मधेस कृषि विश्वविद्यालयको अस्तित्व र भविष्य

मधेस कृषि विश्वविद्यालयको अस्तित्व र भविष्य
सुन्नुहोस्

मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयको दुर्गति मूल कारण राजनीतिक हस्तक्षेप हो । आफैंमा यो विश्वविद्यालय भद्रगोल किन पनि छ भने विद्यार्थीको संख्या लाखौंमा छ, जुन विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा हुँदैनन् । विद्यार्थी संख्यामात्रै थुपारेर व्यवस्थापन गर्न नसक्नु पनि यसको ठूलो कमजोरी हो । तसर्थमा मुलुकमा अरू भूभागमा अरू विश्वविद्यालयमा खोल्नु परेको हो । विद्यार्थीले काठमाडौं केन्द्रित हुन नपरोस् र विशिष्टीकृत विश्वविद्यालयहरू होऊन् भन्ने हो । त्रिभुवन विश्वविद्यालय एक्लैले मुलुकको उच्चशिक्षाको भार बोक्न सक्दैनथ्यो र सक्दैन । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि नै केही अरू विश्वविद्यालय मुलुकमा स्थापना भए । झन् मुलुक संघीय व्यवस्थामा गएपछि प्रदेशहरूले पनि विश्वविद्यालयहरू खोलिरहेका छन् ।

मधेस एउटै प्रदेशले मधेस र मधेस कृषि गरी दुई÷दुईवटा विश्वविद्यालय खोलेको छ । तर यिनको पनि समस्या उही छ, राजनीतिक हस्तक्षेप । मुख्यमन्त्रीसमेत हरेका विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहले उपकुलपति, रजिस्ट्रारलाई पदमुक्त गर्ने निर्णय गरी राजनीतिक हस्तक्षेपको पराकाष्ठा देखाएका छन् । सिंह जनमत पार्टीको हुनु र विश्वविद्यालयका पदाधिकारी पूर्ववर्ती जसपा नेपाल पार्टीको सरकारका पालामा नियुक्त हुनु नै द्वन्द्वको कारण हो । विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थामा पार्टी हेरेर निर्णय गरिँदा अरू विश्वविद्यालय तन्नम भएका नजिरलाई नजरअन्दाज गर्दै मधेस प्रदेशका मुख्यमन्त्रीले जुन कदम चाले, त्यो प्राज्ञिकतामाथिको कुल्चाइँ हो । सरकारजस्तै राज्यका संस्थाहरूलाई पनि राजनीतिक गोल चक्करमा पु¥याएर धुलिसात पार्ने कुचेष्टा हो ।

हो, विश्वविद्यालयका पदाधिकारीमाथि कुनै आरोप नलागेको होइन, भ्रष्टाचार र अनियमितताका कुरा उठेका छन् । छानबिन समितिले पनि त्रुटि र अपरादर्शिता औंल्याएको छ । तर छानबिन समिति र उसको प्रतिवेदन राजनीतिक प्रतिशोधमा आधारित छैन भन्न सकिन्न । सरकार कतिसम्म पूर्वाग्रही बनेको छ भने ६५ करोड रुपैयाँ आवश्यक ठानिएको र यसअघि ३१ करोड बजेट विनियोजन भएको विश्वविद्यालयलाई १० लाख रुपैयाँमात्रै दिएको छ । त्यो हदैसम्मको असहयोगमात्रै होइन, विश्वविद्यालय नै बन्द गराउने वा चलाए आफ्नै गोटी बनाउने प्रपञ्च हो । यस्तै हर्कतहरूका कारण विद्यार्थीमा नेपालका विश्वविद्यालयप्रतिको विश्वास उठेको हो र विदेशतिर आकर्षण बढेको हो ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने आफू (मुख्यमन्त्री) कुलपति नहुने र न्यायिक परिषद् (ट्रस्ट) बाट सञ्चालन गर्ने गरी गण्डकी विश्वविद्यालय स्थापना गरेका थिए । त्यस्तो मोडलमा आजसम्म अरू कुनै विश्वविद्यालय गएका छैनन् । गण्डकीमा धेरै सरकार फेरिए पनि राजनीतिक हस्तक्षेप सोही कारणले हुन सकेन । अरू विश्वविद्यालय पनि गण्डकीकै मोडलमा लैजाने हिम्मत सरकारहरूले गर्नुपर्छ । र, सबैभन्दा पहिला कुनै पनि विश्वविद्यालयप्रति राजनीतिक आग्रह र पूर्वाग्रह राखिनु हुँदैन । पूर्णत प्राज्ञिक व्यक्तिहरूलाई सञ्चालनको जिम्मेवारी दिनुपर्छ । होइन भने मधेस कृषि विश्वविद्यालयजस्तै मरणासन्न हुने दिने अरू विश्वविद्यालयहरूमा पनि आउन सक्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.