होलीमा उच्छृंखल गतिविधि गर्ने १३३ जना पक्राउ, १०९९ सवारीसाधन प्रहरीको नियन्त्रणमा
विराटनगर : तराईको होलीका दिन शुक्रबार कोशी प्रदेशबाट १ सय ३३ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कार्यालयका अनुसार १ हजार ९९ वटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिइएको छ। होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गर्ने कार्यमा संलग्नमध्ये मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८, उदयपुरबाट १२ जना पुरुष तथा झापाबाट ७ जना पुरुषलाई पक्राउ गरिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए।
होली खेलेर रमाइलो गर्ने नाममा कानुनविपरीतका गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरिएको उनको भनाइ छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी अधिकारीले दिए।
तीमध्ये सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन छन्। प्रहरीले २ पांग्रे १ हजार २१ वटा, ३ पांग्रे ५९ र ४ पांग्रे १९ वटालाई नियन्त्रणमा लिएर दिनभर ‘होल्ड’ गरेको हो। प्रहरीका अनुसार नियन्त्रणका लिइएका अधिकांश सवारीसाधन चालकले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएका थिए। ती सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ।
प्रतिक्रिया दिनुहोस !