कोशी पूजा गरेर माझी समुदायले मनाए लदी पर्व
धनकुटा : सीमान्तकृत माझी जातिले कोशी पूजा गरेर लदी पर्व मनाएका छन् । माझीले हरेक वर्ष फागुनको तेस्रो मंगलवार विशेष पर्वको रूपमा लदी पर्व मनाउने चलन छ ।
धनकुटाका तमोरगढको बस्तीमा रहेका माझी जातिले पनि लदी पर्व धुमधामका साथ मनाएका छन् । तमोर गढको बस्ती भैसेटार, फलामेटार, सदमटार, साप्तिङटार, अरुण नदीको गढ लेगुवा क्षेत्रमा बसोबास गर्ने माझी जातिको दुई सयभन्दा बढी घरपरिवारको बसोबास छ । उनीहरूले तमोर तथा अरुण नदीमा पूजाआजा गरी लदी पर्व मनाएका हुन्।
नदीमा माछा मार्दा र डुङ्गा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित वर्षेनि माझी जातिले लदी पर्वको दिन कोशीमा विशेष पूजाआजा गर्दै आइरहेका छन् ।

माझी जातिले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन् । तमोर गढको वस्तीमा समुदायको बाक्लो बसोबास रहेको छ । पछिल्लो समय लोप हुँदै गएको अवस्थामा माझी जाति यूवाहरुको सक्रियतामा लदी पर्व धुमधामका साथ मनाइएको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का महेन्द्र माझीले बताए ।
सडक विस्तार गर्ने क्रममा नदिनालामा पुल निर्माण भएसँगै माझी जाति मुख्य पेशा माछा मार्ने, डुंगा (नाउ) मा मानिसहरुलाई नदी तार्ने काम बन्द भएपछि लदि पर्व मनाउने चलन पनि बन्द भएको थियो । तर लदि पर्वलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले विगत तीन वर्षदेखि मनाउन सुरु गरिएको हो । लदी पूजाले माझी जातिबीच भेटघाट गर्ने अवसर समेत जुर्ने गरेको छ ।
लदि पूजामा आएका माझी जातिले मौलिक पोसाक गुनिउचोली र फेटा स्टकोटमा सजिएका थिए । चामलको पिठोबाट बन्ने गोलमाडी परिकार खाने चलन रहेको छ ।
माझी जातिको लदी पर्व संरक्षणको लागि पछिल्लो समय स्थानीय तहले पनि सहयोग गर्दै आइरहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
तमोर नदीको किनारमा ढुंगाको देवता, सिमली र वाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुङ्गोलाई पूजा गर्ने चलन छ । माझी समुदायले मुख्य पर्वको रुपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !