एमाले मोरङको १० औं अधिवेशन : ३२५ जनाको उम्मेदवारी, मतदानको तयारी
विराटनगर : नेकपा (एमाले) मोरङको १० औं अधिवेशनका लागि ३ सय २५ जनाले उम्मेदवारी दिएका छन्। एमाले कार्यसमिति ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय हुने छ। पार्टीको नयाँ नेतृत्वका लागि ३ सय २५ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ले बताए। निर्वाचन कमिटीले सोमबार राति उम्मेदवारको नामावली प्रकाशन गरेको थियो।
श्रेष्ठका अनुसार आज (मंगलबार) बिहान दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम छ। एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेबाट मतदान सुरु गर्ने तयारी रहेको उनले बताए। नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि त्यो सम्भावना टरेका कारण निर्वाचन प्रक्रिया अवलम्बन गर्नुपर्ने अवस्था आएको हो।
श्रेष्ठका अनुसार विविध प्राविधिक कारणले सोमबार निर्वाचन सम्भव भएन। फागुन १७ गते शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो। तर, मनोनित प्रतिनिधिको विषयमा विवाद बढेपछि अधिवेशन लम्बिएको छ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको छ। इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्। इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन्।
दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन्। अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छानिएका छन्। नेतृत्व चयनका लागि प्रतिनिधिले मतदान गर्ने हुन्। मतदानपछि विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा मतगणना हुने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !