बिजुलीको पोलमुनि मरेको बाख्रो तान्दा करेन्ट लागेर युवतीको मृत्यु

बिजुलीको पोलमुनि मरेको बाख्रो तान्दा करेन्ट लागेर युवतीको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको मिक्लाजुङमा बिजुलीको पोलमुनि मरेको अवस्थामा फेला परेको बाख्रो तान्ने क्रममा करेन्ट लागेर आइतबार दिउँसो एक युवतीको मृत्यु भएको छ। 

मिक्लाजुङ गाउँपालिका–१ चित्रेकी १८ वर्षीया अनामिका राईको मृत्यु भएको हो। अनामिकाको बाख्रो शनिबारदेखि नै हराएको थियो। चराउन लगेको बाख्रो हराएपछि हजुरबुवा धनवीर राईलाई लिएर उनी खोज्न निस्किन्। 

हराएको बाख्रो खोजी गर्दै जाने क्रममा बिजुलीको पोलमुनि मरिरहेको भेटियो। मरेको बाख्रोलाई तान्ने क्रममा अचानक करेन्ट लागेर अनामिकाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार अनामिकाकै बारी हुँदै लगिएको १२ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको पोलको ‘ब्यारेल’ भाँचिएर विद्युत ‘लिक’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

‘पोलबाट ‘लिक’ भएको करेन्टले बाख्रो मरेको रहेछ। बाख्रोलाई तान्न खोज्दा युवतीको पनि ज्यान गएको पत्ता लाग्यो,’ जोशीले भने। मृत बाख्रोलाई तान्ने क्रममा अनामिकालाई दिउँसो १:३० बजेतिर करेन्ट लागेको उनको भनाइ छ। 

अनामिकालाई करेन्ट लागेपछि उनलाई जोगाउन हजुरबुवा धनवीर पनि पुगेका थिए। हजुरबुवा भने सकुशल छन्। ‘नातिनीलाई जोगाउन जाँदा हजुरबुवालाई पनि सामान्य करेन्ट लागेछ। तत्काल जोगिन सकेकाले अर्को दुर्घटना हुन पाएन,’ जोशीले भने। 

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोली भर्खरै घटनास्थल पुगेको छ। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाने प्रहरीको तयारी छ। जोशीले घटनाको थप अनुसन्धान सुरु गरिएको बताए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.