बेसहाराका सहारा थिए, गावैँ रुवाएर गए

बेसहाराका सहारा थिए, गावैँ रुवाएर गए

गुल्मी : कोमल मनका उनी दीनदुःखीको मलिन अनुहार देख्नै हुँदैनथ्यो। बाटोमै गाडी रोक्थे। गाडीभित्र भएका फलफूल, बिस्कुट र नुनतेल किन्ने पैसा दिन्थे। बाल्यकालदेखि संघर्ष गरेर हुर्के।

आफूले भोगेका कैंयौ पीडाले गर्दा पनि होला उनी विपन्नको अनुहार देख्दा निकै भावुक हुन्थे। रोजगारीका लागि कतारमा रहेका उनी जन्मघर पुग्दा धेरैको अनुहारमा खुसी छाउँथ्यो। सबैसँग मीठो बोल्ने। जोसँग पनि घुलमिल भइहाल्ने उनको सरल स्वभाव थियो। त्यसैले गर्दा होला धेरैका लागि आँखामा राख्दा पनि नबिझाउने थिए उनी। कतारबाट उनी एक/दुई महिनामै आउजाउ गर्थे। 

गाउँमा कसैलाई सारोगारो पर्दा उनको पहिलो सहभागी हुन्थ्यो। कसैको मृत्यु हुँदा दाहसंस्कारमा पुगेका मलामीहरूलाई आफ्नै गाडीमा राखेर पालैपालो घरसम्म पुर्‍याएर सहयोग गर्थे। तर, मंगलबार मालिका गाउँपालिका–५ छापहिले गुल्मीका झविन्द्र आचार्यले खोलामा पुगेका मलामीहरूलाई आफ्नो गाडीमा राखेर पुर्‍याउन पाएनन्। किनकि सयौं गाउँलेहरू उनकै मलामी बनेर गएका थिए। 

३९ वर्षीय आचार्यको कतारको आबुहामपुरमा गाडीले हानेर मृत्यु भयो। रोजगारीका सिलसिलामा आचार्य १८ वर्षदेखि कतारमा थिए। श्रमिक हुँदाहुँदै उनी अहिले कतारमा चर्चित व्यवसायी बनिसकेका थिए। घरको आर्थिक अवस्थाले चपेटामा परेर बिदेसिएका आचार्य आफूमात्र स्थापित व्यवसायी भइसकेका थिएनन्, धेरै नेपालीको सहारा पनि थिए। कतारको सडकमा खाना नपाएर सडकमा भौंतारिएकाहरूलाई आचार्यले मासुभात खुवाउथे। 
सडक दुर्घटनामा परेर मृत्यु भएपछि सिंगो गुल्मी अहिले शोकमा छ। कतारमा रहेका नेपालीहरूको त सहारा नै गुम्यो। 

उनी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका पूर्वअध्यक्ष र लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका पूर्वउपाध्यक्ष थिए। अल्पायुमै निधन भएपछि सिंगो गाउँलेको सहारा गुमेको छापहिलेका स्थानीय प्रेमबहादुर खड्काले सुनाए। ‘उहाँ गाउँभरिका नागरिकहरूको सारथि हुनुहुन्थ्यो’, खड्काले भने, ‘सिंगो गाउँ स्तब्ध भएको छ। सामाजिक भावनाका एक होनहार युवालाई गाउँलेले अकालमै गुमायो।’ 

उनको शव सात दिनपछि हेलिकप्टरबाट जन्मगाउँ लिएर अन्त्येष्टि गरिएको छ। अन्तिम दाहसंस्कारका लागि मालिकाको फूलबारीमा सयौं गाउँलेहरू पुगे। गुल्मीका संघीय सांसद् एवं पूर्वमन्त्री गोकर्णराज विष्ट, लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति भुवन श्रेष्ठ उनको अन्तिम दाहसंस्कारमा पुगेर उनको सामाजिक कार्यको प्रशंसा गरे। प्रदेशमन्त्री पन्थी उसैदिन दोहोरो शोकमा थिए। उनकी जेठीआमा यमकुमारी पन्थीको ९८ वर्षको उमेरमा निधन भएको थियो। जेठीआमालाई चितामा दागबत्ती दिएर पन्थी गाउँलेका भरोसा बनेका युवा समाजसेवी आचार्यलाई श्रद्धाञ्जलि दिन पुगेका हुन्।

nullकतारमा ट्याक्सीको ठक्करबाट मृत्यु भएका मालिका गाउँपालिका— ५ छापहिलेका झविन्द्र आचार्यको हेलिकप्टरबाट ल्याएको शव र शोकमा जुटेका गाउँलेहरू ।  तस्बिर : केशरराज क्षेत्री

‘कुनै दिन युवा समाजसेवी आचार्यलाई हेलिकप्टरमा लिएर गाउँमा सम्मान गर्ने सपना बुनेका थियौं।’, श्रद्धाञ्जलि सभामा बोल्दै नेकपा (एमाले) मालिका गाउँ कमिटी अध्यक्ष शोभाखर गिरीले भने, ‘विडम्बना उहाँ हेलिकप्टर चढेर त आउनुभयो तर नबोल्ने गरी। हामीले बोलेका कुरा नसुन्ने गरी। उहाँको भौतिक शरीरमात्र हामीसँग आयो।’ समाजसेवी आचार्यले देखाएका असल कर्मलाई आफूहरूले अनुसरण गर्ने गिरीले सुनाए। उनका अधुरा सपनाहरू पूरा गर्ने समेत गिरीले बताए।

आचार्यले कतारमा रंगरोगनको व्यवसाय गरेर थुप्रै नेपालीहरूलाई रोजगारीसमेत दिएका थिए। ‘उहाँको व्यवसायमा काम गरेर धेरैले रोजगारीसमेत पाएका थिए, उनीहरूको पनि जीविका चलाउने बाटो गुम्यो’, गिरीले सुनाए, ‘गाउँदेखि देश र देशदेखि विदेशमा धेरैको सारथि हुनुहुन्थ्यो, अनाहकमै अस्ताउनु भयो।’ उनी दुई वर्षअघि खुल्ला चुनावी प्रतिस्पर्धाबाट एनआरएन कतारका सहकोषाध्यक्ष विजयी भएका हुन्। 

कतारमा गुल्मी यातायात

कतारको माटोमा गुल्मी यातायात चलाउने उनीमात्रै एक पात्र थिए। त्यहाँ चलाउँदै आएको माइक्रो नचिन्ने नेपाली कमै थिए। गाडीमा लेखिएको गुल्मी यातायात छापहिले शब्दले अझ धेरै नेपालीहरूको मन तानेको थियो। गुल्मी लेखेको गाडी देख्दा धेरैलाई गाउँप्रतिको अपनत्व झल्किन्थ्यो। नेपालमै बसेजस्तै आभास हुन्थ्यो। आफूमात्र चिनिएका थिएनन् आचार्य, सिंगो गाउँ र जिल्लालाई कतारभरि नेपालीको मनमा बसालेका थिए। त्यही गाडीमा कामदारलाई कोठामा पुर्‍याएर फर्किंदा उनलाई गाडीले हानेको थियो। घटनास्थलमै उनको निधन भएको हो।

आचार्यले चलाएको माइक्रोमा समस्या देखिएपछि सडकको किनारामा बिग्रेको गाडी बोक्ने (ब्रेक डाउन) लाई कुरेर बसेको बेला उनलाई गाडीले हानेको हो। उनीसँगै सवार प्रत्यक्षदर्शी पाल्पाका राजेन्द्र काफ्लेका अनुसार बंगलादेशी नागरिकले चलाएको ट्याक्सीले आचार्यलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्याक्सी र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ। 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका कोषाध्यक्ष बुद्ध पाण्डेले सामाजिक क्षेत्रमा समय व्यतीत गर्ने एक युवालाई गुमाउँदा पीडाबोध भएको सुनाए। ‘कतारमा जहाँ नेपालीलाई अप्ठ्यारो पर्दथ्यो त्यहाँ झविन्द्रजीको उपस्थिति हुन्थ्यो’, पाण्डेले भने, ‘आफ्नो लागि त जो पनि बाँच्छ तर समाजका लागि बाँच्नुपर्छ भन्ने भावनाबाट उहाँ ओतप्रोत हुनुहुन्थ्यो। हामी १८ वर्षदेखिसँगै कतारमा काम गर्‍र्यौं। दुवै जना गुल्मीका थियौं। म कोषाध्यक्ष, उहाँ सहकोषाध्यक्ष। अब हामी उहाँका अधुरा सपना पूरा गर्नेछौं।’

सामान्य श्रमिकबाट काम थालेका आचार्यको कतार र नेपालमा स्थापित भइसकेका थिए। जन्मघर गुल्मी छापहिलेसँगै उनको परिवार बुटवलस्थित तिलोत्तमा नगरपालिकाको नयाँमिलमा बस्दै आएको छ। पछिल्ला केही वर्षदेखि आचार्य एक÷दुई महिनामै घर आउजाउ गर्दै आइरहेका थिए। उनका श्रीमती, तीन छोरा, वृद्ध बुवाआमा छन। मृतक आचार्य माइलो छोरा हुन्। 
जीवन्त बन्यो ‘गुल्मी छापहिलेमा’ पन्चैबाजा

उनको भौतिक शरीर छैन। तर, उनलाई जीवन्त बनाउने एउटा पन्चैबाजा गीत छ, ‘गुल्मी छापहिलेमा’। यस गीतमा आचार्य र उनकी श्रीमती अमृता आचार्यको अभिनय छ। उनको लगानीमा गीत निकालिएको छ। दुई वर्षअघि सार्वजनिक उनको यस गीतलाई झन्डै साढे नौ लाख दर्शकले हेरेका छन्। पन्चैबाजा बजाएर विवाह गर्ने उनको सपना थियो। तर, सोचेअनुसार विवाह गर्न नपाएपछि उनले छापहिलेमा पन्चैबाजा गीत निकालिएका थिए। 

आफ्नै जन्मगाउँमा छापहिलेमा छायांकन गरिएको गीतमा उनको धोको मेट्ने गरी विवाहको झल्को दिइएको छ। गीत छायांकन गर्नेबेला आचार्यले गाउँलेहरूलाई भोजसमेत दिएका थिए। यही गीतले गुल्मीको पश्चिम क्षेत्रमा रहेको एउटा गाउँ, छापहिलेलाई धेरैले चिन्ने मौका पाएका छन्। 
सामाजिक र सिर्जनशील कामले मृतक आचार्यलाई जीवन्त बनाइरहने छापहिलेका स्थानीय लोकेन्द्र खड्काले प्रतिक्रिया दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.