युवा उद्यमी सिर्जना शाक्य ज्योतीको विद्यार्थी जीवन विशेषगरी भारतमै बित्यो। स्कुल जीवनमै दार्जलिङ गएकी उनले प्लस टु मसुरीबाट उत्तीर्ण गरिन्। बैंगलोरमा अर्थशास्त्रमा स्नातक सकाउन्जेल उनले भारतको अर्थशास्त्रको बारेमा करिब सबै बुझिसकेकी थिइन्। नेपाल फर्केर काम गर्ने हो भने नेपाली अर्थतन्त्रको बारेमा पनि बुझ्नुपर्छ भन्ने लागेपछि उनी नेपाल फर्किइन्। काठमाडौं विश्वविद्यालयअन्र्तगतको कुसुमबाट एमबीए पूरा गरिन्।
त्यतिबेला एमबीए गर्ने विद्यार्थी निकै कम हुन्थे। पास आउट हुनासाथ बजारमा उनीहरूको अत्यधिक माग थियो। त्यसैले एमबीए सकाएर उनी मुस्किलले दुई साता पनि घरमा बस्न पाइनन्। तुरुन्तै थम्पसन नेपाल नामक विज्ञापन एजेन्सीमा ‘अन द जब ट्रेनिङ’को अवसर जुरिहाल्यो। कसरी विज्ञापन बनाउने, कसरी प्रस्तुत गर्ने, कसरी मिडियासँग सम्झौता गर्नेलगायतका विषय उनले राम्ररी बुझिन्। त्यहाँ उनलाई तलब राम्रै दिइएको थियो। तर, धेरै पेलान भएपछि उनलाई त्यहाँ काम गर्न मन लागेन।
यसैबीच उनको विवाहको पनि कुराकानी चल्यो। उनका श्रीमान्को परिवार काठमाडौंको परम्परागत नेवार परिवार थियो। त्यतिबेला परिवारमा बुहारीहरू पारिवारिक व्यापारमा आएर काम गर्ने चलन थिएन। त्यसैले विवाहपछि आफूले काम छाड्नै पर्छ भन्ने उनले मानसिकता बनाइसकेकी थिइन्। विवाहको पहिलो २,३ वर्ष त गृहिणी बनेर परिवारमै उनी रमाइन्। त्यसपछि उनलाई बाहिर काम गर्न मन लाग्यो र युनिलिभर कम्पनीमा जागिर सुरु गरिन्। आफू गर्भवती भए पछि उनले त्यो जागिर छाड्नुप¥यो।
छोरा प्ले स्कुल जान थालेपछि उनले आफ्नै इभेन्ट म्यानेजमेन्ट कम्पनी सुरु गरिन्। ‘मैले कुनै राम्रो कारणका लागि सामाजिक काम गरिरहेका गैरसरकारी संस्थाका लागि मात्र म इभेन्ट म्यानेज गर्छु भन्ने सोचाइले कम्पनी खोलेकी थिएँ। तर, यसै क्रममा छोरी जन्मिएपछि फेरि मेरो काममा ब्रेक लाग्यो’ उनले भनिन्।
कुनै पनि कार्यक्रमको तयारी गर्दा राति अबेरसम्म बस्नुपर्ने भएकाले बच्चा जन्मिएपछि त्यस कामलाई अगाडि बढाउन सम्भव भएन। छोरी स्कुल जान थालेपछि अब आफ्नोे करिअरको बारेमा सोच्नै पर्छ भन्ने उनलाई लाग्यो। ‘मेरो पहिलो प्राथमिकता बाहिर काम गर्छु भन्ने नै थियो। पारिवारिक व्यापारमा धेरै प्रतिबन्धहरू होलान् जस्तो लाग्थ्यो। त्यसमाथि पनि त्यतिबेलासम्म कुनै पनि बुहारीले कामै गरेका थिएनन्’, उनी स्मरण गर्छिन्।
उनले यसै सन्दर्भमा परिवारसँग सल्लाह गरिन्। बाहिर गरे साना छोराछोरीलाई समय दिन नसक्ने भन्ने भएपछि आफ्नैमा गर्ने निष्कर्षमा उनी पुगिन्। उनले आफ्नो विशेषज्ञताको आधारमा मिडिया र मार्केटिङ विभागको सेट अप गरिन्। गर्दै जाँदा उनी उक्त काममा पनि रमाउन सकिनन्। त्यसपछि उनी भारतको दिल्लीमा ८ महिनाको तालिममा गइन्। तालिममा उनका श्रीमान्, देवर र देउरानी पनि संलग्न थिए। सबैले त्यहाँ पढेर सिस्टम सिक्ने र यहाँ ल्याएर कार्यान्वयनमा ल्याउने भन्ने सोच थियो। हरेक व्यापार एउटा निश्चित सिस्टममा चल्ने भएकाले कुनै पनि व्यापारमा आफूलाई ज्ञान नहुँदा पनि कसरी राम्ररी सञ्चालन गर्न सकिन्छ भन्ने उनले दिल्लीमा सिकिन्। ‘कुनै पनि बिजिनेसलाई सेटअप गर्नु बढी महत्वपूण हो भन्ने मैले त्यहाँ सिकेँ। आफूले बिजिनेसमा कसरी नाफा कमाउने भन्ने पनि बुझेँ’, उनले भनिन्।
त्यसपछि परिवारको कुनै सदस्यको संलग्नता बिना नै म एउटा युनिट ह्यान्डल गर्न सक्छु भन्ने आत्मविश्वास उनमा पलायो। ‘मलाई जे राम्रो लाग्छ त्यसरी नै चलाउँछु। तर, प्रत्येक वर्षको अन्तमा भने व्यापारको नाफा देखाउँछु भन्ने लाग्यो’, उनी स्मरण गर्छिन्, ‘त्यसपछि पूरै होन्डा कार मैले मात्र हेर्न थालेँ। डिजिटल मार्केटिङ पनि पूरै म हेर्छु भन्ने लाग्यो।’
काम गर्दै जाने क्रममा उनलाई लाग्यो कि ज्योति ग्रुपमा एउटा यस्तो व्यापार हुनुपर्छ जुन उनी स्वयंले सेटअप गरेकी हुन्। त्यसैले आउटसोर्सिङ फर्म सुरु गरिन्। अस्ट्रेलियाको कम्पनीसँग मिलेर उनले काम थालिन्। करिब दुई वर्षदेखि सुरु उक्त काम निरन्तर नाफामै छ। अब गुणस्तरीय घरायसी सरसामानको व्यापार बिस्तार गर्ने उनको चाहाना छ।
यसरी अधिकत्तम ३,४ वटा बिजिनेस आफूले सेट गर्ने उनको लक्ष्य छ। सेटअप गरिसकेको बिजिनेस अगाडि बढाउन सजिलो छ तर नयाँ सुरु गरेर स्थापित गर्न गाह्रो र चुनौतीपूर्ण रहेको उनको अनुभव छ।
हाल उनी पद्म ज्योति ग्रुपको स्याकार कम्पनीअन्तर्गत होन्डा गाडीको युनिटमा प्रवन्ध निर्देशक, ह्वाइटह्याट अपरेसन निर्देशक र युनिभर्सलमा अध्यक्ष छन्। यसरी उनले हेर्ने हरेक युनिटमा उनी विभिन्न पदमा रहेर काम गर्छिन्। तर काम गर्ने क्रममा उनी विशेषगरी अपरेसनमा रमाउँछिन्। कुनै पनि कामलाई कसरी राम्रोसँग सम्पन्न गराउने भन्नेमा आफू बढी अब्बल रहेको उनी ठान्छिन्।
नयाँ पुस्ता आफ्नो व्यवसाय सम्हाल्न आउँदा उनीहरू सिस्टम बनाउने काममा अल्झिनु नपरोस् भन्नेमा उनी सचेत छिन्। त्यसैले कम्तीमा पनि अपरेसनको सिस्टम बसालिदिउँ भन्ने उनको सोचाइ छ। ताकि नयाँ पुस्ताले व्यवसायलाई कसरी बिस्तार गर्ने भन्नेमा मात्र ध्यान केन्द्रित गर्न सकुन् भन्ने उद्देश्यकासाथ उनी कर्मक्षेत्रमा खटिरहेकी छन्।
परिवारको साथ पाएर आफूलाई यहाँसम्म आउन निकै सहज भएको उनी स्वीकार्छिन्। हरेक महिना उनको घरमा ‘फ्यामिलि मिटिङ’ हुन्छ। बैठकमा सबै सदस्यहरूले आफूले गरिरहेको कामको बारेमा जानकारी गराउँछन्। काममा कसैलाई समस्या परे खुलेरै राख्ने गर्छन्। यसले गर्दा सबैलाई स्वतन्त्र रूपमा काम गर्न सहज भएको उनको अनुभव छ।
‘हामी ६ जना नै बस्छौं र सबैलाई आफ्नो कुरा राख्ने अधिकार हुन्छ। मैले ह्यान्डल गरिरहेको युनिटमा यो मिलेन, तिम्रो यस्तो भयो भनेर कसैले इन्टरफेयर गर्दैन। त्यसमा सम्पूर्ण रूपमा मेरो निर्णयमा चल्छ। हामीलाई आफ्नो हिसाबमा काम अगाडि बढाउने स्वतन्त्रता छ’, उनले प्रष्ट्याइन्। ‘यो ज्योति ग्रुपको कम्पनीको उत्पादन हो, यसले नचाहीने सामान बेच्दैन’ यो विश्वास ग्राहकमाझ कमाइसकेको उनी दाबी गर्छिन्। कार्यस्थलमा सबैले एकअर्काको विश्वास र सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ उनी अगाडि बढ्छिन्।
कुनै पनि महिलालाई एउटा सफल उद्यमी बन्न उनी आत्मविश्वास जरुरी ठान्छिन्। महिलालाई अबसर दिइनुपर्ने र उनीहरूले सानो ठूलो नभनी आफ्नो कामलाई मेहनतका साथ अगाडि बढाए सफलता मिल्ने उनले बताइन्। अहिलेको अत्याधुनिक जमानामा कुनै पनि महिलाले आफ्नो व्यवसायलाई विस्तार गर्न आफू प्रविधि मैत्री हुनैपर्ने उनको धारणा छ। यदि कुनै महिलाले उद्यम गर्न चाहान्छन् भने सबैभन्दा पहिले अन्त कतै गरेर अनुभव बटुल्न र पछि आफ्नो काम सुरु गर्न उनी सुझाव दिन्छिन्।
प्रतिक्रिया दिनुहोस !