्ने, पैदल यात्रुलाई प्राथमिकता दिने, जथाभावी ‘ओभरटेक’ र ‘पार्किङ’ नगर्ने, तीव्र गतिमा तथा लापसे (लागु पदार्थ सेवन) र मापसे (मादक पदार्थ सेवन) गरेर सवारी नलचाउने एवं सधैं ट्राफिक नियमको पालना गर्ने भनेर चालकले प्रतिबद्धता जनाएको विषय स्टिकरमा छ। राईले प्रतिबद्धतालाई पूरा गर्नु चालकको दायित्व हुने र दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने बताए। 

‘सवारी दुर्घटना अत्यधिक बढ्यो। सरकारको मात्रै आश गरेर नहुने हुँदा यातायात व्यवसायी एवं मजदुर आबद्ध संघ संगठनकै अगुवाइमा नयाँ अभियानको सुरुवात गरिएको हो,’ उनले भने, ‘दैनिक दुर्घटनामा परेर मुलुकभर औसतमा ७–८ जनाको मृत्यु भइरहेको छ भने ४० जनाजति घाइते भइरहेका छन्। १० वर्षको अवधिमा २८ हजार जनाको मृत्यु सवारी दुर्घटनामा परेर भएको छ।’ 

माओवादीले चलाएको १० बर्से द्वन्द्वमा पनि त्यति क्षति नभएको राईको भनाइ छ। ‘माओवादी द्वन्द्व १० वर्ष चल्यो चल्यो। युद्धका बेला १७ हजार जनाले ज्यान गुमाए। सर्वसाधारणले संकटकाललगायत अनेक कष्टको सामना गर्नु पर्यो,’ उनी भन्छन्, ‘तर, त्यो बेलाको भन्दा १० वर्षको अवधिमा दुर्घटनामा परेर मृत्यु भएकाको संख्या धेरै छ। सडक संकटकाल लगाउनुपर्ने अवस्था छ। दुर्घटना न्यूनीकरण गर्न सबैले हातमालो गरौं।’ 

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सडकको अवस्था ठीक नभएकाले पनि दुर्घटना बढेको बताए। ‘अधिकांश दुर्घटनामा चालकको लापरबाही देखिन्छ। ट्राफिक नियमको उल्लंघन लगायतका मानवीय कारण पनि छन्। केही दुर्घटना प्रतिकूल मौसम र सडकको खराब अवस्थाले समेत भएका छन्,’ उनले भने। 

दुर्घटना न्यूनीकरणको उद्देश्य राखेर जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गरिएको जानकारी अधिकारीले दिए। चालु आर्थिक वर्षको हालसम्म १५ हजार हाराहारी जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसबाट ३ लाखभन्दा बढी लाभान्वित भएको उनको भनाइ छ। चालकले सुरक्षित गाडी चलाउनुपर्छ भन्ने महसुस गरेमा दुर्घटना कम हुने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.