बाल सुधारगृहबाट १४ जनाको स्थानान्तरण
विराटनगर : विराटनगरको बाल सुधारगृहमा रहेका १४ जनालाई स्थानान्तरण गरिएको छ। झडपका कारण सुधारगृह अशान्त बनेपछि त्यहाँभित्र रहेकालाई बाँके पठाइएको हो। विराटनगरको बाल सुधारगृह प्रमुख मिलन चौहानका अनुसार स्थानान्तरण गरेर १४ जनालाई आइतबार बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा पठाइएको छ। बाँकेको बाल सुधारगृहमा १८ वर्ष माथिकालाई राखिन्छ। विराटनगरबाट पठाइएका सबै १८ वर्षमाथिका रहेको जानकारी चौहानले दिए।
उनका अनुसार स्थानान्तरण गरिएकाहरु कर्तव्य ज्यान, जबरजस्ती करणी र लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भएकाहरु हुन्। ‘सुधारगृहभित्र विवाद, झगडा र झडपमा संलग्न भएकाहरुलाई स्थानान्तरण गरिएको हो। कतिपयलाई सुरक्षाका दृष्टिकोणले पनि पठाइयो,’ उनले भने।
विराटनगर महानगरपालिका–३ स्थित सुधारगृहभित्र गत शुक्रबार साँझ दोहोरो झडप हुँदा ३ जना घाइते भएका थिए। घाइते सबै २२ वर्षका थिए। २ जना पाँचथर र १ जना सुनसरीका हुन्। उपचारपछि डिस्चार्ज भइसकेका घाइतेहरुलाई पनि स्थानान्तरण गरिएको जानकारी चौहानले दिए।
उनका अनुसार सुधारगृहभित्र ठूलाले सानालाई हेप्ने, बारम्बार विवाद र झगडा गर्ने समस्या थियो। १४ जनालाई स्थानान्तरण गरिसकेपछि तत्काललाई त्यो समस्या हल भएको उनले बताए। स्थानान्तरणका लागि बाल सुधारगृहले जिल्ला प्रशासन कार्यालय मोरङलाई सिफारिस गरेको थियो। सिफारिसका आधारमा प्रशासनले कारागार व्यवस्थापन विभागसँग अनुमति लिएर स्थानान्तरणको प्रक्रिया पूरा गरेको हो।
कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ। तर, सुधारगृहमा राखिएका बालक अहिले युवा भइसकेका छन्। युवा भइसकेकाहरुबीच झडप भएको हो। सुधारगृहमा भएको झडपको प्रहरीले अनुसन्धान गरिरहेको छ।
सुधारगृहको क्षमता ५० जनाको हो। तर, २ सय ४८ जनालाई राखिएको थियो। १४ जनाको स्थानान्तरण भएपछि आइतबार २ सय ३४ जना छन्। तीमध्ये १८ वर्षमाथिका १ सय ८ जना रहेको सुधारगृहका प्रमुख चौहानले बताए। उनका अनुसार सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरुको संख्या धेरै छ। उनीहरु बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन्। तर, आवश्यक कानुनको अभावले बालिग भइसके पनि अरु बालकसँगै सुधारगृहमा राख्नुपर्ने बाध्यता रहेको चौहानको भनाइ छ। ‘युवा अवस्थामा पुगेकालाई बालकहरुसँगै राखिएको छ। क्षमताभन्दा धेरै छन्। सुधारगृहभित्रको अवस्था समस्याग्रस्त छ,’ उनी भन्छन्।
सुधारगृहको सुरक्षामा नेपाल प्रहरीका सहायक निरीक्षक (असइ)को नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। झडपका कारण अशान्त भएको सुधारगृहको अवस्था सामान्य भइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले भने, ‘केहीलाई स्थानान्तरण गरिसकिएको छ। सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले अवस्था सामान्य भइसक्यो।’
प्रतिक्रिया दिनुहोस !