पर्यटकको पर्खाइमा मनास्लु उपत्यका

पर्यटकको पर्खाइमा मनास्लु उपत्यका

गोरखा : प्रसिद्ध पर्यटकीय पदमार्गका रूपमा विकास भइरहेको मनास्लु उपत्यका यतिबेला पर्यटक आगमनको पर्खाइमा छ। वसन्त सिजन सुरु हुन लागेपछि स्थानीयवासीले पदमार्ग मर्मतसम्भार गरेका छन् भने व्यवसायीहरूले होटल साजसज्जा गर्न थालेका छन्।

फागुन दोस्रो सातासम्म एक सयभन्दा धेरै विदेशी पर्यटक मनास्लु क्षेत्रमा प्रवेश गरिसकेका होटल व्यवसायीहरू बताउँछन्। ‘अहिले पनि दिनहुँ २०÷३० पर्यटक यो पदमार्गमा हिँड्छन्’, चुमनुब्री–५ ड्याङस्थित होटल व्यवसायी चन्द्र गुरुङ भन्छन्, ‘केही दिनयता सयभन्दा धेरै पर्यटक यहाँबाट उँभो गइसकेका छन्।’ पर्यटकको आगमन बर्सेनि बढ्दै गएको उनले बताए। 

मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार गत वर्ष सन् २०२४ मा यस क्षेत्रमा १० हजार ६ सय विदेशी पर्यटकले भ्रमण गरेका थिए। त्यसअघि सन् २०२३ मा उक्त क्षेत्रमा ९ हजार १ सय ७७ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए।

गत वर्षभन्दा यस वर्ष पर्यटक संख्या वृद्धि हुने अपेक्षा मनास्लु क्षेत्रका व्यवसायीको छ। ‘सिजनमा त खचाखच पर्यटक हुन्छन्। उनीहरूलाई सेवासुविधा पु¥याउनै यस क्षेत्रका होटललाई हम्मेहम्मे हुन्छ’, होटल व्यवस्थापन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले भने, ‘त्यसैले व्यवसायीले पर्यटकलाई सेवासुविधा दिन आँखा चिम्लेर पूर्वाधार थप गरिरहेका छन्।’ मनास्लु संरक्षण क्षेत्रमा साना ठूला गरी सयभन्दा धेरै होटल लजहरू सञ्चालनमा रहेको उनले जानकारी दिए।

  •     वसन्त सिजनको आगमनसँगै पदमार्ग मर्मतसम्भारदेखि होटलको साजसज्जा हुन सुरु
  •     सन् २०२४ मा १० हजार ६ सय विदेशी पर्यटकले भ्रमण गरेकोमा यस वर्ष अझै बढ्ने अपेक्षा

मनास्लु क्षेत्रअन्तर्गत चुम र नुब्री उपत्यकामा पर्यटन पूर्वाधार निर्माण गर्न गाउँपालिकाले पनि विभिन्न कार्यक्रम तय गरेको छ। बिग्रे, भत्केका बाटो मर्मतसम्भार गर्न बजेट विनियोजन गरिएको छ भने वैकल्पिक पदमार्गको खोजीका लागि पनि कार्यक्रम बनाइएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। 

‘मनास्लु क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न पालिकाले पर्यटन रोयल्टी लिने गरेको छ। त्यसबापत संकलन भएको रकमले वैकल्पिक पदमार्ग निर्माण गर्ने योजना बनाएका छौं’, लामाले भने, ‘अहिले कुन कुन ठाउँमा पदमार्ग मर्मतसम्भार गर्नु पर्नेछ, अध्ययन गर्न प्राविधिक टोली खटाएको छु।’ 
मनास्लु पदमार्गअन्तर्गत बिहीको बिजमदेखि प्रोकको गपसम्मको खण्ड केही जोखिम रहेको छ। बर्खाका बेला गएको पहिरोमा बेलाबेला ढुंगा खस्ने समस्या रहेको पर्यटकका गाइडहरू बताउँछन्। 

‘जोखिम भएका ठाउँमा पालिकाले अथवा एमक्यापले सावधान गराउने खालका साइनबोर्ड राख्नुपर्छ’, गाइड अर्जुन न्यौपाने भन्छन्, ‘कुन–कुन ठाउँमा जोखिम छ भन्ने अवलोकन गर्न बेलाबेला पालिकाको अथवा एमक्यापको टोलीले अध्ययन भ्रमण गर्नुपर्छ।’ साथै विभिन्न ठाउँका होटलका मेनुहरूको पनि अध्ययन गर्नुपर्नेमा उनको जोड छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.