राजनीतिक छायामा स्ववियु निर्वाचन

चैत ५ मा स्ववियु निर्वाचन

राजनीतिक छायामा स्ववियु निर्वाचन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यालय युनियनको निर्वाचन राजनीतिक  छायामा परेको छ। लामो समयपछि चैत ५ मा देशव्यापी रूपमा स्ववियु निर्वाचनको मिति तोकिएको छ। तर, विगत जस्तो न महत्व पाएको छ, न त आमविद्यार्थीमा आकर्षण नै छ। हुन त, ०६५ सालपछि देशभर स्ववियु निर्वाचन नै हुन सकेको थिएन। 

०७३ सालमा उपत्यका भित्रका विश्वविद्यालय र क्याम्पसमा निर्वाचन भए पनि काठमाडौं बाहिरका धेरै क्याम्पसमा चुनाव भएन। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ। 

फागुन १९ गते करिब ४ सय क्याम्पसमा विद्यार्थी संगठनले चुनावमा भाग लिनका लागि नाम दर्ता गराएका छन्। फागुन २७ गते उम्मेदवारी दर्ता हुँदै छ। करिब ९ सय कलेजमा निर्वाचन हुनुपर्ने हो तर आधाभन्दा कममा मात्रै विद्यार्थीका संघ–संगठन दर्ता भएका छन्। यसपटक आम विद्यार्थीमा स्ववियु निर्वाचनको खासै चासो पनि छैन। नयाँ पुस्ताका विद्यार्थीलाई विद्यार्थी संघ, संगठनले आकर्षण गर्न सकेका छैनन्।  

विद्यार्थी संघ–संगठनले नयाँ पुस्ताका विद्यार्थीलाई आकर्षण गर्ने शैक्षिक मुद्दा पनि समयसापेक्ष रूपमा ल्याउन सकेका छैनन्। नयाँ पुस्ता विद्यार्थी राजनीतिप्रति नै आकर्षित छैन। अर्कोतिर विश्वविद्यालय, कलेजमा भन्दा इन्स्टिच्युट, कन्सल्टेसीतिर विद्यार्थी छन्। विदेश मोहका कारण विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दो छ।   

रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वसभापति दामोदर अर्याल राजनीतिप्रति नै वितृष्णाले नै स्ववियु निर्वाचनको पनि महत्व घटेको बताए। ‘अहिले राजनीतिप्रति नै वितृष्णा छ, त्यसैले पनि स्ववियु निर्वाचनाको पनि चार्म छैन,’ उनले भने।    

०४५ सालका  स्ववियु सभापति अर्याल  हाल  राजनीतिक र शैक्षिक विषयमा ठूलो मुद्दा पनि नभएकाले  स्ववियु निर्वाचनको महत्व नदेखिएको बताउँछन्।

भन्छन्,  ‘हामी त स्ववियु सभापति भएपछि व्यवस्था फाक्ने भन्दै लागेका हौं, त्यो बेला पञ्चायती निरंकुश व्यवस्था थियो।  हाम्रो उद्देश्य नै यो व्यवस्थालाई फालेर बहुदलीय व्यवस्था ल्याउनु भन्ने थियो। ०६२÷६३ मा  गणतन्त्र  ल्याउनु पर्ने थियो।  तर अहिले यस्तो कुनै ठूलो मुद्दा छैनन्।’  पछिल्लो समयमा कुनै ठूलो आन्दोलन र राजनीतिक मुद्दा  नभएका कारणले स्ववियु निर्वाचनको महत्व  घटेको उनको  तर्क छ। 

अखिल (क्रान्तिकारी)का निवर्तमान उपमहासचिव तुलसीमणि केसी पनि निर्वाचन नियमित रूपमा नभएका कारण छाँयामा परेको स्वीकार गर्छन्। विद्यार्थी संघसगठनले नयाँ पुस्ताका विद्यार्थीलाई आकर्षण गर्न नसकेको उनको अनुभव छ। उनी विद्यार्थी संगठन पनि समयसापेक्ष परिवर्तन हुन नसकेको बताउँछन्।  एकातिर लामो समय निर्वाचन नहुँदा भ्याकुम सिर्जना भयो, विद्यार्थीमा स्ववियु निर्वाचनको महत्व नै थाहा हुन  पाएन,  उनले भने, ‘विद्यार्थी संगठन पनि शैक्षिक मुद्दामा गहिरोरुपमा लागेनन्, यसले युवा पुस्तामा राजनीति प्रति नै मोह भंग भयो।’ 

कतिपय विद्यार्थी संगठन लामो सयम त आन्तरिक विवादमा नै रुमलिरहेका छन्।    

विद्यार्थी संगठन एक्ला एक्लै लड्ने 

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु,  नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) एक्ला एक्लै स्ववियु चुनाव लड्ने तयारीमा  छन्। नेविसंघका अध्यक्ष दुर्जन शेर्पाले अहिलेसम्मको स्थितिले आफ्नो संगठन एक्लै लड्ने तयारीमा रहेको बताए। ‘कुनै संगठनसँग मिलेर जाने भन्ने भएको छैन, त्यसैले एक्लाएक्लै निर्वाचनमा जान्छौं होला,’ उनले भने। अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि आफ्नो संगठन एक्लै मैदानमा उत्रिने बताउँछन्। ‘मुख्य प्रतिस्पर्धी संगठन नेविसंघ र अनेरास्वविय नै हौं र दुवै संगठन एक्ला एक्लै निर्वाचनमा होमिने छौ,’ उनले भने। उनले देशभर स्ववियु निर्वाचनसम्म अनेरास्ववियुले कुनै पनि कलेजमा तालबन्दी र बन्द हड्ताल पनि  नगर्ने बताए।  उनले उम्मेदवारी चयन प्रक्रिया भइरहेको जानकारी दिए।  अखिल (क्रान्तिकारी)का निवर्तमान उपमहासचिव केसी पनि स्ववियु निर्वाचनमा  आफ्नो संगठनले एक्लै लड्ने तयारी गरेको बताए।  जिल्ला वा क्याम्पस विशेषमा सहकार्य हुन सक्ने भए पनि मुलत संगठनले एक्लै लड्ने तयारी गरेको बताए। उनले उम्मेदवार चयन प्रक्रिया भइरहेको जानकारी दिए। तीनैवटै संगठन निर्वाचन आफ्नो पक्षमा आउने दाबी गर्छन्। तर, पनि मुख्य प्रतिस्पर्धा कांग्रेस निकट नेविसंघ,  एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल(क्रान्तिकारी)बीच नै हुने देखिएको छ।   यसबाहेक एकीकृत समाजवादी निकट अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, सुधारवादी विद्यार्थी संघ, अनेरास्ववियु (छैटांै), स्वतन्त्र विद्यार्थी (त्रिवि), अखिल (क्रान्तिकारी) बहुमत, मधेसवादी विद्यार्थी संगठन पनि चुनावी मैदानमा छन्।  

 अध्यक्ष,  सचिव र कोषाध्यक्षको प्रत्यक्ष निर्वाचन 

स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र तीन सदस्यका लागि प्रत्यक्ष निर्वाचन हुन्छ। पाँच जना समानुपातिक सदस्य मध्येबाट  एक उपाध्यक्ष, एक सहायक सचिव र ३ सदस्य चुनिनेछन्।

२८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको विद्यार्थीले मात्रै उम्मेदवार हुन पाउनेछन्। प्रत्यक्षमा उम्मेदवार भएका विद्यार्थीले समानुपतिकतर्फ उम्मेदवार हुन पाउने छैन्न। स्ववियु निर्वाचनका लागि आचारसंहिता पनि  जारी भइरहेको छ। कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनको कुनै पनि प्रकृयामा सहभागी हुन पाउने छैनन्।

आचारसंहिताअनुसार  स्नातकोत्तर तह प्रथम सेमेस्टर, स्नातक तह प्रथम सेमेस्टर र स्नातक तह प्रथम वर्षमा (वार्षिक प्रणालीअन्तर्गत) विद्यार्थी भर्नासम्बन्धी शिक्षाध्यक्ष तथा डीन कार्यालयबाट सूचना जारी गरी तोकिएको मितिसम्म भर्ना भएका विद्यार्थीहरू मात्र र अन्य सेमेस्टर र वर्षमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा पाँच दिन अघिसम्म नियमानुसार भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गरिने छ।  प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीहरू मतदाता नामावलीमा समावेश गरिने छैनन्। 

त्यस्तै, नेपाल संस्कृत विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार संगठन दर्ता फागुन २७ गते रहेको छ भने मतदान चैत १० गते तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.