दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई
रोल्पा : रोल्पामा आयोजित दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको छ। सदरमुकाम लिबाङमा फागुन १० देखि १४ गतेसम्म सञ्चालन भएको ‘सनस्टार कप–२०८१’ पुलिस क्लबले चुमेको हो।
सर्वाधिक पुरस्कार राशी सहितको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको बुधबार सम्पन्न अन्तिम खेलमा १-३ सेटले पुलिस क्लब विजयी भएको हो। अन्तिम खेलको सुरुमा पुलिस क्लबको टिमले १८ का विरुद्ध २५ अंक सहित पहिलो सेट हात पारेको थियो। आर्मीले १९ का विरुद्ध २५ अंक लिएर दोस्रो सेट आफ्नो पोल्टामा पारेको थियो। तेस्रो र चौथो सेट पुलिस क्लबले कब्जा गर्दै जित निकालेको थियो। तेस्रो र चौथो सेटमा प्रहरीले क्रमशः २५–१४ र २५–२३ अंक सहित बाजी मारेको थियो। यसपालीको खेलमा पनि त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो।
दर्शकको हुटिङले खेल रोमाञ्चक बनेको थियो। राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हेर्न रोल्पालीको घुइँचो लागेपछि खेलाडी समेत हौसिँदै खेल प्रदर्शन गरेका थिए। कोशी प्रदेशले तेस्रो स्थान लियो भने लुम्बिनी प्रदेशले सान्त्वनामै चित्त बुझाउनु पर्यो। कोशी प्रदेश टिम १ का विरुद्ध ३ सेट सहित दोस्रो भएको हो।
उपाधि चुम्न सफल पुलिस क्लबलाई कप, मेडल सहित पाँच लाख राशीले पुरस्कृत गरियो। समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सांसद दिपेन्द्रकुमार पुनमरले पुरस्कार वितरण गरेका थिए। दोस्रो भएको आर्मी क्लब र तेस्रो कोशी प्रदेश टिमलाई मेडल सहित क्रमशः दुई लाख पचास हजार र एक लाख नगद पुरस्कार वितरण गरियो। सान्त्वना स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।
उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका रविन चन्द घोषित भए। उनलाई नगद २० हजार र ट्रफी प्रदान गरियो। बेस्ट सेटर त्रिभुवन आर्मी क्लबका दुर्गाप्रसाद महतो, बेस्ट स्पाइकर त्रिभुवन आर्मी क्लबकै धनबहादुर भट्ट, बेस्ट सर्भर कोशी प्रदेश भलिबल संघका विष्ण बस्नेत, बेस्ट लिवेरो नेपाल पुलिस क्लबका भिमबहादुर गाहा, बेस्ट ब्लकर पुलिस क्लबकै रबिन नगरकोटि र बेस्ट कोच पुलिस क्लबकै चन्द्र कुँवर घोषित भए। उनीहरूलाई जनही ५/५ हजार नगदबाट पुरस्कृत गरियो।
प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, चार प्रादेशिक र आयोजक सहित सात टिम भिडेका थिए। विभागीय टिम सहित कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रादेशिक टिम खेलमा सहभागी थिए। क्लबको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको क्लबका अध्यक्ष पुरण केसीले जनाए।
महिला भलिबलमा परिवर्तन प्रथम
राष्ट्रिय भलिबल प्रतियोगिता सँगसँगै रोल्पा जिल्लास्तरीय महिला भलिबल खेल भएको थियो। महिला भलिबल खेलमा परिवर्तन गाउँपालिकाको टिम प्रथम भयो। सुनिलस्मृति गाउँपालिकाको टिम दोस्रो भयो। तेस्रो स्थान रोल्पा नगरपालिकाको टिम र सान्त्वना लुंग्री गाउँपालिकाको महिला टिम बन्यो। प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ५५ हजार, ३५ हजार र १५ हजार सहित मेडल र प्रमाण पत्र वितरण गरियो। सान्त्वना हुनेले १० हजार प्राप्त गर्यो।
जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता ८ पालिकाको टिम सहभागी भएका थिए। स्थानीय तहको सिफारिसमा टिमलाई प्रतियोगितामा सहभागी गराइएको थियो। १० स्थानीय तह रहेको मध्ये रुन्टीगढी र गंगादेव गाउँपालिकाबाट खेलाडी सहभागी थिएनन्।
प्रतिक्रिया दिनुहोस !