एमाले मोरङको अधिवेशन : फेरि सर्यो मतदान
विराटनगर : नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि हुनुपर्ने मतदान फेरि सरेको छ। पार्टीको १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने भनिएको थियो। तर, मतदान बुधबार बिहानसम्मका लागि सरेको छ। निर्वाचन समितिले मंगलबार बिहान ९ बजेबाट मतदान सुरु गर्ने बताएको थियो। सहमतिको प्रयास गर्ने भन्दै पुनः दिउँसोका लागि सारियो।
मतपत्र छपाइमा समय लाग्ने भन्दै निर्वाचन समितिले मतदानको समय पुनः सारेको छ। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बुधबार बिहान ७ बजेबाट विराटनगरको होटल मनास्लु इनमा मतदान सुरु हुने बताए। पार्टीको जिल्ला अधिवेशन त्यही होटलमा फागुन १७ गतेदेखि चलिरहेको छ। श्रेष्ठका अनुसार मतदानको समय बुधबार बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्मलाई तोकिएको छ।
५ जना पदाधिकारीसहित १ सय ६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेको जानकारी श्रेष्ठले दिए। सुरुमा ३ सय २५ जनाले मनोनयन दर्ता गरेका थिए। तीमध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। चुनावी मैदानमा १ सय ९१ जना छन्। श्रेष्ठका अनुसार उम्मेदवारी फिर्तादेखि अन्य प्राविधिक विषय मिलाउनलाई समय लागेका कारण तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो।
निर्वाचनका लागि मतपत्रको छपाइ लगभग सकिएको उनले बताए। १ पटकमा २० जनाले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको श्रेष्ठको भनाइ छ। उम्मेदवार धेरै भएका कारण १ जना मतदातालाई भोट हाल्न १५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरलाई संस्थापन भनिएको छ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्। इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन्। ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर हुन्। यद्यपि, भण्डारी सक्रिय राजनीतिमा आइसकेकी छैनन्। दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन्। अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन्।
एमाले मोरङको जिल्ला अधिवेशन फागुन १७ गतेबाट सुरु भएको थियो। नयाँ नेतृत्व चयन गर्दै सोमबारसम्ममा अधिवेशन सम्पन्न गर्ने तयारी थियो। तर, २ दिन ढिला भइसक्दा पनि नेतृत्व चयनका लागि मतदान हुन सकिरहेको छैन। समयमा मतदान नभएपछि प्रतिनिधिमा नैराश्यता छाएको एक नेता बताउँछन्।
प्रतिक्रिया दिनुहोस !