घाँस काट्ने क्रममा रुखको हाँगाले लागेर मृत्यु
विराटनगर : मोरङको बेलबारीमा घाँस लिनलाई जंगल गएका साथीले काटेको रुखको हाँगाले लागेर सोमबार एक जनाको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार रुखको हाँगाले लागेर बेलबारी नगरपालिका–४ का ५७ वर्षीय टेकप्रसाद भट्टराईको मृत्यु भएको हो। भट्टराई साथीहरुसँग बाख्रालाई घाँस काट्नका लागि देवीथान सामुदायिक वनमा गएका थिए।
डीएसपी जोशीका अनुसार बेलबारी–४ का ४० वर्षीय बालकृष्ण आचार्यले काटेको कुम्भीको रुखको हाँगाले भट्टराईको टाउकोमा लागेको थियो। बिहान ८:३० बजेतिर रुखको हाँगाले लागेर भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाएको छ। प्रहरीले आचार्यलाई भने नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए।
प्रतिक्रिया दिनुहोस !