लुम्बिनीद्वारा मधेशलाई १५९ रनको लक्ष्य
दाङ : युवा ब्याटर आकाश त्रिपाठीको ७३ रनको अर्धशतकीय पारीको मद्दतमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई १५९ रनको विजयी लक्ष्य दिएको छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा अल आउट हुँदै १५८ रन बनायो।
प्रतियोगिताको २३ औँ खेलमा लुम्बिनीका लागि आकाशले १२३ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ७३ रन बनाए । उनले अर्धशतक बनाउन १०५ बल खेले । ६० रनमा पाँच विकेट गुमाई सकेको अवस्थामा आकाश त्रिपाठीले कृष्ण कार्कीसग ७५ रनको साझेदारी गरे।
कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चौकाको मद्दतमा ३३ रन बनाए ।
कप्तान देव खनाल २५ बल खेल्दै २ चौकाको मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबीडब्लू भए । लुम्बिनीका अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मधेशका लागि बलिङमा विशाल पटेल र कमल गुप्ताले समान ३–३ विकेट लिए । कमल गुप्ताले १० ओभरमा ४ ओभर मेडनसहित ३२ रन खर्चिए । हरिशंकर शाह, प्रदिप पाश्वान र रञ्जित कुमारले समान १–१ विकेट लिए ।
लुम्बिनीले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ। मधेशको भने ३ खेलमा १ जित र २ हारसहित २ अंकमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !