एमाले मोरङको अधिवेशन लम्बियो, नेतृत्व चयनका लागि भोलि मतदान

एमाले मोरङको अधिवेशन लम्बियो, नेतृत्व चयनका लागि भोलि मतदान

विराटनगर : नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन लम्बिएको छ। फागुन १७ गते शनिबारदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने तयारी थियो। तर, निर्धारित समयमा अधिवेशन सम्पन्न भएन। अनेक विवादका बीच निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने तयारी भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि भोलि (मंगलबार) मतदान हुने लगभग पक्का भएको छ। नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि त्यो सम्भावना लगभग टरेको छ। 

नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको हो। उम्मेदवारको मनोनयन दर्ता दिउँसोबाट सुरु भएको थियो। अहिले पनि चलिरहेको छ। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार विभिन्न प्राविधिक समस्याले गर्दा आज (सोमबार) निर्वाचन सम्भव भएन। सम्भवतः नेतृत्व चयनका लागि भोलि बिहान ९ बजेदेखि मतदान सुरु हुने उनको भनाइ छ। अधिवेशनको उद्घाटन पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका थिए। तर, मनोनित प्रतिनिधिको विषयमा विवाद भएपछि तोकिएको समयमा अधिवेशन नसकिएको हो। नयाँ नेतृत्व चयन निर्वाचनमार्फत नै गर्नुपर्ने अवस्था आएपछि अधिवेशनसमेत लम्बिएको छ। 

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ। इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्। इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन्। 

एमाले मोरङको कार्यसमिति १ सय ६५ सदस्यीय हुने छ। दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन्। अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन्। नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिले नै मतदान गर्ने हुन्। एमाले मोरङको नेतृत्व हत्याउन २ वटा प्यानल मैदानमा छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको संस्थापन र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको इतर प्यानल भनेर चर्चा गर्ने गरिएको छ। यद्यपि, पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आइसकेकी छैनन्। 

विनोद ढकाल उनीनिकट नेता भनेर चिनिन्छन्। ढकाल लामो समय अध्यक्ष ओली निकट भएर चिनिएका थिए। तर, गतवर्ष पार्टीको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडासँग पराजित भएपछि उनी खुलेर फरक गुटको नेतृत्व गरिरहेका छन्। गत माघ १४ गतेदेखि १ सातासम्म चलेको पूर्वराष्ट्रपति भण्डारीको विराटनगर यात्राका क्रममा भेटघाटको व्यवस्थापन ढकालले नै मिलाएका थिए। जिल्लामा आफूलाई संस्थापन बताउने समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन्। 

यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे लगायत छन्। संस्थापन पक्षले आफ्नो समूहसँग ६० प्रतिशत प्रतिनिधि रहेको दाबी गरेको छ। इतर पक्ष पनि आफूसँग ६० प्रतिशत प्रतिनिधि रहेको दाबी गर्छ। 

इतर पक्षका नेता ढकाल मोरङमा प्रभाव जमाएका नेता हुन्। भूगोल र जनवर्गीय संगठनबाट आउने पदाधिकारीमा ढकाल पक्षको वर्चश्व देखिएपछि संस्थापन पक्षले ४६ जना आफू निकटलाई अधिवेशन प्रतिनिधि मनोनित गरेको स्रोतको दाबी छ। मनोनित प्रतिनिधिकै विषयलाई लिएर इतर पक्षले बन्दसत्रमा आइतबार प्रदर्शन र नाराबाजी गरेको थियो। इतर पक्षको विरोधले निर्वाचन कार्यक्रम नै प्रभावित बन्न पुग्यो। अधिवेशन लम्बिनुको एउटा कारण इतर पक्षको विरोध प्रदर्शन पनि हो। 

आइतबारबाट सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया आज दिउँसोबाट मात्रै सुरु भएको छ। इतर पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिएका सागर थापाले निर्वाचनबाटै नयाँ नेतृत्व चयन हुने बताए। संस्थापन पक्षबाट सचिवमा उम्मेदवारी दिएका रविन थापाले पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना क्षीण भएर गएको बताए। निर्वाचनमार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ। 

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा निर्वाचनमा संस्थापन र इतर पक्षबीच प्रतिस्पर्धा हुने स्वीकार गर्छन्। ‘पार्टीको निर्णय कार्यान्वयन गर्न इमान्दारितापूर्वक लाग्नेहरुले आफूलाई संस्थापन भन्छन्,’ उनले भने, ‘पार्टीलाई देखाइदिन्छु, चखाइदिन्छु, मान्दिनँ भन्ने इतर होलान्।’

तर, इतर पक्षको नेतृत्व पूर्वराष्ट्रपति भण्डारीले गरेको भन्नु गलत हुने खतिवडाको भनाइ छ। उनका अनुसार जिल्ला अधिवेशनमा भण्डारीको कुनै भूमिका छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.