हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
विराटनगर : मोरङमा जंगली हात्तीको आक्रमणबाट सोमबार राति एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएको पत्ता लागेको छ । राति अबेरसम्म घर फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी सुरु गरेका थिए । खोजतलासका क्रममा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा सोमबार राति ९ बजेतिर शव फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।
लिम्बूको खोजीमा निस्किएकाहरुले शव देखेलगत्तै प्रहरी चौकी जाँतेमा खबर गरे । त्यसलगत्तै जाँतेका इन्चार्ज एवं असइ (प्रहरी सहायक निरीक्षक) शिवकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय लेटाङलाई घटनाको जानकारी गराए । जानकारी पाउनसाथ लेटाङबाट इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
इन्स्पेक्टर रेग्मी नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लिम्बूको मृत्यु हात्तीको आक्रमणमा परेर भएको पत्ता लागेको डीएसपी जोशीले बताए ।
‘माछा मार्न भनेर घरबाट हिँडेका लिम्बू मृत फेला परे । प्रारम्भिक अनुसन्धानबाट जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको खुल्यो । घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको पुष्टि हुन्छ । घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । घटनास्थल वरपर हात्ती हिँडेको डोबहरु पनि थिए,’ उनले भने । भुइँ र झाडी मडारिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
लिम्बूलाई आक्रमण गर्ने क्रममा हात्तीले भुइँ र झाडी माडेको हुनसक्ने प्रहरीको अनुमान छ । शव नजिकै लडिरहेको र कोदालो र झुल बाँधेको अवस्थामा लिम्बूले प्रयोग गर्ने साइकल फेला परेको प्रहरीले जनाएको छ । डीएसपी जोशीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार लेटाङको जाँते आसपासको जंगलमा केही समय यता जंगली हात्तीको चहलपहल बढेको छ । जाँते आसपासमा मात्रै हैन, मोरङको उत्तरी क्षेत्रको जंगलमा केही समययता हात्तीको चहपहल बाक्लो बनेको छ । जंगली हात्तीको आवतजावत बढेकाले हात्तीलाई नचलाउन, नजिस्क्याउन तथा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्न र आक्रमणबाट जोगिनलाई सावधानी अपनाउन सबैमा अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !