एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिए युवा–युवती

एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिए युवा–युवती
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा सोमबार बिहान एउटै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा विवाहित युवा–युवती मृत फेला परेका छन्। 

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रुखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा विवाहित जोडी मृत फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए। उनका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दालाई नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको हो।  

एउटै डोरीको पासो लगाएर रुखको हाँगोमा झुन्डिएको अवस्थामा बिहान साढे १० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै डीएसपी दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली पनि घटनास्थलतर्फ जाँदैछन्। 

प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ। उनी घरमा वा माइतीमा कता बस्थिन् भन्ने खुल्न सकिरहेको छैन। माइती पक्षलाई खबर भइसकेको छ। माइती पक्ष घटनास्थल आउने क्रममा रहेको प्रहरीले जनाएको छ। मृत फेला परेकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका दुई जना छोरा रहेको डीएसपी दाहालले बताए। 

जुबामुनीका डेढ वर्षका छोरा रहेको उनको भनाइ छ। दाहालका अनुसार अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको पत्ता लागेको छ। अजयको घरमा खाना खाएर राति नै उनी निस्किएको पाइएको प्रहरीले जनाको छ। दुवै जनाबीच निक्कै पहिलेदेखि सम्पर्क रहेको प्रहरीले पत्ता लगाएको छ। सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै जना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 

डीएसपी दाहाल पारिवारिक तनाव र दबाबका कारण प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने बताउँछन्। ‘घटनास्थलको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ। तर, थप कुरा यकिन भइसकेको छैन। घटनास्थल मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाउँछौं। थप कुरा अनुसन्धानपछि मात्रै खुल्छ,’ दाहाल भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.